शनिबार, फागुन २, २०८२

सूचना प्रविधिमार्फत समृद्धिको ढोका खोल्न सरकार क्रियाशीलः सञ्चारमन्त्री शर्मा

मेरोन्यूज २०८१ वैशाख २८ गते १९:०९

काठमाडौं। सञ्चार तथा सूचना प्रविधिमन्त्री रेखा शर्माले सूचना प्रविधि (आइटी) क्षेत्रलाई नीतिगत र संरचनागतरुपमा बलियो बनाएर समृद्धिको ढोका खोल्न सरकार क्रियाशील रहेको बताएकी छन्।

Advertisement
nepal life insurencenepal life insurence

अन्तर्राष्ट्रिय सूचना तथा सञ्चार प्रविधिमा महिला दिवसका अवसरमा आज मन्त्रालय र नेपाल दूरसञ्चार प्राधिकरणले संयुक्तरुपमा आयोजना गरेको कार्यक्रममा उनले आगामी आर्थिक वर्षको नीति तथा कार्यक्रम र बजेटमा सूचना प्रविधिलाई उच्च प्राथमिकता दिइने बताइन्।

‘आगामी आवको बजेटको मुख्य विषय ९मेन थेम० कृषिलाई बनाउनुपर्छ, सूचना प्रविधि ‘फ्रन्ट लाइन’मा राखेर बजेट निर्माण गर्नुपर्छ’, बजेटका प्राथमिकताबारे प्रकाश पार्दै मन्त्री शर्माले भनिन्, ‘आइटीलाई समृद्धिको आधार मानिएको छ, त्यहीअनुसार व्यवहार गरिएको छ आगामी बजेटमा आइटीलाई उच्च प्राथमिकता दिइनेछ।’

सरकारले सूचना प्रविधिलाई आर्थिक समृद्धिको प्रमुख आधारका रुपमा लिएको उल्लेख गर्दै मन्त्री शर्माले आगामी आर्थिक वर्षको नीति तथा कार्यक्रम र बजेटमा सूचना प्रविधि क्षेत्रलाई उच्च प्राथमिकता दिइने बताइन्। ‘हामीले यसअघि कृषि, पर्यटन र ऊर्जालाई समृद्धिको प्रमुख आधार मान्दै आएका थियौँ’, उनले भनिन्,‘अब सूचना प्रविधि पनि समृद्धिको आधारका रुपमा अघि आएको छ।’

वर्तमान सरकारले सुशासन, सामाजिक न्याय र समृद्धिको नारा अघि सारेको जानकारी दिँदै मन्त्री शर्माले सुशासनको अभियानलाई अघि बढाउन पनि सूचना प्रविधिको विकास अत्यावश्यक भएको बताइन्। ‘सूचना प्रविधिको प्रयोगबाट मात्रै सुशासन कायम गर्न सकिन्छ’, उनले भनिन्।

सूचना प्रविधि क्षेत्रमा महिलाको अनिवार्य सहभागिता मात्रै नभई नेतृत्वदायी भूमिका हुनुपर्छ भनेर आफूले मन्त्रालयको जिम्मेवारी सम्हालेपछि नीति तथा कार्यक्रम र बजेटमा विशेष योजना अघि सारेको बताइन्।

सूचना प्रविधिको विकासमा सरकारले नीतिगत तथा संरचनागत व्यवस्था गरेको जनाउँदै उनले सूचना प्रविधि क्षेत्रबाट रोजगारी सिर्जनाका साथै सेवा निर्यात गरेर विदेशी मुद्रा पनि आर्जन भएको बताइन्। ‘प्रत्येक वर्ष १० हजार युवा जनशक्ति सूचना प्रविधि क्षेत्रमा उत्पादन हुने गरेको छ, अनौपचारिक तथ्यांकअनुसार सूचना प्रविधिसम्बन्धी सेवा निर्यातबाट वार्षिक करिब रु ६६ अर्ब विदेशी मुद्रा भित्रिएको छ’, मन्त्री शर्माले भनिन्।

