शुक्रबार, फागुन १, २०८२

सरकार बनाउने र गिराउने खेलमा छैनौँ : गगन थापा

मेरोन्यूज २०८१ जेठ २६ गते १२:२८

काठमाडौं– नेपाली कांग्रेसका महामन्त्री गगनकुमार थापाले नेपाली कांग्रेस सरकार बनाउने र गिराउने खेलमा नरहेको बताएका छन् ।

Advertisement
nepal life insurencenepal life insurence

नेपाली कांग्रेस काठमाडौँ महानगरपालिका–३ वडा कार्यसमितिले आज आयोजना गरेको ‘वर्तमान राजनीतिक अवस्थामा नेपाली कांग्रेसको भूमिका’ विषयक अन्तरक्रिया कार्यक्रममा बोल्दै उनले अर्को निर्वाचन ९२०८४० सम्म कांग्रेस प्रतिपक्षमै बस्ने बताए ।

महामन्त्री थापाले विसं २०७९ को निर्वाचनमा पाँच वर्षका लागि पाँच दलबीच गठबन्धन भए पनि चाहनाले नभई परिस्थितिले गठबन्धन टुटेकाले अब प्रतिपक्षमा बसेर सङ्गठन निर्माणको कामलाई अगाडि बढाउने बताए ।

अबको तीन वर्षको समय पार्टीलाई पुनर्निर्माण र बलियो बनाउने समय भएको उनको भनाइ छ ।

उनले भने, ‘कांग्रेसको सरकार बनाउने र गिराउने चाहाना छैन, कांग्रेस जनताका विषयलाई लिएर अगाडि बढ्छ, सरकार र शक्तिको आडमा अदालत र संवैधानिक आयोगलाई प्रभावमा पारेर कसैले जनविरोधी काम गर्न पाइँदैन ।’

महामन्त्री थापाले पछिल्लो समय राष्ट्रिय अर्थतन्त्र कमजोर भएकाले त्यसलाई ठीक गर्न कांग्रेसले पहलकदमी लिने बताए । उनले कांग्रेसले तीन सय ३२ स्थानीय तहमा विजय हासिल गरेर कतिपय स्थानीय तहमा राम्रा काम गरे पनि त्यसको प्रचारप्रसार हुन नसकेको उल्लेख गरे ।

महामन्त्री थापाले घरघरमा पुगेर पार्टी र आगामी कार्यदिशाका बारेमा छलफल गर्नुपर्नेबेला आएको बताए ।

उनले अब बस्ने पार्टीको केन्द्रीय कार्यसमितिको बैठकले महासमितिको प्रस्ताव पारित गरेर अगाडि बढ्ने उल्लेख गरे । आगामी बैठकले पार्टीका भ्रातृ संस्थाका बारेमा निर्णय लिने उनको भनाइ थियो ।

कांग्रेस नेता एवं प्रतिनिधिसभा सदस्य प्रदीप पौडेलले काठमाडौंका जनता सचेत भएकाले सोहीअनुसार पार्टीले रणनीति बनाएर अगाडि बढ्नुपर्ने बताए ।

नेता पौडेलले गिरिबन्धु टी–स्टेटका बारेमा अदालतले फैसला गरेकाले त्यसबारे कांग्रेसले कुरा उठाउँदै आएको बताए । गिरिबन्धु टी–स्टेटका बारेमा सहकारी जस्तै कुरा उठाउन जरुरी भएको उनको भनाइ छ ।

नेपाली कांग्रेस बागमती प्रदेशका सदस्य रमेशकुमार खड्काले पार्टीको सङ्गठनलाई बलियो बनाएमात्र सबै क्षेत्रमा कांग्रेसले जीत हासिल गर्नसक्ने बताए ।

नेपाली कांग्रेस काठमाडौँका उपसभापति गोकर्ण केसीले कांग्रेसले अहिलेसम्म देशको विकासका लागि गरेको राम्रा काम जनतामाझ लैजानपर्ने बताए ।

प्रतिक्रिया