भरतपुर भ्रमण वर्ष : होटलमा २५ प्रतिशतसम्म छुट

भरतपुर (चितवन) । भरतपुर भ्रमण वर्ष २०२४ को अवधिभर भरतपुरका होटलले पर्यटकलाई छुट दिने भएका छन् ।
भरतपुर महानगरपालिकाका प्रमुख रेनु दाहालको उपस्थितिमा बिहीबार भएको होटल व्यवसायीसँगको छलफलबाट शुल्क निर्धारण र छुट दिने निर्णय गरिएको हो । त्यसअनुसार होटल व्यवसायीले खानामा १५ प्रतिशत र आवासमा २५ प्रतिशतसम्म छुट दिने छन् ।
छुटको अनुपात अझ बढ्न सक्ने व्यवसायीले बताएका छन् । महानगर प्रमुख दाहालले भरतपुरमा पर्यटकिय गतिविधि बढेको भन्दै यहाँ आउने पर्यटकलाई दिने सेवा सुविधामा कमी हुन नदिन आग्रह गरे । महानगरपालिकाका पर्यटनविज्ञ डा विश्व सुवेदीका अनुसार भ्रमण वर्ष घोषणापछि राष्ट्रिय र अन्तर्राष्ट्रिय तहका ५१ कार्यक्रममध्ये २० कार्यक्रम भरतपुरमा आयोजना भइसकेका छन् ।
राष्ट्रिय तथा अन्तर्राष्ट्रिय तहका ठूला खेलकुद प्रतियोगिता, प्रदर्शनीले भरतपुरमा मानिसको चहलपहल बढेको विज्ञ सुवेदीले जानकारी दिए । उनले पर्यटन व्यवसायीले रात्रिकालीन घुमफिर गर्ने ठाउँको खोजी गरेको बताए । “व्यवसायीले होटल सञ्चालनको समय बढाउनुपर्ने माग गरेका छन्”, उनले भने, “यसबारेमा छलफल गरी रात्रिकालीन घुमफिरको स्थल तय गरिनेछ ।”
मेघौली र जगतपुरका होटल व्यवसायीले आफूहरु महानगरको छुटको प्रस्तावमा सकारात्मक बने पनि महानगरले गरेका कार्यक्रम पनि विकेन्द्रीकृत गरेर जगतपुर र गोलाघाटतिर पनि गर्नुपर्ने प्रस्ताव गरेका छन् । होटल व्यवसायी सङ्घ मेघौलीका अध्यक्ष सन्देश चापागाईंले भ्रमण वर्षका कारणले पर्यटक अपेक्षितरुपमा बढ्न नसकेको बताए ।
उनले भने, “हामी महानगरलाई सहयोग गर्न तयार छौँ, तर महानगरले गर्ने विभिन्न सभा, सम्मेलन र कार्यशाला मेघौली र जगतपुरतिर हुनुपर्छ, नारायणगढ केन्द्रित हुनुहुँदैन, सबै निकायको यस कार्यमा समुचित सहयोग आवश्यक पर्छ ।”
भ्रमण वर्षका लागि सांस्कृतिक अनेकता, भौगोलिक विविधता, प्राकृतिक अवस्था, भू–बनोट आदिका आधारमा महानगरले आफ्ना प्रमुख गन्तव्य छुट्याएको छ । भरतपुरसँग दुर्लभ वन्यजन्तु अवलोकन र पर्यापर्यटनका लागि विश्वमै चिनिएको चितवन राष्ट्रिय निकुञ्ज, दुई ठूला नदी राप्ती तथा नारायणी, सुन्दर पर्यटकीय नगरी मेघौली, गोलाघाट, पटिहानी, राइनोकुञ्ज भरतपुरका प्रमुख पर्यटकीय क्षेत्र छन् ।
त्रिशूली र कालीगण्डकीको सङ्गमस्थल देवघाटदेखि मौलाकालिका मन्दिर, सामुदायिक वन, बीसहजारी ताल, नारायणी तट क्षेत्र, चौकीडाँडा, कविलासगढी, जगतपुर, बाटुली पोखरी, कसरालाई महानगरले भ्रमण वर्षको मुख्यस्थानका रूपमा प्रचार गर्दै पर्यटकीय गतिविधि सञ्चालन गरिरहेको छ । यहाँको मुख्य आकर्षण जङ्गल सफारी र जङ्गली जनावर बाघ, गैँडालगायतको अवलोकन पनि हो ।













ग्लोबल आइएमई बैंकको १९औँ वार्षिकोत्सव, सामाजिक उत्तरदायित्वका १९ कार्यक्रम घोषणा
रास्वपाको समानुपातिक बन्दसूचीबाट आसिफले लिए नाम फिर्ता, प्रत्यक्षमा लड्ने
61 days remaining for HoR elections: EC determines spending limit for candidates
काठमाडौँ महानगरले सुरु गर्याे एक सय ५० रुपैयाँमा वडाबाटै एक्स–रे सेवा
ताप्लेजुङको फलैँचा आसपास केन्द्रविन्दु भएर गयाे भूकम्प
निर्माता करण श्रेष्ठ समानुपातिक उम्मेदवारको सूचीमा
राप्रपा र राप्रपा नेपालबीच पार्टी एकता
हामीले आफ्ना कमीकमजोरी पहिचान गरी सुधार्नुपर्छ : प्रचण्ड
रास्वपाले समानुपातिक उम्मेदवारको बन्दसूची सच्याउने
टी-२० विश्वकपको ट्रफी पुस २१ मा नेपाल आइपुग्ने
प्रतिक्रिया