गण्डकी प्रदेशस्तरीय क्रिकेट : नवलपुर र स्याङ्जा विजयी

कास्की । पोखरा रङ्गशालामा सञ्चालन भइरहेको गण्डकी प्रदेशस्तरीय टी–२० पुरुष क्रिकेट प्रतियोगिताअन्तर्गत आजको खेलमा नवलपुर र स्याङ्जा विजयी भएका छन् । यही जेठ ३२ गतेदेखि जारी प्रतियोगिताको समूह ‘बी’ को खेलमा जित निकालेका हुन् । नवलपुर र पर्वतबीचको भएको खेलमा नवलपुर छ विकेटले विजयी भयो ।
वर्षाका कारण पाँच ओभर घटाइएको खेलमा टस जितेर पारीको सुरुआत गरेको पर्वतले सात विकेटको क्षतिमा ९३ रन बनायो । पर्वतका लागि रितिक थापाले २९ बलमा दुई चौका र एक छक्का प्रहार गर्दै २९ रनको योगदान दिए । अमृत गुरुङले १५ बलमा दुई चौका र एक छक्काको मद्दतले २३ रन जोडे । साथै दीपेन्द्र भण्डारीले १३, रोशन गौतमले ११ र सन्देश खड्काले १० रन जोडे ।
नवलपुरका लागि बलर ऋषि गोविन्द श्रेष्ठले तीन ओभरमा १९ रन दिएर तीन विकेट लिए । कमल परियारले दुई, सुदीप अर्याल र स्वीकार श्रेष्ठले समान एक/एक विकेट लिए ।
जितका लागि ९४ रन पछ्याएको नवलपुरले १३ ओभरको चौथो बलमा चार विकेट गुमाउँदै लक्ष्य भेट्याउन सफल भयो । ‘खेलको प्लेयर अफ दि म्याच’ घोषित नवलपुरका प्रमीश अर्यालले ३६ बलमा चार चौका प्रहार गर्दै ३४ रन जोडे ।
रिजन काफ्ले १६ बलमा दुई चौकासहित २७ रनमा ‘नटआउट’ रहे । दीपक डुम्रेले १४ रनको योगदान दिए । पर्वतका रोशन गौतमले दुई विकेट लिए भने विकाश क्षेत्रीले एक विकेट लिए ।
यसैगरी गोरखा र स्याङ्जाबीच भएको खेलमा स्याङजाले जित हासिल गर्न सफल भयो । बलर किरण भट्टराईले पाँच विकेट लिँदा स्याङ्जाले १० विकेटले सम्मानजनक जित दर्ता गरेको छ । टस जितेर ब्याटिङमा उत्रिएको गोरखा १८ दशमवल एक ओभरमा सबै १० विकेट गुमाउँदै ७४ रनमा समेटियो ।
अतिरिक्त १३ रन पाएको गोरखाका गौरव पौडेलले ३५ रनको योगदानबाहेक अन्य खेलाडीले दोहोरो अङ्कको रन छुन सकेनन् । स्याङ्जाका किरणले उत्कृष्ट बलिङ गर्दै चार ओभरमा दुई मेडनका साथ सात रन दिएर पाँच जनालाई आउट गरे । उनी खेलको ‘प्लेयर अफ दि म्याच’ घोषित भए । त्यस्तै विपीनराज न्यौपानेले तीन विकेट लिए भने अङ्कित न्यौपाने र तुलसी भण्डारीले समान एक/एक विकेट लिए ।
जवाफी व्याटिङमा उत्रिएको स्याङजाले विस्फोटक व्याटिङ गर्दै आठ ओभरको चौथो बलमा कुनै पनि विकेट नगुमाइ ७५ रनको लक्ष्य भेटायो ।
स्याङ्जाका ओपनर खेलाडीद्वय ईश्वर क्षेत्री र करण पगेनीको जोडीले उत्कृष्ट ब्याटिङ गर्दै लक्ष्यमात्रै भेटाएनन् टिमका लागि दुई अङ्कसमेत जोडे । ईश्वरले २३ बलमा तीन चौका र तीन छक्काको मद्दतले ३६ रन बनाउँदा करणले २९ बलको सामना गर्दै तीन चौका र एक छक्का प्रहार गर्दै ३६ रनको योगदान दिए ।
प्रदेश खेलकुुद परिषद्को आयोजना तथा प्रादेशिक क्रिकेट सङ्घको व्यवस्थापनमा गत जेठ ३२ गतेदेखि प्रतियोगिता सञ्चालन भएको हो । प्रतियोगिताअन्तर्गत मङ्गलबारको पहिलो खेल पर्वत र स्याङ्जाका बीच हुनेछ भने दोस्रो खेल गोरखा र नवलपुरबीच हुने प्रादेशिक क्रिकेट सङ्घका अध्यक्ष सञ्जयकान्त सिग्देलले जानकारी दिए ।
प्रतियोगिताबाट आसन्न दशौँ राष्ट्रिय खेलकुद प्रतियोगिताका लागि प्रारम्भिक टिम छनोट गरिने आयोजकले जनाएको छ ।
प्रतियोगितामा विजेता टिमलाई नगद पुरस्कार रु एक लाख र उपविजेता टिमलाई नगद रु ५० हजारका साथमा ट्रफी, मेडल तथा प्रमाणपत्र पाउनेछन् । प्रतियोगितामा आठ जिल्लाको सहभागिता छ । सहभागी टोलीलाई दुई समूहमा विभाजन गरिएको छ । समूह ‘ए’मा कास्की, बाग्लुङ, म्याग्दी र तनहुँ छन् भने समूह ‘बी’ मा र स्याङ्जा, नवलपुर, गोरखा र पर्वत छन् । समूह ‘ए’ बाट लिग चरणका तीन वटै खेल जित्दै कास्की समूह विजेता बनेर फाइनलमा पुगिसकेको छ ।
















मध्यपूर्वमा अमेरिकी सैन्य साइटहरूमा इरानको व्यापक आक्रमण
पर्वतको फलेवासमा आमाबा स्वास्थ्य कार्यक्रम सुरु
ग्रामीण भेगको प्रेमकथा ‘काजी’
जुम्लाको सामुदायिक विद्यालयका २४३ विद्यार्थीलाई पोसाक वितरण
प्रकृति टाढिँदा अस्तित्वको लडाइँमा लोपोन्मुख–सीमान्तकृत आदिवासी
प्रधानमन्त्री रहमान द्वारा ढाकालाई स्वच्छ सहर बनाउने लक्ष्यसहित १२ बुँदे योजना सार्वजनिक
अष्ट्रेलियामा विमान दुर्घटना हुँदा दुई जनाको मृत्यु, ११ घाइते
चक्रपथ विस्तार गर्न चीनले ११ अर्ब अनुदान दिने
ओमानसँग नेपाल १०२ रनले पराजित
आशिष निर्माण सेवाका सञ्चालक गौली पक्राउ
प्रतिक्रिया