चित्लाङमा तयार हुँदैछन् दुध दिने बाख्रा (भिडियाे)
आम उपभोक्ता र कृषकहरुलाई समेत दुध भन्नेबित्तिकै गाई र भैसीको तस्बिर मानसपटलमा आइहाल्छ । तर दैनिक चार लिटर दुध दुहुन मिल्ने ‘सानान’ जातको बाख्रा पनि हुन्छ भन्दा धेरैलाई अचम्म लाग्न सक्छ । अब नेपाली गोठमा पनि बाख्राको दुध उत्पादन हुने भएको छ ।
आम रुपमा हाम्रो गाउँघरमा पाईने बाख्रा भनेको खरी र जमुनापारी हो जसलाई दुध होइन मासुको लागि उपभोग गर्ने गरिइएको छ । अबभने गाई भैंसी पाल्न नसक्ने र सानो क्षेत्रको साथै घाँसको अभाव भएका किसानले दूधका लागि पाल्न मिल्ने बाख्रा, बाख्रा विकास फार्म चित्लाङले तयार गरिरहेको हो ।
बर्षमा दुईपटक ब्याउने र प्रतिबेत करिब आठ सयदेखी एक हजार लिटर सम्म दुध दिने ‘सानान’ जातको बाख्रा अब गाउँघरमा मात्र होइन शहर बजारमा पनि पाल्नको लागि तयार भैरहेको छ ।
बाख्राको दुध छिमेकी मुलुकमा लिटरको रु. एक हजार मुल्यमा बिक्री भइरहेको बताउँदै अब नेपाली किसानको गोठमा पनि उक्त बाख्राको दुध उत्पादन गर्न सक्ने अबस्था रहेको बाख्रा विकास फार्म चित्लाङका फार्म प्रबन्धक विश्वेश्वर प्रसाद यादवले जानकारी दिएका छन् ।
नेपालमा गरिएको अनुसन्धानबाट सानन जातको बाख्रा समुन्द्री सतह देखि १५००–२५०० मिटर सम्मको उचाइका क्षेत्रमा (दक्षिण मोहडा फर्केको पहाडी भेगमा अझ उत्तम) सफलतापूर्वक पालन गर्न सकिने फार्म प्रबन्धक यादवले जानकारी दिएका छन् । उनका अनुसार उक्त जातका बाख्रा अन्य जातका बाख्राहरू भन्दा चाडो हुर्कने र दुध उत्पादनको लागि पालिने भएकोले यिनीहरूको आहाराको मात्रा अन्य जातका बाख्रालाई भन्दा बढाएर दिनुपर्ने हुन्छ ।
सामान्यतया हाम्रो स्थानीय खरी बाख्रालाई शारीरिक तौलको २.५ प्रतिशत देखि ३ प्रतिशतसम्म सुख्खा पदार्थ भए पुग्नेमा सानन बाख्राको लागि कम्तिमा शारीरिक तौलको ४ प्रतिशतका दरले सुख्खा पदार्थ चाहिने उनले जानकारी दिए।
तत्कालीन राणा शासकले २००१ सालमा स्थापना गरेको भेडा फार्म (हाल बाख्रा विकास फार्म)ले माग अनुसार किसानहरूलाई बाख्रा उपलब्ध गराउन सकेको छैन । फार्ममा उत्पादन भन्दा तेब्बर बढीले किसानबाट बाख्राको माग आएको फार्मले जानकारी दिएको छ । सरकारी फार्ममा शुद्ध नश्लको बाख्रा पाइने विश्वासले किसान र व्यवसायिक बाख्रा पालन गर्दै आएकाहरूले माग धेरै गर्ने गरेको फार्म प्रबन्धक यादवले बताए । फार्मले सानन, सानन र खरीको क्रस तथा शुद्ध खरी गरी तीन थरीको बाख्रा उत्पादन गर्दै आइरहेको हो ।
फार्मलाई चरिचरण क्षेत्रमा बाह्रै महिना हरियो घाँस नहुँदा बाख्रा, भेडा पालनमा समस्या हुँदै आएको छ । फार्ममा जग्गा पर्याप्त भएपनि चरिचरण क्षेत्र थोरै भएकाले वर्षको ६ महिना अर्थात बर्खे समयमा मात्रै बाख्रा र भेडाले पोषिलो घाँस खान पाउँछन् । फार्मले वर्षायामको घाँसलाई सुकाएर राख्ने तथा नेपियर, मकै आदि घाँसलाई साइलेज (घाँसको गुन्द्रुक) बनाएर राख्ने र हिउँदको घाँस अभाव टार्ने गर्दै आएको थियो । फार्ममा बाख्रा, भेडा, मासुको लागि खरायो र दुधको लागि जर्सी गाई पालन गरिएको छ । फार्म पर्यटकीय स्थलका रुपमा पनि चर्चित छ ।
झट्ट हेर्दा च्याङग्राको जस्तो सिङभएको सेतो रौं, छोटा र ठाडा कान, मिलेको शरीर भएको शुद्ध सानन जातकोे बाख्रा प्रतिकेजी एक हजारको दरले उपलब्ध गराइने यादवले जानकारी दिएका छन् । खरी बाख्रा प्रतिकेजी पाँच सयका दरले बिक्री गर्ने गरिएको उनको भनाइ छ । किसानहरूले सम्बन्धित स्थानीय तहको सिफारिस ल्याएपछि मात्रै फार्मले बाख्रा बिक्री गर्ने गरेको छ । फार्मले बाहिरी जिल्लामा बाख्रा बिक्रीलाई प्राथमिकता दिने गरेको यादव बताउँछन् ।
दूध उत्पादनका लागि विश्वविख्यात बाख्राको जातमा पर्ने सानन पहिलो पटक १० देखि १२ महिनाको उमेरमा बालि जाने र ब्याएपछि ८ देखि १० महिनासम्म दूध दिईरहन्छ । यो जातको बाख्राको दूध उत्पादन क्षमता बढी भएकोले यो बाख्रालाई बाख्रा जगतकी दूधकी रानी पनि भन्ने गरिएको छ ।
मकवानपुरको उत्तरी क्षेत्रस्थित थाहा नगरपालिका र इन्द्रसरोवर गाउँपालिकाको सीमाना चित्लाङमा रहेको सरकारी बाख्रा विकास फार्ममा अमेरिकाबाट ल्याईको र अमेरिकी तथ्याङ्क अनुसार प्रति वेत २००० लिटरको हाराहारीमा दूध उत्पादन रेकर्ड भएता पनि यस फार्मको रेकर्ड अनुसार प्रति वेत ८०० देखि १००० लिटर दूध उत्पादन रेकर्ड पाइएको छ ।

















इलाम–१ मा कांग्रेसका निश्कल राई विजयी
रुकुम पश्चिममा १२ मध्ये नौ उम्मेदवारको जमानत जफत
गोरखा-१ मा रास्वपाका सुधन गुरुङ विजयी
इन्डोनेसियामा फोहोर डम्पिङ स्थलमा पहिरो, ४ जनाको मृत्यु
प्रत्यक्षतर्फ खोटाङका ११ उम्मेदवारको जमानत जफत
सर्लाही-४ : गगनभन्दा अमरेशले थप बढाए मतान्तर
राष्ट्रिय दल बन्ने दाैडमा कुन-कुन पार्टी ?
झापाका पाँचै निर्वाचन क्षेत्रमा मतान्तर बढाउँदै रास्वपा उम्मेदवार
कतारी नौसेना बहराइनमा सुरक्षित
६ जिल्लामा श्रम संस्कृति पार्टीकाे अग्रता
प्रतिक्रिया