बिहीबार, वैशाख १७, २०८३

सुदूरपश्चिममा ९ महिनामा १४ सय फरार कैदी पक्राउ

मेरोन्यूज २०८३ वैशाख १७ गते १३:३७

महेन्द्रनगर । सुदूरपश्चिम प्रहरीले बितेको नौ महिनाको अवधिमा यहाँ एक हजार ४६० जना फरार कैदीबन्दीलाई पक्राउ गरेको छ । विभिन्न आपराधिक घटनामा संलग्न हुनुका साथै अदालत र जिल्ला प्रशासन कार्यालयबाट कैद सजाय र जरिवाना गरी फरार रहेका प्रतिवादीलाई पक्राउ गरी कारबाही भइरहेको छ ।

Advertisement
NiccNicc

सुदूरपश्चिम प्रदेश प्रहरी कार्यालय धनगढीका प्रवक्ता एवं प्रहरी वरिष्ठ उपरीक्षक पदम विष्टले चालु आवको नौ महिना ९चैत मसान्त० सम्म एक हजार ४६० फरार कैदीबन्दीलाई पक्राउ गरी कारागारसमेत चलान गरिएको बताए । प्रदेश प्रहरी कार्यालयका अनुसार यो अवधिमा सबैभन्दा बढी फरार कैदीबन्दी कैलालीबाट ७३२ र तराईको अर्को जिल्ला कञ्चनपुरबाट ४१० जना पक्राउ गरिएको छ ।

प्रवक्ता विष्टका अनुसार प्रदेशको डडेल्धुराबाट १०१, डोटीबाट १२, अछामबाट ४३, दार्चुलाबाट ७३, बैतडीबाट नौ, बझाङबाट ५८ र बाजुराबाट २२ फरार कैदीबन्दी पक्राउ परेका छन् ।

“लामो समयदेखि कैद सजाय भएका फरार प्रतिवादी पक्राउ गर्न यहाँका नौवटै जिल्लामा प्रहरी टोली परिचालित छ”, उनले भने, “जेजनी आन्दोलनका बेला कारागारबाट भागेका कैदीबन्दी पक्राउ गर्न प्रहरी सबैतिर सक्रिय छ ।”

गत भदौ २३ र २४ गते भएको जेनजी आन्दोलनका क्रममा सुदूरपश्चिमका कारगारबाट कुल एक हजार ४५८ कैदीबन्दी फरार भएका प्रवक्ता विष्टले जानकारी दिए । तीमध्ये एक हजार १२० जना पक्राउ परेका छन् । तीन सय ३८ जना अझै फरार छन् । कारागारबाट भागेका अधिकांश कैदीबन्दी भारत गएर लुकेर बसेको हुनसक्ने प्रहरीले जनाएको छ ।

कञ्चनपुरमा प्रहरीले फरार कैदीबन्दी पक्राउ गर्न विशेष अभियान चलाएको छ । जिल्ला प्रहरी कार्यालयका प्रवक्ता एवं प्रहरी नायब उपरीक्षक हेमबहादुर शाहीले एक सातायता फरार प्रतिवादी ७६ जना पक्राउ गरिएको बताए । “पक्राउ परेकामध्ये अधिकांश लागुऔषध मुद्दाका छन्”, उनले भने ।

प्रतिक्रिया