परम्परागत बाद्यबादनको प्रवर्धनका लागि ‘धाः बाजं’ बादन प्रतियोगिता

काठमाडौँ । काठमाडौँ महानगरपालिकाले शनिवार राष्ट्रिय सभा गृहमा ‘धाः बाजा वादन प्रतियोगिता’ सम्पन्न गरेको छ । महानगर स्वर्णिम योजना ‘सांस्कृतिक महानगर’ अन्तर्गत सार्वजनिक सूचनाबाट सहभागिता आव्हान गरेर प्रतियोगिता सम्पन्न गरिएको हो ।
प्रतियोगितामा २२ वटा समूह सहभागी भएका थिए । जसमध्ये ङत तुलाधर समिति, नरदेवीले प्रथम स्थान हासिल गर्यो । यस्तै कसाः तः धं गुथिले दोस्रो र ठँहिटि मानन्धर गुथिले तेस्रो स्थान प्राप्त गरे । कार्यक्रममा प्रथम, दोस्रो र तेस्रो स्थान हासिल गर्ने समूहलाई क्रमशः १ लाख, ७५ हजार र ५० हजार रुपैयाँ नगदसहित चाँदीको धा बाजा प्रदान गरियो । अन्य १९ समूहलाई सान्त्वाना स्वरुप हरेक समूहलाई १५ हजार रुपैयाँ नगद पुरस्कार प्रदान गरियो ।
पुरस्कार वितरण गर्दै महानगरपालिकाका उपप्रमुख सुनिता डंगोलले भन्नुभयो, ‘यो प्रतियोगिता कसैलाई विजय गराउन वा कसैलाई हारको अनुभूति गराउनका लागि होइन । जोजति सहभागी भएका छन् । परम्परागत बाजा संरक्षणमा सबैको समान योगदान छ । यसअर्थमा प्रतियोगितामा सहभागी सबै विजेता हुनुहुन्छ । यसरी महसुस गर्नुहोला ।’ उहाँले, संस्कृति र परम्पराको वैज्ञानिक, सामाजिक, पारिवारिक तथा व्यक्तित्व एवं नेतृत्व विकासको पक्ष जोगाउन युवाहरुको सक्रिय सहभागिताको अपेक्षा गरे ।
त्यस क्रममा सम्पदा तथा पर्यटन समितिका संयोजक आशामान संगतले, अमूर्त सम्पदाको अमुल्य ऐश्वर्य बचाउन महानगरपालिकाले प्राथमिकताका साथ काम गरिरहेको उल्लेख गर्नुभयो । ‘प्रयास र अगुवाई महानगरपालिकाको हुनेछ । यसमा खल, पुच, गुथिहरुको पृष्ठपोषण र सहभागिता चाहिन्छ ।’ संगतको भनाइ थियो ।
सम्पदा तथा पर्यटन विभागका प्रमुख कुमारी राईले, नेपाल मण्डलभित्रका परम्परागत बाद्य सामग्री र वाद्य शैलीको पुस्तान्तरणका लागि कार्यक्रम आयोजना गरिएको बताउनुभयो । यस्तै ढाँचाका कार्यक्रमहरु वडा तहमा पनि भइरहेका छन् । केन्द्र स्तरमा पनि नियमित चलिरहेको छ ।
विभागका सहायक निर्देशक एवं सांस्कृतिक महानगर कार्यक्रमका फोकल पर्सन धर्म मुनिकारका अनुसार यसपछि १५ बर्ष उमेर समूहसम्मका बालबालिकाका बिचमा नेवा संस्कृतिक र प्रकृतिसँग सम्बन्धित गायन प्रतियोगिता हुनेछ । प्रतियोगितामा २५ वटा गीत समावेश हुनेछन् । २५ वटाभन्दा धेरै गीत भएमा अडिसनबाट छानिनेछ ।
मुनिकारका अनुसार प्रतियोगितामा प्रथम स्थान हासिल गर्नेलाई ५५ हजार ५५५ रुपैयाँ र चाँदीको माइक, दोस्रो हुनेलाई ३३ हजार ३३३ रुपैयाँ र चाँदीको माइक र तेस्रो हुनेलाई २२ हजार २२२ रुपैयाँ र चाँदीको माइकबाट पुरस्कृत गरिनेछ । सहभागी सबैलाई सान्त्वानास्वरुप १० हजार रुपैयाँ प्रदान गरिनेछ ।
के हो धाः बाजा ?
