बिहीबार, चैत १२, २०८२

उद्योगी व्यवसायीको हितका लागि नीतिगत सुधारको अभियानमा छुः मन्त्री भण्डारी

मेरोन्यूज २०८१ जेठ ५ गते १९:३६

काठमाडौँ । उद्योग, वाणिज्य तथा आपूर्तिमन्त्री दामोदर भण्डारीले धरासयी अवस्थाबाट गुज्रिरहेका उद्योगी तथा व्यवसायीका पक्षमा नीतिगत सुधारको एक सुत्रीय अभियानमा लागेको बताएका छन् ।

Advertisement
nepal life insurencenepal life insurence

नेपाल उद्योग तथा व्यवसायी महासङ्घद्धारा आज यहाँ आयोजित कर्पोरेट परिषद्को प्रथम भेलामा उनले उद्योग व्यवसायको नीतिगत सुधार नभएसम्म समृद्धि नआउने बताए।

मन्त्री भण्डारीले भने, “उद्योगी व्यवसायीका लागि सरकारले नीतिगत सुधार मात्रै गरे उद्योग व्यवसाय फस्टाउँछ, नीतिगत जटिलताले देशका उद्योग कलकारखाना सञ्चालन गर्न गाह्रो छ, म एक्लै भए पनि एक सुत्रीय अभियान नै बनाएर उद्योगी व्यवसायीका पक्षमा नीतिगत सुधारका लागि लड्छु ।”

निजी क्षेत्रलाई अगाडि बढाउनुपर्नेमा जोड दिँदै उनले उद्योग मन्त्रालयबाट गर्नुपर्ने कानुन सुधारका कामका लागि सुझाव दिन उद्योगी व्यवसायीसँग माग गरे । उनले भने, “उद्योगी व्यवसायीले सरकारसित धेरै ठूलो केही मागेका छैनन्, केवल नीतिको सुधारको माग छ ।”

उद्योग मन्त्रालय अहिले उद्योग व्यवसाय सञ्चालनका लागि भइरहेका जटिलता हटाउनका लागि विभिन्न ऐन संशोधनमा जुटेको उनले जानकारी गराए । रुग्ण उद्योग सञ्चालनका लागि सरकारले कार्यविधि बनाउन लागेको जानकारी गराउँदै मन्त्री भण्डारीले त्यसका लागि मन्त्रालयमा छलफल भइरहेको बताए ।

उनले खानी तथा खनिजजन्य उद्योग सञ्चालनको अनुमति लिएर सञ्चालनका प्रक्रिया नगरी ओगटेर राख्ने उद्योगलाई छिट्टै मन्त्रालयले खारेजका लागि पहल गर्ने जनाए । मन्त्री भण्डारीले भने, “खानी तथा खनिजजन्य उद्योग सञ्चालनका लागि अनुमति लिइसकेपछि निश्चित अवधि तोकेर सञ्चालनमा नल्याए खारेज गर्न विधि प्रक्रिया आवश्यक छ ।”

प्रतिक्रिया