शुक्रबार, वैशाख ५, २०८२

मेयर बालेनले फुटपाथमा बिच्छ्याउने टायलमा भ्रष्टाचार गरेकाे अनेरास्ववियुका अध्यक्ष बडालको दावी

मेरोन्यूज २०८१ असार २४ गते १७:३४

काठमाडौं । नेकपा एमालेको भ्रातृ संगठन अनेरास्ववियुका अध्यक्ष समिक बडालले काठमाडौं महानगरपालिकाका मेयर बालेन शाहले टायलमा भ्रष्टाचार गरेको आरोप लगाएका छन् ।

सोमबार सामाजिक सञ्जालमा स्ट्याटस लेख्दै अध्यक्ष बडालले मेयर बालेनका सल्लाहकार कुमार बेनले महानगरका फुटपाथमा बिच्छ्याउने टायलमा भ्रष्टाचार गरेपछि अख्तियारले पत्र काटेको दावी गरेका हु्न् ।

‘महानगरका फुटपाठमा बिच्छ्याउँने टायलमा पनि कुमार बेनले घोटाला गरेको भनेर अख्तियारले बालेनलाई पूर्जी काटेको छ । तर उनीहरुले पूर्जी बुझ्न मानेका छैनन्’ उनले लेखेका छन् ।

आफुविरुद्ध गुनासो आउँन नदिन बालेनले विभिन्न फेसबुक पेजहरु परिचालन गरेको पनि अध्यक्ष बडालले आरोप लगाएका छन् ।

केहीदिनअघि काठमाडौंका मेयर बालेनले एमाले अध्यक्ष केपी ओलीलाई गिरीबन्दु टि–स्टेटको जग्गा हिनामिना प्रकरणमा जोड्दै एक स्ट्याटस लेखेका थिए । उक्त १० हजार करोडको काण्ड लुकाउन जनता नझुक्काउनु भन्दै बालेनले ओलीलाई भनेका थिए ।

बालेन ओलीविरुद्ध यतिमा मात्रै रोकिएनन् । गत शनिवार बाढीले नदी किनारका सुकुम्बासी बस्तिहरु डुवानमा परेपछि बालनले फेरी एक स्ट्याटस् लखे । जसमा उनले आेलीमाथि नै कटाक्ष गरे ।

उनले लेखेका थिए :

माननीय केपी ओलीज्यू,

आज काठमाडौँमा केहि घण्टा पानी पर्दा खोला छेउ बस्ने धेरै डुबानमा परे । खोला बस्तीमा पसेको हैन, खोलाले आफ्नो बाटो खोजेको हो । आज एकदिन पानी पर्दा त यस्तो हालत छ, केही दिन लगातार पानी पर्दा के हालत हुने हो !

अनि ठुलो दुर्घटना कुन दिन आउँछ भनेर कुर्दै बस्ने हो र हामी ? उहाँहरूको जीवनसँग खेलवाड गरेर भोटको राजनीति यसरी नै सँधै गरिरहने हो ? उहाँहरूलाई उचित ठाउँमा लगेर व्यवस्थापन गर्नेतर्फ सोच्ने कि उहाँहरूलाई जसरी ३० बर्ष झुलाइसक्नु भयो, अझै अर्को ३० बर्ष पनि झुलाउने सोच बनाउनु भएको छ ?

काठमाडौँमा लगभग २००० परिवार खोला छेउमा बस्ने गरेका छन् । तपाईले पचाउँन खोज्नु भएको गिरिबन्धु’मा यस्ता १५००० परिवार व्यवस्थापन हुन सक्छ । अब त प्रधानमन्त्री नि बन्दै हुनुहुन्छ रे, त्यो पनि दुई तिहाई बहुमतसहित । अब यो समस्याको समाधान गर्नु हुनेछ भन्ने आशा लिएको छु ।

यसरी बारम्बार ओलीविरुद्ध बालेनले आराेपहरु लगाउन थालेपछि एमालेका नेताहरु उनीमाथि खनिन थालेका छन् ।

प्रतिक्रिया