शनिबार, वैशाख १२, २०८३

सर्लाहीको लालबन्दीका तीन विपन्न परिवारलाई घर

मेरोन्यूज २०८१ वैशाख २९ गते २१:५२

सर्लाही । सर्लाहीको लालबन्दी नगरपालिका क्षेत्रका विपन्न परिवारलाई घर हस्तान्तरण गरिएको छ ।

Advertisement
NiccNicc

मधेस प्रदेश सरकारको महेन्द्रनारायण निधि आवास कार्यक्रमअन्तर्गत लालबन्दी नगरपालिका–५ मा दुई र लालबन्दी नगरपालिका–१० मा एक परिवारका लागि निर्माण गरिएका आवास भवन हस्तान्तरण गरिएको हो । आज एक कार्यक्रमका बीच मधेस प्रदेश सरकारकी श्रम तथा यातायातमन्त्री बेची लुङ्गेलीले लाभग्राहीलाई घर हस्तान्तरण गरे ।

लालबन्दी नगरपालिका–५ निवासी हरि धमला र मैतीदेवी तामाङ तथा वडा नं १०, निवासी गणेशबहादुर मिरिङचिङलाई घर हस्तान्तरण गरिएको नगरपालिकाका उपप्रमुख कल्पनामाया पाख्रिनले जानकारी दिईन् । घर पाएपछि विपन्न परिवारमा खुसी छाएको छ । लाभग्राही धमलाले आफूहरूले जीवनभर दुःख गर्दा पनि बाँस जोड्न नसकेका अवस्थामा प्रदेश सरकारले घर बनाइदिएकामा खुसी व्यक्त गरे।

श्रमदानसहित रु पाँच लाख ६५ हजारको लागतमा निर्माण गरिएको प्रत्येक आवास भवनमा दुईवटा सुत्ने कोठा, एउटा भान्सा कोठा र शौचालय तथा खानेपानीको धारासमेत जडान गरिएको छ । जस्तापाताको छानो भएको उक्त घर आधुनिकसँगै भूकम्पप्रतिरोधी रहेको मन्तव्यका क्रममा मन्त्री लुङ्गेलीले उल्लेख गरे । यसै कार्यक्रमअन्तर्गत गत आर्थिक वर्षमा पनि चार विपन्न परिवारलाई घर हस्तान्तरण गरिएको थियो ।

कार्यक्रममा लालबन्दी नगरपालिकाका उपप्रमुख पाख्रिनले आवास कार्यक्रमले घरवारविहीन विपन्न नागरिकलाई ठूलो राहत पुगेको बताए । भवन हस्तान्तरण कार्यक्रममा वडाध्यक्ष मीनप्रसाद ढुङ्गेल, राजन काफ्ले, बज्रमणि लामा, सुमन अमात्यलगायतको उपस्थिति रहेको थियो ।

प्रतिक्रिया