कपिलबस्तुमा राजा शुद्धोदनका पालामा मनाइने ‘साल धान्निका’ पर्वमा धाः बाजा बजाउने गरिएको थियो । त्यहाँबाट शाक्यहरु काठमाडौँ आउँदा आफ्ना संस्कृति सँगै लिएर आउने क्रममा धाः बाजा पनि लिएर आए । गुँला बाजा व्यवस्थापन तथा संरक्षण समितिका अध्यक्ष अमिरमान शाक्यका अनुसार लिच्छवीकालमा यसलाई धाः बाजा नै भन्ने गरिन्थ्यो । मल्ल कालमा आएर गुँला महिना सुरु गर्न थालिएपछि यसलाई गुँला बाजा भन्न थालियो । काठमाडौँमा गुँला भनिए पनि ललितपुर र भक्तपुरमा अहिले पनि धा बाजा नै भन्ने गरिन्छ । बाजा वौद्ध धर्मसँग सम्बन्धित भएकोले शाक्यसहित उपत्यकाका नेवार समुदायमा बौद्ध धर्मावलम्बीहरुले यो बाजा बजाउने गरेका छन् ।
शाक्यकाअनुसार काठको ढुङ्ग्रोमा छाला मोडेर बनाइने यो बाजाको दाहिनेतर्फ हातले र देब्रेतर्फ काठको गजोले बजाइन्छ । यो देव वाजा हो । यसलाई अरुजस्तो सामान्य समयमा बजाइँदैन, बजाउन मिल्दैन । राखेको ठाउँबाट निकाल्दासमेत पूजा गरेर निकाल्नु पर्ने चलन छ । यसलाई पञ्चदान, सम्यकदान, वहा पूजाजस्ता ठूला र अधिक महत्व भएका अवसरमा मात्र बजाउने परम्परा छ ।
धाः बाजा ७ वटा तालमा बजाइन्छ । ४ मात्रामा चोँ ताल, ७ मात्रामा पडताल, ७ मात्रामा जतिताल, ८ मात्रामा लताल, १४ मात्रामा ग्रताल, १० मात्रामा अस्त्राताल र ६ मात्रामा पलेमा ताल बजाइन्छ । शाक्यकाअनुसार यी सबै ताललाई एकैपटक बजाउने ग्वारा धा बाजाको मुख्य विशेषता हो । ग्वारामा पनि भगवान ग्वारा, नित्यनाथ ग्वारा, श्रीकृष्ण ग्वाराजस्ता विभिन्न देवताको स्तुतिसँग सम्बन्धित छन् ।
















नेपाल-कतार संयुक्त व्यवसाय परिषद् काठमाडौँमा, द्विपक्षीय व्यापार तथा लगानी अभिवृद्धि बारे छलफल हुने
वरिष्ठ कलाकार थापाको अन्तिम दाहसंस्कार पशुपति आर्यघाटमा
राउटेले बनाएका भाँडा किन्नेभन्दा फोटो खिच्ने धेरै
रुसी जनरलमाथि गोली हान्ने संदिग्ध व्यक्ति दुबईबाट पक्राउ
आज कति छ सुनको भाउ ?
किन आए भारतबाट एसएसबीका पाँच डिआइजी बिराटनगरमा ?
कस्ताे रहला आज देशभरकाे माैसम ?
यस्तो छ आजका लागि निर्धारण गरिएको विदेशी मुद्राको विनिमयदर
निर्वाचनको ४८ घण्टा अगावै नेपाल-भारत सीमानाका बन्द गरिने
प्रतिक्रिया