कोशी प्रदेशसभा बैठकः प्रदेश अनुसन्धान तथा प्रतिष्ठान ऐनसम्बन्धी संशोधन विधेयक पेस

विराटनगर। कोशी प्रदेशसभाको आजको बैठकमा ‘प्रदेश अनुसन्धान तथा प्रतिष्ठान ऐन, २०७९ लाई संशोधन गर्न बनेको विधेयक’ पेस भएको छ ।
आन्तरिक मामिला तथा कानुनमन्त्री इन्द्रमणि पराजुलीले सो प्रस्ताव पेस गर्दै प्रदेश सरकार मातहतको अनुसन्धान तथा प्रशिक्षण प्रतिष्ठानमार्फत निजामती कर्मचारीको क्षमता अभिवृद्धिमा मद्दत पुग्ने विश्वास व्यक्त गरे । उनले निजामती कर्मचारीलाई तालिम प्रदान गर्न प्रतिष्ठानको भूमिका अग्रणी रहने भएकाले यसको संरचना तथा सङ्गठनात्मक सुधार गर्न यो विधेयक ल्याएको जानकारी दिए ।
“प्रतिष्ठानको संस्थागत सुधार गरी सेवा प्रवाहलाई चुस्त एवं दुरुस्त बनाउन प्रतिष्ठानको भूमिका महत्वपूर्ण छ,” उनले भने । सभामा शून्य समय र विशेष समयमा कोशी प्रदेशसभा सदस्यहरुले उठाएका प्रश्न एवं जिज्ञासा बारे उद्योग, कृषि तथा सहकारीमन्त्री इस्राइल मन्सुरीले जवाफ दिएका थिए । उनले प्रदेश सरकारको ब्याज अनुदानबाट १६३ कृषकलाई २९ करोड रुपैयाँ कर्जा प्रवाह भएको जानकारी दिए ।
मन्त्री मन्सुरीले सो कर्जा प्रवाह हुँदा प्रदेश सरकारले ५२ लाख रुपैयाँ ब्याज अनुदान बैङ्कलाई तिरेको उल्लेख गर्दै सुनसरी, मोरङ र झापाका १६ फार्ममा ‘बर्ड फ्लु’ देखिएको र यसलाई नियन्त्रण गर्न मन्त्रालयका प्राविधिक जनशक्ति परिचालन भइसकेको बताए ।
मन्त्री मन्सुरीले प्रदेशमा रहेका ५६ वटा शीतगृहमध्ये २८ वटा सञ्चालनमा रहेको र अन्यलाई सञ्चालनमा ल्याउन सम्बन्धित जिल्लाका प्रदेशसभा सदस्यलाई यथार्थ जानकारी दिन आग्रह गरे ।
रासायनिक मलको मात्रा घटाउन र प्राङ्गारिक मलको प्रयोग बढाउन प्रदेशमा २७ स्थानीय तहमा प्राङ्गारिक मल उत्पादन गर्न प्रदेश सरकारले प्रत्येक स्थानीय तहलाई १० लाख रुपैयाँका दरले सहयोग गरेको जानकारी गराए । मन्त्री मन्सुरीले कृषि क्षेत्रमा सुधार ल्याउन र स्वरोजगार सिर्जना गर्न सांसदहरुसँग सुझाव मागे ।
विशेष समयमा नेपाली कम्युनिष्ट पार्टीका तर्फबाट कोशी प्रदेशसभा सदस्य खिनु लङ्वा लिम्बूले गत असोज १८ गतेको बाढी र पहिरोबाट इलाम जिल्लामा करिब २० अर्ब रुपैयाँ बराबरको क्षति भएको जानकारी दिए । उनले विपद्बाट भएको जनधनको क्षति न्यूनीकरणका लागि प्रदेश सरकारले समयमै यथोचित कदम चाल्नुपर्नेमा सरकारको ध्यानाकर्षण गराए ।
बैठकमा अर्थ समितिका सभापति विनोद राईले गत आर्थिक वर्ष २०८१र८२ को वार्षिक प्रतिवेदन पेस गरे ।
शून्य समय
शून्य समयमा मुलुक र प्रदेशको समसामयिक विषयमा कोशी प्रदेशसभा सदस्यहरु राजन किराँती, सम्झना तामाङ, मीना श्रेष्ठ, सिर्जना राई र सुनिताकुमारी गुरुङले आ–आफ्ना धारणा राखेका थिए ।
















कोशी प्रदेशसभा बैठकः प्रदेश अनुसन्धान तथा प्रतिष्ठान ऐनसम्बन्धी संशोधन विधेयक पेस
रास्वपा संसदीय दलको नेतामा बालेन शाह चयन
रचनात्मक प्रतिपक्षको भूमिकामा रहेर काम गर्छौँः पुन
‘सिलाम साक्मा’मा सजिएर बालेनको शपथ
दलको नेता बन्ने प्रस्ताव आए खुट्टा कमाउँदिनँ : सुहाङ नेम्वाङ
रविको मुद्दा फिर्ताविरुद्धको रिट ‘हेर्दाहेर्दै’मा
ट्रम्पको दाबी खारेज गर्दै इरानले भन्यो- ‘कुनै वार्ता र सहमती भएको छैन’
भुटानमाथि नेपालको २–१ को जित
३ किलो ४३५ ग्राम गाँजासहित त्रिभुवन विमानस्थलबाट थाई नागरिक पक्राउ
प्रतिक्रिया