बुधबार, फागुन ६, २०८२

थली घटना : आत्महत्याको आशंका, घाइते अवस्थामा छोराको उद्धार

मेरोन्यूज २०८१ जेठ ८ गते १४:३७

काठमाडौं । कागेश्वरी मनोहरा नगरपालिका–५, थलीमा मृत फेला परेका भक्तपुर नगरपालिका–७, छालिङका ५२ वर्षीय कृष्ण नगरकोटीले आत्महत्या गरेको हुनसक्ने प्रहरीको प्रारम्भिक अनुसन्धानबाट देखिएको छ ।

Advertisement
nepal life insurencenepal life insurence

जिल्ला प्रहरी परिसर, काठमाडौंका अधिकृतहरुका अनुसार, प्रारम्भिक अनुसन्धान र उनको छोराछोरीसँग सोधपुछका क्रममा उनले ब्लेडले घाँटीमा काटेर आत्महत्या गरेको हुनसक्ने देखिएको हो ।

प्रहरीले नगरकोटीका छोरा २१ वषीय रिचेनलाई फर्पिङबाट घाइते अवस्थामा नियन्त्रणमा लिएको छ । ‘बुबाले आत्महत्याका लागि मुखमा कपडा राखेर ब्लेडले घाँटी रेट्ने तरिका सिकाएको’ दाबी उनले प्रहरीसँग गरेका छन् ।

‘२ वटा ब्लेड र १२५ रुपैयाँ गाडी भाडा दिएर दक्षिणकाली नगरपालिका–१ को जंगलमा गएर आत्महत्या गर्नु भन्नुभएको थियो’, उनको बयान उदृत गर्दै प्रहरी स्रोतले भन्यो, ‘म पनि कुनै स्थानमा गएर आत्महत्या गर्छु भनेर बताउनुभएको थियो ।’

काठमाडौं प्रहरीका एसपी नवराज अधिकारीका अनुसार, आत्महत्या गर्न लागेको अवस्थामा प्रहरीको सिआरभी टोलीले छोरालाई नियन्त्रणमा लिएको थियो ।

प्रहरीले छोरी २८ वर्षीया रश्मी नगरकोटीलाई पनि नियन्त्रणमा लिएको छ । प्रहरीका अनुसार, रिचेन र रश्मी दुवैको मानसिक अवस्था सामान्य छैन ।

कृष्ण नगरकोटी मृत भेटिएको स्थान ।

‘मृतक नगरकोटीले १५ वर्षदेखि ट्याक्सी चालकको रुपमा काम गर्दै आएका रहेछन्’, एसपी अधिकारी भन्छन्, ‘उनको श्रीमतीले छाडेर गएपछि छोरा र छोरी लिएर रविभवनमा बस्दै आएका रहेछन् ।’ डेराको भाडा तिर्न नसकेपछि तीन महिनादेखि छोराछोरीसहित ट्याक्सीमै बस्दै आएको पाइएको प्रहरीले जनाएको छ ।

सोमबार बिहान १० बजेतिर सेतोपुल नजिक ट्याक्सी विग्रिएपछि मिस्त्री बोलाएर ल्याउँछु भनेर छोरी रश्मीलाई छाडेर रिचेनलाई लिएर बुबा निस्किएका थिए ।

प्रहरीका अनुसार, आर्थिक अभाव र गरिबीका कारण उनले छोरालाई समेत आत्महत्याको मुख पुर्‍याएको हुनसक्ने देखिएको छ । कृष्णका छोरा रिचेनले प्रहरीसँग गरेको दाबीअनुसार, कृष्णले कालो कपडाले अनुहार छोपेर ‘भोग दिन प्रभुले भनेको’ बताउने गरेका थिए ।

कालो टिसर्टले अनुहार छोपेको अवस्थामा र घाँटी रेटेको अवस्थामा कृष्ण मृत फेला परेका थिए । थप अनुसन्धान भइरहेको छ ।

प्रतिक्रिया