बिहीबार, वैशाख २४, २०८३

‘सङ्घले स्थानीय तहलाई हस्तक्षेप गर्नु विकेन्द्रिकरणको विपरीत’

मेरोन्यूज २०८१ जेठ २४ गते १६:०८

काठमाडौँ। सांसद मेटमणि चौधरीले न्याय माग्न गएका स्वर्गद्वारी गुठी पीडित सङ्घर्ष समितिका सदस्यमाथि प्रहरीले हस्तक्षेप गरेको भन्दै आपत्ति जनाएका छन् । प्रतिनिधिसभाको आजको बैठकको विशेष समयमा बोल्दै उहाँले यही जेठ २० गते दाङको मालपोल कार्यालयको प्राङ्गणमा न्याय माग्न गएका स्थानीयमाथि भएको घटनाबारे सदनलाई जानकारी गराए ।

Advertisement
NiccNicc

बैठकमा सांसद डा वीरेन्द्रप्रसाद महतोले सिरहाको मिर्चैया बजारमा कमलादेखि विराटनगरसम्म पृथ्वी राजमार्ग विस्तार गर्ने क्रममा सडक बिग्रिएको जानकारी गराउँदै तत्काल मर्मतका लागि सरकारको ध्यानाकर्षण गराए ।

सांसद अब्दुल खानले देशको अवस्था दयनीय र जर्जर रहेको उल्लेख गर्दै देशको आर्थिक वृद्धिदर दुई दशमलव दुई प्रतिशतमा सीमित रहेको तथा प्रतिव्यक्ति आय एक हजार चार सय १० डलरमा सीमित रहेको उल्लेख गरे ।

सांसद प्रेम सुवालले सङ्घीय र प्रदेश सरकारले विकासका काममा स्थानीय तहलाई हस्तक्षेप गर्नु सङ्घीयता, स्वयत्तता र विकेन्द्रिकरणको विपरीत भएको बताए ।

सांसद चित्रबदुर केसीले सहकारी पीडितको समस्या चाँडो समाधान गर्न सरकारको ध्यानाकर्षण गराए।

सांसद प्रभु साहले नेपालका लाखौँ युवा लागुऔषध दुव्र्यसनमा लागेकाले त्यसको नियन्त्रण गर्न माग गर्नुभयो ।

सांसद सूर्यप्रकाश ढकालले अपाङ्गता भएका व्यक्तिको मौलिक अधिकार नेपालको संविधानले सुनिश्चितता गरे पनि सङ्घीय गणतान्त्रिक समावेशी नेपालमा दया र उपकारका पात्रको रुपमा हेर्ने गरिएको बताए ।

सांसद शोभा ज्ञवालीले प्रत्येक वर्ष बर्दियाका बासिन्दा बाढीबाट प्रभावित हुने गरेको उल्लेख गर्दै सम्बन्धित मन्त्रालयले स्थायी समाधानका लागि पहल गर्नुपर्ने बताए ।

सांसद विजुला रायमाझिले गत चैतमा अर्घाखाँची र गुल्मीका विभिन्न स्थानमा आगलागी हुँदा ठूलो जनधनको क्षति भएकोबारे सरकारको ध्यानाकर्षण गराए ।

प्रतिक्रिया