सोमबार, वैशाख १४, २०८३

बेनी नगरपालिकामा डिजिटल घर नम्बर प्रणाली सुरु

मेरोन्यूज २०८१ जेठ १२ गते ७:४९

काठमाडौँ । म्याग्दीको बेनी नगरपालिकाले क्यूआर कोडसहितको डिजिटल (विद्युतीय) घर नम्बर प्रणाली सुरु गरेको छ ।

Advertisement
NiccNicc

सबै नगरवासीको सूचना, विवरण सङ्कलन र विद्युतीय प्रणालीमा अद्यावधिक गरी डिजिटल घर नम्बर प्रणाली लागू गरेको हो ।

नगर प्रमुख सुरत केसीले सेवा प्रवाहलाई सहज, सुशासन र विपद् व्यवस्थापनलाई प्रभावकारी बनाउन डिजिटल घर नम्बर प्रणाली लागू गरिएको जानकारी दिए ।

उनले डिजिटल घर नम्बर प्रणालीमा रहने क्यूआर कोडमा सम्बन्धित घर कहाँ छ, उक्त घर कति तलाको छ, कुन रङको घर, घरमा कति कोठा छ, उक्त घर केबाट बनेकोलगायतका ९० किसिमका जानकारी राखिएको बताए ।

उनले भने, ‘सुरक्षाका हिसाबले गोप्य सूचनामा सम्बन्धित घरधनीबाहेक अरुको पहुँच नहुने व्यवस्था मिलाएका छौं ।

नगर प्रमुख केसीले शुक्रबार साँझ बेनी नगरपालिका–८ न्यूरोडका लिलाराम गौतम र देवी केसीलाई डिजिटल घर नम्बर हस्तान्तरण गरेर अभियान सुरुआत गरे ।

पहिलो चरणमा बेनी नगरपालिकाको ७ र ८ नम्बर वडाका १ हजार नौ सय घरमा डिजिटल घर नम्बर प्लेट राखिने नगर प्रमुख केसीले बताए ।

उनका अनुसार बेनी नगरपालिकाको १० वटै वडाका सात हजार दुई सय घरमा पुगेर सूचना र विवरणलाई विद्युतीय प्रणालीमा अभिलेखीकरण गरिएको छ ।

७ र ८ नम्बरबाहेकका वडाका घरमा राखिने डिजिटल नम्बर प्लेट छपाउने तयारी गरिएको नगरपालिकाले जनाएको छ ।

प्रतिक्रिया