परम्परागत जातका धानको बीउ किसानलाई ‘पैँचो’

कञ्चनपुर । शुक्लाफाँटा नगरपालिका–१० झलारीमा रहेको नव सृजना बहुउद्देश्यीय सहकारी संस्थाले किसानलाई ‘पैंचो’का रूपमा परम्परागत जातका धानको बीउ उपलब्ध गराउन थालेको छ । परम्परागत जातका धान जोगाउनका लागि सहकारीले किसानलाई पैँचोका रूपमा बीउ उपलब्ध गराउन थालेको हो ।
किसानलाई एकदेखि दुई किलोसम्म धानको बीउ उपलब्ध गराउने व्यवस्था गरेको छ । “किसानलाई उपलब्ध गराइएको बीउ पछि फिर्ता हुने गरी पैँचोका रूपमा दिएका हौँ”, सहकारीका अध्यक्ष भीमराज अवस्थीले भने, “फिर्ता भएको बीउ अर्को वर्ष अरु किसानलाई दिन्छौँ, किसानले उत्पादन गरेको पम्परागत जातको बीउबाहेकको धान प्रतिकिलो रु ४० देखि ५० का दरले गुणस्तरका आधारमा खरिद गर्ने व्यवस्था गरेका छौँ ।”
उहाँका अनुसार सहकारीमा आबद्ध ५० जना किसानले परम्परागत जातका धानको बीउ पैँचोका रूपमा लगेका छन् । बीउ लगेकाहरूले एक कठ्ठादेखि पाँच कठ्ठा खेतमा धान रोप्ने उहाँले उल्लेख गरे । हालसम्म सहकारीबाट पम्परागत जातका लालचन्द, अन्जना, वामान चिनी, सेतो अन्ती, रातो अन्ती, ध्यूपुरी, सौँठारी, राइमुनुवा, बगटी, बन्दनालगायत २३ प्रजातिको दुई क्विन्टल जति धान बीउ वितरण गरिएको छ ।
यससँगै सहकारीले भुरा, गुडरा, गुर्रा, तिल्कीलगायतका बीउ पनि वितरण गरेको छ । परम्परागत जातको धानबीउको माग किसानले गर्दै आएकाले पुर्याउनै धौधौ रहेको अध्यक्ष अवस्थीले जानकारी दिए । परम्परागत जातका धानमा सुक्खा सहने, धेरै पानीमा पनि हुर्कन सक्ने, रोग कीराको प्रकोप नहुने उहाँको भनाइ छ ।
“परम्परागत जातका धान अहिले गाउँघरतिर पाउनै मुस्किल छ”, उनले भने, “कतै पाइयो भने पनि किसानले खेतमा रोप्न मान्दैनन्, बढी उत्पादन हुने र आधुनिक जातको बीउ नै खोज्छन् ।”
उन्नत जातभन्दा कम फल्ने हुँदा किसानले परम्परागत जातका धान खेतमा लगाउन छाड्दै गएको उहाँले बताउनुभयो । बढी उत्पादन दिने, आम्दानी हुने धानखेतीप्रति किसानको मोह बढेपछि स्थानीय जातका धान हराउँदै गएका छन् । “धानका विकासे जातको तुलनामा रोग कीराको समस्या कम हुन्छ, कम मलजलमै फल्छ”, सहकारीका अध्यक्ष अवस्थीले भने, “उन्नत जातका धान लगाउँदा नफल्ने समस्या पनि छ, विकासे र उन्नतको तुलनामा स्थानीय जातका धान कम फले पनि किसानले निराश हुनु पर्दैन ।”
परम्परागत जातका धानसँगै किसानको मागअनुसार सहकारीले उन्नत जातका धान बीउ पनि ढुवानी भाडा जोडेर नाफा नराखी किसानलाई बिक्री वितरण गर्दै आएको छ ।
पहाडी क्षेत्रमा उत्पादन हुने कोदो प्रबर्द्धन गरी सहकारीले गत वर्षदेखि नै बेच्दै आएको छ । विभिन्न कृषि मेला, प्रदर्शनी, दिवसलगायतका अवसरमा परम्परागत प्रजातिका अन्नका परिकार बनाई सहकारीले प्रदर्शन गर्ने कार्यसँगै सहभागीलाई स्वाद लिनका लागि निःशुल्क उपलब्ध गराउने व्यवस्था पनि गर्दै आएको छ ।
वडाध्यक्ष लालबहादुर ऐरले सहकारीले स्थानीय प्रजातिका धानलगायतका अन्न जोगाउने अभियानमा महत्त्पूर्ण भूमिका खेल्दै आएको बताउनुभयो । परम्परागत प्रजातिका धानलगायतका अन्नबालीप्रति किसानलाई सचेत पार्ने कामसँगै सहकारीले जोगाउनमा योगदान दिँदै आएको उहाँले बताउनुभयो ।
















झापामा विद्यार्थी बोकेको बस दुर्घटना, १३ जना घाइते
सर्पले टोकेको फलफूल-तरकारी विषालु हुन्छ ?
बाजुरामा चट्याङ लागेर ३९ भेडाबाख्रा मरे
काभ्रेपलाञ्चोकमा बालश्रममुक्त उद्योग घोषणा अभियान सुरु
सुदूरपश्चिममा ९ महिनामा १४ सय फरार कैदी पक्राउ
नेकपाका सात प्रदेश इन्चार्ज चयन : पूर्व माओवादीबाट दुई मात्रै
हप्तामा एक पटक खाना पकाउँदा पनि घट्छ बिर्सने राेगकाे जोखिम
सशस्त्र प्रहरीको आईजीपीमा नारायणदत्त पौडेल
हर्मुज खुलाउन इरानको प्रस्ताव, वार्ता अन्योलमा
पार्टी संसदीय दलले राष्ट्रिय आवश्यकताअनुसार सबैलाई मिलाएर लैजान्छ : सभापति थापा
प्रतिक्रिया