बुधबार, चैत ४, २०८२

रातो मच्छिन्द्रनाथ रथयात्रा साउन १७ मा

मेरोन्यूज २०८१ जेठ ३२ गते १०:५४

ललितपुर। वर्षा र सहकालका देवताका रूपमा पुजिने रातो मच्छिन्द्रनाथको रथयात्रा आगामी साउन १७ गते प्रारम्भ हुने भएको छ । हाल मच्छिन्द्रनाथको रथ ललितपुरको स्थानीय थती टोलमा रोकिएको छ ।

Advertisement
nepal life insurencenepal life insurence

पुल्चोकमा रथारोहण गरी सुरु भएको मच्छिन्द्रनाथको रथयात्रा ललितपुरको गाःबाहल, मङ्गलबजार, सुन्धारा, लगनखेललगायत विभिन्न ठाउँमा घुमाइएर थती टोलमा राखिएको रथ उक्त दिनदेखि तानिने मच्छिन्द्रनाथका पुजारी शाहु शाक्यले राससलाई जानकारी दिए ।

साहु शाक्यका अनुसार गत वर्षको जात्रा ३५ दिनमा सकिए पनि यो वर्षको जात्रा पात्रोअनुसार तीन महिनापछि समापन हुनेछ । उनले भने, “साउन १७ गते थतीटोलबाट रथ तानेर जावलाखेल चोकमा पुर्याएमा २० गते भोटोजात्रा हुन्छ । यदि मच्छिन्द्रनाथको रथ जावलाखेल पुग्न दुई दिन लागेमा २१ गते भोटोजात्रा हुनेछ । ”

ललितपुरमा हरेक वर्ष हुने रातो मच्छिन्द्रनाथको रथजात्रा काठमाडौँ उपत्यकाको पुरानो र सबैभन्दा लामो जात्राका रूपमा चिनिन्छ । यो जात्रा वैशाख शुक्ल प्रतिपदादेखि सुरु भएको हो । रथयात्रा ललितपुरको गाःबहाल, सुन्धारा, लगनखेल, कुमारीपाटी हुँदै जावलाखेल चोक ललितमण्डपमा टुङ्ग्याइन्छ । जावालाखेल पुर्याएको चार दिनपछि राष्ट्रप्रमुखलाई भोटो देखाएपछि यो वर्षको जात्रा समापन हुन्छ ।

यस वर्षको रथयात्राको क्रममा रथमा केही समस्या देखिएपछि मर्मत गरेर पुनः सञ्चालनमा ल्याएको रातो मच्छिन्द्रनाथ रथसँग सम्बन्धित नारायण व्यञ्जनकारले बताए । उनले भने, “यो वर्ष रथमा केही समस्या देखिएकाले मर्मत गरिसकेका छौँ । साउन १७ गतेसम्म ठटीटोलमा रथ रहन्छ र हाल भक्तजनले पूजाआजा गरिरहेका छन् ।”

यो वर्षको रथयात्रामा खलपानेजुको रूपमा निमराज शाक्य रहेका छन् भने जलपानेजुको रूपमा सम्पूर्ण शाक्य रहेका छन् । शभुशाइत पर्खाइमा ठटीटोलमा रोकिएको रातो मच्छिन्द्रनाथ देवताको रथमा पूजाआजाका लागि पुजारीहरु छन् भने रथको सुरक्षाका लागि नेपाल प्रहरी खटिएको छ ।

प्रतिक्रिया