सोमबार, वैशाख १४, २०८३

भानुमा औद्योगिक ग्राम निर्माण गरिँदै

मेरोन्यूज २०८१ वैशाख १२ गते ८:०८

दमौली (तनहुँ) । तनहुँको भानु नगरपालिकामा औद्योगिक ग्राम निर्माणको प्रक्रिया सुरु भएको छ । भानु नगरपालिका–३ खहरेमा औद्योगिक ग्राम निर्माणका लागि रु एक करोड बजेट प्राप्त भएसँगै प्रक्रिया प्रारम्भ भएको हो ।

Advertisement
NiccNicc

खहरे बजार नजिकको करिब ५८ रोपनीमा औद्योगिक ग्राम निर्माणका लागि चालु आर्थिक वर्षमा उक्त बजेट प्राप्त भएको नगरपालिकाका प्रमुख प्रशासकीय अधिकृत दिवाकर पौडेलले जानकारी दिए।

उद्योग वाणिज्य तथा आपूर्ति मन्त्रालयले उक्त स्थानमा औद्योगिक ग्राम निर्माणका लागि रु एक करोड रकम विनियोजन गरेको र असार मसान्तसम्म काम सक्न बोलपत्र आह्वान गरिने उनले बताए । नगरपालिकाले सो स्थानमा औद्योगिक ग्राम निर्माणका लागि रु २४ करोड २८ लाख ८५ हजारको विस्तृत अध्ययन प्रतिवेदन तयार गरेको थियो ।

औद्योगिक ग्रामका लागि पहुँचमार्ग स्तरोन्नति गर्ने, ग्रामभित्र सडकको ट्रयाक खोल्ने, जग्गा सम्म्याउने र पर्खाल चालु आर्थिक वर्षभित्र निर्माण गरिने नगरपालिकाका प्रमुख आनन्दराज त्रिपाठीले जानकारी दिए।

औद्योगिक ग्राममा विशेषगरी स्थानीय स्तरमा उपलब्ध हुने कच्चा पदार्थ, अर्धप्रशोधित कच्चा पदार्थ वा खेर गएको वस्तु प्रयोग गरी वा प्रशोधन गरी उत्पादन गर्ने उत्पादनमूलक उद्योग सञ्चालन हुनेछ । स्थानीय स्तरमा प्राप्त हुने कोदो, मकै, धान, गहुँ, फापर, दूध, मह, चिया कफी, फलफूल, जडीबुटीलगायत वस्तु प्रयोग गरी वा प्रशोधन गरी उत्पादनमूलक उद्योग स्थापना गर्ने लक्ष्य छ ।

प्रतिक्रिया