आइतबार, माघ ४, २०८२

सांसद पद गुमेपछि सर्वोच्चमा फणीन्द्र देवकोटा, माओवादीको कारबाही रोक्न माग

मेरोन्यूज २०८१ असार ६ गते १८:५८

पोखरा। गण्डकी प्रदेश माओवादी केन्द्र संसदीय दलको कारबाहीमा परेका प्रदेश सभा सदस्य फणीन्द्र देवकोटाले बिहीबार सर्वोच्च अदालतमा रिट दर्ता गराएका छन् ।

गण्डकी प्रदेशमा ऊर्जा, सिँचाइ तथा खानेपानी मन्त्रीसमेत रहेका देवकोटाले आफूमाथिको कारबाही गैरकानुनी भएको जिकिरसहित रिट दर्ता गराएका हुन् । उनले माओवादी केन्द्र संसदीय दलको उक्त निर्णय कार्यान्वयनमा रोक लगाउन पनि माग गरेका छन् ।

उनले गण्डकी प्रदेशका सभामुख कृष्णप्रसाद धिताल, प्रदेशसभा सचिवालय, नेकपा माओवादी केन्द्र केन्द्रीय कार्यालय, प्रदेश कार्यालय, प्रदेश समिति, संसदीय दलका नेता हरिबहादुर चुमान र निर्वाचन आयोगलाई विपक्षी बनाएका छन् ।

देवकोटाले जेठ २९ को पत्र र जेठ ३२ को सूचना कार्यान्वयन नगर्नू नगराउनू भनी अन्तरिम आदेशको माग गरेका छन् । त्यस्तै प्रदेशसभा सदस्यको हैसियतमा पूर्ववत् कामकाज गर्न अवरोध नगर्नु भनी अन्तरिम आदेश जारी गर्नसमेत उनले माग दाबी गरेका छन् ।

प्रतिक्रिया