शुक्रबार, चैत १३, २०८२

बागलुङमा हल गोरु पाल्नेलाई पालिकाको अनुदान

मेरोन्यूज २०८१ वैशाख ३ गते १३:४१

गलकोट (बागलुङ) । बागलुङ नगरपालिकाले हल गोरु पाल्ने किसानलाई अनुदान दिने भएको छ ।

Advertisement
nepal life insurencenepal life insurence

नगरपालिकाले ‘पशुपन्छी तथा मत्स्यपालन कार्यविधि- २०७९’ निर्माण गरी चालु आर्थिक वर्षभित्रै गोरु पाल्ने किसानलाई अनुदान दिने कार्यक्रम ल्याएको हो ।

गोरुपाल्ने किसानलाई प्रोत्साहन गर्न रु। चार लाख बजेट नगरपालिकाले विनियोजन गरेको छ । उक्त बजेटबाट हल गोरु पाल्ने किसानलाइ दामासाहीले अनुदान दिइनेछ । त्यसका लागि किसानबाट आवेदन सङ्कलन गरिएको बागलुङ नगरपालिकाको पशु शाखाले जनाएको छ ।

बढ्दो यान्त्रिकीकरणसँगै गोरु पाल्ने चलन हराएकाले ‘हल गोरु पाल्न प्रोत्साहन एवं प्रवर्द्धनात्मक’ कार्यक्रमअन्तर्गत किसानलाई अनुदान दिन लागिएको बागलुङ नगरपालिका पशु शाखा प्रमुख मित्रलाल सापकोटाले बताए ।

सापकोटाका अनुसार नगरपालिका भित्रका एक सय १० जना गोरु पाल्ने किसानले निवेदन दिएका छन् । प्राप्त भएका सो निवेदनका आधारमा अनुगमन गरी किसानलाई अनुदान दिइने छ ।

“हल गोरु पाल्ने किसानलाई अनुदान दिन लागिएको हो, यस वर्ष बजेट थोरै छ, प्रत्येक हल गोरु पाल्ने किसानलाई चाररपाँच हजारको दरले अनुदान दिइन्छ”, सापकोटाले भने, “यो कार्यक्रम निरन्तर चल्छ, कम्तिमा एक किसानलाई रु। १० हजारका दरले अनुदान दिने कार्यविधिमै उल्लेख छ ।” आगामी वर्ष हल गोरु पाल्ने किसानलाई रु। १० हजार पुग्ने गरी रु। १० लाख बजेट विनियोजन गर्ने नगरपालिकाको लक्ष्य छ ।

बढ्दो प्रविधिको विकाससँगै गोरु लगाएर जोत्ने परम्परा हराएकाले त्यसलाई संरक्षण गर्न किसानलाई अनुदान दिन लागिएको नगर उप(प्रमुख राजु खड्काले जानकारी दिए। उनले मिनि टिलर वितरणले गोरु पाल्ने किसान निरुत्साहित भएको महशुस गरेकाले अनुदान कार्यक्रम ल्याएको बताए।

गोरु पाल्दा वातावरणीय रुपमा समेत फाइदा हुने उनको भनाइ छ ।

प्रतिक्रिया