हेटौंडा-ढल्केबर-इनरुवा ४०० केभीबाट पहिलो पटक विद्युत् प्रवाह

काठमाडौँ । विद्युत् प्रसारण प्रणाली सुदृढीकरण तथा विश्वसनीय बनाउन र नेपाल–भारतबीचको विद्युत व्यापार विस्तारका लागि निर्माणाधीन हेटौँडा–ढल्केबर–इनरुवा चार सय केभी प्रसारण लाइनअन्तर्गत ढल्केबर–इनरुवा खण्ड सञ्चालनमा आएको छ ।
धनुषाको ढल्केबरबाट सुनसरीको भोक्राहा नरसिंह गाउँपालिका–४ स्थित इनरुवा सबस्टेसम्मको एक सय ५४ किलोमिटर प्रसारण लाइन चार्ज गरी सञ्चालनमा ल्याइएको हो । ढल्केबर र इनरुवा चार सय केभी सबस्टेसनमा जोडेर प्रसारण लाइन चार्ज गरिएको छ ।
ढल्केबर–इनरुवा खण्ड सञ्चालनमा आएसँगै देशभित्र पहिलोपल्ट चार सय केभीबाट विद्युत प्रसारण सुरु भएको छ । यसअघि ढल्केबर–मुजफ्फरपुर (भारत) अन्तरदेशीय प्रसारण लाइनबाट चार सय केभीमा विद्युत् आयात–निर्यात हुँदै आएको थियो । अब देशभित्रै चार सय केभी प्रसारण लाइनबाट विद्युत् प्रवाह सुरु गरिएको हो ।
नेपाल विद्युत् प्राधिकरणका कार्यकारी निर्देशक कुलमान घिसिङले ढल्केबर–इनरुवा खण्ड सञ्चालनमा आएसँगै कोशी प्रदेशका तराईका जिल्लामा विद्युत् आपूर्तिको भोल्टेज सुधार गर्न, समग्रमा देशको प्रसारण प्रणालीलाई गुणस्तर तथा विश्वसनीय बनाउन र नेपाल–भारतबीचको विद्युत् व्यापारको परिमाण वृद्धि गर्न महत्वपूर्ण उपलब्धि हासिल भएको बताए । प्रसारण लाइनले करिब चार हजार मेगावाट विद्युत् प्रवाह गर्न सक्दछ ।
प्रसारण पूर्वाधार तयार नभएकाले हाल सञ्चालमा रहेको ढल्केबर–मुजफ्फरपुर अन्तरदेशीय प्रसारण लाइनबाट हुने विद्युत् आयात–निर्यात परिमाण अब बढाउन सकिने कार्यकारी निर्देशक घिसिङले जानकारी दिए । अहिले दुई देशबीच विद्युत् आयात निर्यात परिमाण आठ सय मेगावाट मात्र छ । उहाँले कोशी करिडोर हुँदै इनरुवा सबस्टेसनमा आएको विद्युतलाई त्यस क्षेत्रमा खपत गरी अतिरिक्त भएमा ढल्केबर–इनरुवा प्रसारण लाइनमार्फत ढल्केबर ल्याएर भारततर्फ निर्यात गर्न सकिने बताए।
मकवानपुरको हेटौँडा उपमहानगरपालिका–११ स्थित थानाभ-याङस्थित हेटौँडा सबस्टेसनबाट इनरुवा सबस्टेनसम्म दुई सय ८८ किलोमिटर प्रसारण लाइनलाई दुई खण्डमा विभाजन गरी निर्माण सुरु गरिएको थियो । प्रसारण लाइनलाई हेटौँडा–ढल्केबर एक सय ३४ किलोमिटर र ढल्केबर–इनरुवा एक सय ५४ किलोमिटर दुई खण्डमा विभाजन गरिएको छ । हेटौँडा–ढल्केबर खण्ड निर्माणाधीन छ ।










एमाले महाधिवेशन : उम्मेदवारको अन्तिम नामावली सार्वजनिक
आजदेखि बाघ गणना हुँदै
रुद्रकली र खगेन्द्रप्रसाद भैरहवा पुगे : भोलि कतार उड्दै
विदेशमा पढ्नका लागि बाहिरियो ४२ अर्ब ९६ करोड
लुम्बिनीले जित्यो एनपीएल सिजन–२ को उपाधि, सुदूरपश्चिम फेरि स्तब्ध
उपाधि भिडन्तमा सुदूरपश्चिम ८५ रनमै अलआउट, लुम्बिनीका कप्तान रोहितको ह्याट्रिक
एनपीएल फाइनल : लुम्बिनीविरुद्ध पहिले ब्याटिङ गर्दै सुदूरपश्चिम
एनपीएल २ मा यी तीन खेलाडीले जिते बाइक
एसीसी यु–१९ एसिया कपः नेपाल श्रीलंकासँग पराजित
प्रतिक्रिया