सूचना प्रविधिका क्षेत्रमा आइपर्ने चुनौती समाधान गर्न सरकारले हालै मात्र साइबर सुरक्षा केन्द्र स्थापना गरेको जानकारी दिँदै यससम्बन्धी केही कानुन निर्माण भइ कार्यान्वयनमा आएको र केही तर्जुमाका क्रममा रहेको उनले बताइन्। मन्त्री शर्माले भनिन्, ‘सूचना प्रविधिको विकासका निम्ति नीतिगत र संरचनागत व्यवस्थामा सरकारको ध्यान गएको छ, यसबीचमा केही ऐन कानुन र पूर्वाधार निर्माण भएका छन्।’

पूर्वमन्त्री एवं नेपाल कम्युनिष्ट पार्टी (एकीकृत समाजवादी)की नेत्री रामकुमारी झाँक्रीले महिलालाई सूचना प्रविधिको पहुँचमा पु¥याउन नेपाल दूरसञ्चार प्राधिकरणले गरेको प्रयास सरहानीय रहेको बताइन्। सांसद ज्ञानु बस्नेतले सूचना प्रविधिका क्षेत्रमा महिलाको नेतृत्वको खडेरी रहेको उल्लेख गर्दै यस क्षेत्रमा महिलाको अर्थपूर्ण सहभागिताका लागि विशेष योजना ल्याइनुपर्ने बताइन्।

सांसद नारायणी शर्माले प्रविधिको विकाससँगै महिला सशक्तीकरण आवश्यक भएको बताइन्। सरकारी तथा निजी क्षेत्रका सूचना प्रविधिसँग सम्बन्धित संस्थामा महिलाले नेतृत्वदायी भूमिका निर्वाह गर्नु खुसीको विषय भएको बताइन्। सांसद राजेन्द्रलक्ष्मी गैरेले छोरा र छोरीलाई समान शिक्षाको आवाज उठाउने अवस्थाबाट महिलाहरु सूचना प्रविधि क्षेत्रका महिला नेतृत्व अघि आउनु विश्वका लागि उदाहरण भएको बताइन्।

सञ्चार तथा सूचना प्रविधि मन्त्रालयका सचिव रामकृष्ण सुवेदीले सूचना प्रविधि क्षेत्रमा महिलाको अर्थपूर्ण सहभागिता बढाउन मन्त्रालयले विभिन्न कार्यक्रम सञ्चालन गरिरहेको बताए। नेपाल दूरसञ्चार प्राधिकरणका अध्यक्ष भूपेन्द्र भण्डारीले सूचना प्रविधि क्षेत्रमा महिला सशक्तीकरण र नेतृत्वयादी भूमिका सिर्जना गर्न प्राधिकरणले काम गरिरहेको बताए।

विश्वमा सूचना तथा सञ्चार प्रविधिको क्षेत्रमा महिला सहभागिता वृद्धि गर्न विश्वव्यापी पहलका रुपमा अन्तर्राष्ट्रिय दूरसञ्चार सङ्घको आह्वानमा सन २०११ देखि प्रत्येक वर्षको अप्रिल महिनाको चौथो बिहीबार अन्तर्राष्ट्रिय सूचना तथा सञ्चार प्रविधिमा महिला दिवस मनाउन थालिएको हो। सूचना तथा सञ्चार प्रविधिको क्षेत्रमा महिलालाई जागरुक बनाउन विभिन्न कार्यक्रमका साथ अभियानको रुपमा सञ्चालन गर्न हरेक वर्ष अन्तर्राष्ट्रिय दूरसञ्चार संघले सबै सदस्य राष्ट्रहरुलाई आह्वान गर्दै आएको छ।

नेपालमा सन् २०१३ देखि नेपाल दूरसञ्चार प्राधिकरणले यस दिवसलाई विभिन्न रचनात्मक र कार्यक्रम साथ मनाई विभिन्न संघसंस्थालाई सूचना तथा सञ्चार प्रविधिको क्षेत्रमा महिलालाई उत्प्रेरित गर्न आह्वान गर्दै आएको छ। अन्तर्राष्ट्रिय दूरसञ्चार संघले ‘नेतृत्व’ भन्ने मूल नाराका साथ दिवसका कार्यक्रम सञ्चालन गर्न आह्वान गरेको छ। यसवर्ष ‘प्रविधिमा महिला नेतृत्वः सबल भविष्यको मातृत्व’ राष्ट्रिय नारा तय गरिएको छ।

प्रतिक्रिया