बिहीबार, चैत १२, २०८२

नेपाली कागजबाट मासिक एक लाख आम्दानी लिँदै पासाङ

मेरोन्यूज २०८१ जेठ ४ गते १४:१५

फुङ्लिङ। फुङ्लिङ नगरपालिका-६ स्थित छिरिङ नेपाली हाते कागज उद्योगका सञ्चालक पासाङ लाक्पा शेर्पा अधिकांश समय आफ्नै उद्योगमा कागज बनाउने काममा व्यस्त भेटिन्छन् ।

Advertisement
nepal life insurencenepal life insurence

पुख्र्यौली पेसाका रुपमा शेर्पाले नेपाली हाते कागज बनाउने काम गर्दै आएका हुन् । उनका बुबाले कागज बनाउने काम गर्थे । कागज उद्योगमा हुर्किएका उनले पनि बुबाआमालाई सघाउँदा सघाउँदै कागज बनाउने सीप सिके । शेर्पाको पुख्र्यौली घर भोजपुर जिल्ला हो । उनले २०४९ सालमा तेह्रथुम जिल्लाको वसन्तपुर क्षेत्रमा कागज उद्योग सञ्चालन गरे ।

त्यसपछि ताप्लेजुङको याम्फुदिन, खेवाङ क्षेत्रमा कागज उद्योग सञ्चालन गरे । २०६१ सालमा ताप्लेजुङको सदरमुकाम फुङ्लिङ नजिकै छिरिङ हाते कागज उद्योग दर्ता गरेर अहिले सञ्चालन गर्दै आएका हुन् । अहिले उनको कागज उद्योगमा १० जनाले रोजगारी पाएका छन् ।

कागज उद्योगबाट खर्च कटाएर वार्षिक रु १२ लाख आम्दानी हुने गरेको शेर्पाले बताए । उद्योगकै आम्दानीले छोराछोरीको पढाइमा खर्च गरी बचतबाट सदरमुकाममा जग्गा खरिद गरेका छन् । अहिले उहाँ घर बनाउने तयारीमा छन् । शेर्पाको उद्योगको उत्पादन ९० प्रतिशत काठमाडौँ हुँदै जापान, चीन, जर्मनलगायत देशमा निर्यात हुने गरेको छ । जिल्लाका सरकारी तथा गैरसकारी कार्यालयलाई वार्षिक रु चार लाख बराबरको कागज बिक्री गर्ने गरेको शेर्पाले बताए ।

शेर्पाले घरेलु कार्यालयमा उद्योग दर्ता गरी नेपाली कागज उत्पादन गरेको पाँच वर्ष भइसकेको छ । “कागज जति उत्पादन गरे पनि बिक्रीका लागि समस्या छैन”, शेर्पाले भने, “बरु कागज उत्पादनका लागि कच्चापदार्थको अभाव हुने गरेको छ ।”

उद्योगमा १० ग्राम, २० ग्राम, ३० ग्राम र ४० ग्राम तौलका कागज उत्पादन हुने गरेको उनले जानकारी दिए । उनका अनुसार २० ग्राम कागजको प्रतिपन्ना रु २० र ४० ग्राम कागजको प्रतिपन्ना रु ४० मा ठूला उद्योगले खरिद गरेर लैजान्छन् । शेर्पाको उद्योगबाट गर्मी मौसममा दैनिक एक हजार छ सय थान र जाडो मौसममा आठ सय थानसम्म कागज उत्पादन हुनेगर्छ ।

“जाडो मौसममा सुक्न अलिक समय लाग्ने भएकाले गर्मी मौसममा भन्दा कम उत्पादन हुन्छ”, शेर्पाले भने, “गर्मी मौसममा बढीमा तीन घण्टाभित्र जालीमा राखेको लेदो सुकेर कागज तयार हुन्छ तर जाडामा सुक्न पाँच घण्टा लाग्छ ।”

घरेलु तथा साना उद्योग कार्यालय ताप्लेजुङका अनुसार ताप्लेजुङमा १९ वटा नेपाली हाते कागज उद्योग दर्ता छन् । त्यसमध्ये केही उद्योग मात्र सञ्चालनमा छन् ।

प्रतिक्रिया