शनिबार, फागुन १६, २०८२

घरेलु श्रमलाई मर्यादित बनाउन घरेलु श्रम सम्बन्धि कार्यविधि बनाउन माग

मेरोन्यूज २०८१ असार २ गते १८:३३

काठमाडाैं । घरेलु श्रम सम्बन्धि छुट्टै कार्यविधि बनाउन माग गरिएकाे छ।

Advertisement
nepal life insurencenepal life insurence

घरेलु श्रमिक मञ्च र स्वतन्त्रता अभियान नेपालको सहकार्यमा “अन्तर्राष्ट्रिय घरेलु श्रमिक दिवस”को सन्दर्भमा आइतवार राजधानीमा आयोजित कार्यक्रममा सहभागी वक्ताहरुले घरेलु श्रम सम्वन्धि छुट्टै कार्यविधिको माग गरेका हुन् ।

संयुक्त राष्ट्र सङ्घले सन् २०११ को जुलाई १६ मा घरेलु श्रमिक सम्वन्धि महासन्धि (आइएलओ १८९) पारित गरेर विश्वभरका घरेलु श्रमिकको हक अधिकारको सवाललाई पनि मान्यता दिएको अवसरमा हरेक वर्ष अन्तर्राष्ट्रिय घरेलु श्रमिक दिवस मनाउँदै आएको हो ।

सोही सन्दर्भमा आयोजित कार्यक्रममा प्रतिनिधी सभा, महिला तथा सामाजिक मामिला समिति सभापति किरणकुमार शाहले देशभित्रै सम्मानपूर्वक ढङ्गले काम गर्ने वातावरणका लागि घरेलु श्रम सम्वन्धि कार्यविधि, नीति बनाउन समितिको तर्फबाट पूर्ण समर्थन हुने बताए ।

सांसद आशा विकले सङ्घ सङ्गठन, कार्यालयमा काम गर्दा जातिय भेदभाव नभएपनि घर÷घरमा काम गर्दा अझै पनि जातिय भेदभाव रहेको घरेलु श्रमिकको गुनासो रहेकोले हरेक मानवले श्रम गरेर खान पाउनुपर्ने रोजगारीको हक र मानवअधिकारको समेत रक्षाका लागि पनि अझै दह्रो आवाज उठाउनुपर्नेमा जोड दिएकी छन् ।

राष्ट्रिय मानवअधिकार आयोगका सचिव मुरलीप्रसाद खरेलले सम्मानपूर्वक श्रम गरेर खान पाउने हकको कार्यान्वयन भए स्वदेशमै रोजगारीको वृद्धि हुने र श्रम गरेर खाने हकको पनि रक्षा हुने बताए ।

समावेशी आयोगका सदस्य जोशीले घरेलु श्रमलाई मर्यादित बनाउन श्रम ऐन २०७४ को पूर्ण कार्यान्वयनको पहल हुनुपर्नेमा जोड दिएका छन् ।

घरेलु श्रमिक मञ्चका उपाध्यक्ष लक्ष्मी केसीले भनिन्,“ घरेलु श्रमको क्षेत्रमा विगतमा धेरै नै विभेद गर्ने, घरबेटीको परिवारले नखाने बासीभात खानुपर्ने, कुटपिट गर्ने, समयमा पैसा नदिने र पैसा, सुन चोरेको समेत आरोप लगाउँथे, तर पछिल्लो समय मञ्चमा आवद्ध भएपछि इमान्दारीपूर्वक काम गरेर खानु त हाम्रो हक नै रहेछ, भन्ने जान्यौं र घरेलु श्रमिकले न्युनतम ज्याला, विदा नपाउने समस्या समाधान हुनुपर्छ ।”

अन्तर्राष्ट्रिय श्रम सङ्गठनको नेपाल प्रतिनिधी विना कुँवरले नेपालले घरेलु श्रम सम्वन्धि अनुमोदन गर्न ढिला गर्न नहुने बताइन् ।

उनले सन् २०११ मा संयुक्त राष्ट्रसङ्घले पारित गरेको सो महासन्धि पारित गरेर सो अनुसारको कानून बनाउँदै स्वदेश तथा विदेशमा श्रम गर्ने वातावरण बनाउन आग्रह गरिन् ।

पौरखी संस्थाका संस्थापक मञ्जु गुरुङले घरेलु श्रम गर्न जादा नेपालीलाई हिंसा भयो भनेर नेपालले घरेलु श्रमिकका रुपमा विदेश जान रोकेकोले चोर बाटोबाट जाँदा झनै जोखिममा परिरहेको बताउँदै राज्यले सो महासन्धीको अनुमोदन गर्दै सोही अनुसारको कानुन बनाएर राज्यले स्वदेश तथा विदेशमा घरेलु श्रमिकका रुपमा काम गर्न चाहनेलाई तालिमसहित दक्ष बनाएर सम्मानित ढङ्गले काम गर्ने वातावरण बनाउनुपर्नेमा जोड दिइन् ।

घरेलु श्रमिक मञ्चका सचिव गोमा भण्डारीले अमर्यादित, असुक्षित र शोषणयुक्त घरेलु श्रमको वर्तमान अवस्थालाई औपचारिक नीतिगत खाकाभित्र समेटी सुरक्षित, मर्यादित र सम्मानित श्रमका रूपमा स्थापित गर्न नेपाली घरेलु श्रमिक सङ्गठित हुन थालेको बताइन् ।

उनले यस क्षेत्रमा निरक्षर दिदीबहिनी बढि रहेकोले सङ्गठीत हुन नजान्ने, पञ्जिकरणमा पनि वेवास्ता गरिएको कारण घरेलु श्रमिकको तथ्याङ्क समेत नभएको बताएकी छन् ।

एक्टीभ डोमेस्टीक वर्कर सर्भिसका संस्थापक प्रसान्त डंगोलले विगत १४ वर्षदेखि यस संस्थाले घरेलु श्रमिकलाई आवश्यक तालिम दिंदै श्रमिक र रोजगारदाताबीचको पुलको काम गरिरहेको बताए ।

प्रतिक्रिया