सोमबार, मंसिर २९, २०८२

विपिन जोशीको रिहाइका लागि पहल गरिदिन इजरायली राजदूत गोडरसँग मन्त्री चौधरीको आग्रह

मेरोन्यूज २०८१ जेठ २४ गते १३:४८

काठमाडौँ । महिला, बालबालिका तथा ज्येष्ठ नागरिकमन्त्री भगवती चौधरीसँग नेपालका लागि इजरायली राजदूत हनान गोडरले शिष्टाचार भेटवार्ता गरेका छन् ।

मन्त्रालयमा आज भएको भेटमा मन्त्री चौधरीले नेपाल र इजरायलबीच कूटनीतिक सम्बन्ध स्थापना भएदेखि नै मित्रता, सद्भाव, समझदारी र सहयोगको सुमधुर द्विपक्षीय सम्बन्ध रहिआएको बताएकी छन् ।

साथै उनले हमासको नियन्त्रणमा रहेका नेपाली युवा विपिन जोशीको रिहाइका लागि पहल गरिदिन राजदूत गोडरलाई आग्रह गरिएको मन्त्री चौधरीको सचिवालयले जनाएको छ ।

इजरायलले कृषि क्षेत्रमा गरेको विकासको प्रशंसा गर्दै उनले नेपालको कृषिको विकासमा सहयोगका लागि आग्रह गरिन् ।

विभिन्न विषयमा छात्रवृत्ति, रोजगारी, कृषि तथा सहकारी क्षेत्रमा सहयोगलगायतका विषयमा नेपाललाई गरेको सहायताका लागि इजरायल सरकारको प्रशंसा गर्दै मन्त्री चौधरीले नेपाल–इजरायल सम्बन्ध आपसी सहयोग र सहकार्यको माध्यमबाट निरन्तर अघि बढिरहेको विश्वास व्यक्त गरिन् ।

इजरायल सरकारले नेपाली युवा (खासगरी महिला)लाई केयरगिभर सेवा क्षेत्रमा रोजगारीका अवसर उपलब्ध गराएकोप्रति उनले धन्यवाद व्यक्त गरिन् ।

सो अवसरमा राजदूत गोडरले विपिन छिट्टै रिहा हुने विश्वास व्यक्त गर्दै जोशीका परिवारलाई आफू आइतबार भेट्न जाने कार्यक्रम रहेको जानकारी दिए ।

नेपालमा समानता, सशक्तीकरण, निर्णायक तहमा महिलाको पहुँचका विषयमा इजरायलले नेपालबाट सिक्नुपर्ने बताउँदै उनले थप अवसरका लागि पहल गर्ने प्रतिबद्धता व्यक्त गरे ।

जम्मा केयरगिभरमध्ये ७० प्रतिशत महिला केयरगिभर रहेको जनाउँदै राजदूत गोडरले इजरायलको विकासमा नेपाली श्रमिकले पुर्याएको योगदानको प्रशंसा गरेका छन् ।

प्रतिक्रिया