लमजुङको नयाँ पर्यटकीय गन्तब्य जोडी परेवा

सुन्दरबजार (लमजुङ) । लमजुङको परेवाडाँडाको नाम सुन्नेबित्तिकै जो कोहीलाई झट्ट परेवाको प्रतीक भन्ने याद आउँछ। नभन्दै परेवाडाँडामा भएको जोडी परेवाको प्रतीक यतिबेला जिल्लाकै पर्यटकीय गन्तव्य स्थल बन्ने भएको छ।
मध्यपहाडि लोकमार्गअन्तर्गत सुन्दरबजारको खत्रीठाँटीदेखि खत्रीठाँटी–कुन्छा सडकको परेवाडाँडा–हरिया खण्डबाट एक सय मिटरको दूरीमा रहेको मणिडाँडामा जोडी परेवाको प्रतीकसहित पार्क निर्माणको कार्य थालनी गरिएको छ। सडकबाट जोडी परेवाको प्रतीकसहित भएको पार्कसम्म जान केही उकालो भए पनि बाटोमा सिँढी निर्माण गरी पैदल यात्रालाई सहज बनाइएको छ।
पछिल्लो समय ग्रामीण पर्यटकको पर्याय बन्दै गरेको लमजुङमा अर्को पर्यटकीय गन्तव्यको निर्माणसँगै परेवाडाँडाको विकासमा थप टेवा पुग्ने अनुमान गरिएको छ। उपयोग नभएको मणिडाँडामा रहेको १४ रोपनी सार्वजनिक जमिनमा करिब २०० वर्ष पुनाको आँपको बगैँचा छ। सो बगैँचाकोसमेत संरक्षण गर्नेगरी पर्यटकीय गन्तव्यका रुपमा विकास गर्ने उद्देश्यले पार्क निर्माणको थालनी गरिएको सुन्दरबजार नगरपालिका–२ का वडाध्यक्ष नवीनकुमार श्रेष्ठ बताउँछन्।
मणिडाँडालाई वनभोजस्थल र पार्कसहितको पर्यटकीय गन्तव्यका रुपमा विकास गर्ने लक्ष्यका साथ सो कार्य गरिएको वडाध्यक्ष श्रेष्ठको भनाइ छ। उनका अनुसार निर्माणाधीन पार्क परिसरमा जोडी परेवाको प्रतीक स्थापना, शहीदहरूको शालिक निर्माण, पर्यटकहरुका लागि पानी पर्दा ओत लाग्नका लागि टहरा निर्माण गरिएको छ भने मणिडाँडामा रहेको पार्क परिसरमा राष्ट्रिय झण्डा राख्नका लागि पनि छुट्टै संरचना तयार गरिएको छ।
जोडी परेवाका प्रतीक निर्माणका लागि वडा कार्यालयले चालु आवमा सात लाख रुपैयाँ बजेट विनियोजन गरेको छ। सोही स्थानमा दुई लाख रु ५० हजार खर्च गरेर शहीद मोहनलाल श्रेष्ठको शालिकसमेत निर्माण भएको छ। मणिको डाँडामा रहेको मणिको चौताराको मर्मत तथा स्तरोन्नति गर्ने र त्यहाँ नेपालको ठूलो राष्ट्रिय झण्डा राख्ने योजनासमेत वडा कार्यालयको छ।
यस स्थानमा रहेका पुराना आँपका रुखहरूको संरक्षण खाली स्थानमा वृक्षरोपण गर्नुका साथै वनभोजका लागि आवश्यकपर्ने भौतिक संरचना, शौचालय निर्माण, खानेपानीको व्यवस्था लगायतको संरचना निर्माण गर्ने कार्य छिट्टै थालनी गर्ने वडाध्यक्ष श्रेष्ठले बताए।
मणिडाँडा परापूर्वकालमा कुन्छामा पुरानो जिल्ला सदरमुकाम हुँदा सिपाहीहरूले परेड खेल्ने ऐतिहासिक ठाउँ समेत भएको र परेड खेल्ने डाँडा शब्द अपभ्रंश भई परेवाडाँडा नाम राखिएको भन्ने बुढापाकाको भनाइ रहेको स्थानीय सयपत्री बोर्डिङका प्रिन्सिपल ज्ञानेन्द्र शर्मा बताउँछन्।
यस पार्क परिसरबाट लमजुङको सुन्दरबजार, तनहुँको भानु नगरपालिका–११ को मानेचौका बजार, टुहुरेपसल, राइपाली भञ्ज्याङ, राइनास नगरपालिकाको धमिलि कुवा, राइनासकोट तथा गोरखाको पालुङटार र लिगलिगकोटकोसमेत दृश्यावलोकन गर्न सकिन्छ। वडाध्यक्ष श्रष्ठका अनुसार सो स्थानलाई प्रवद्र्धन गर्न विभिन्न प्रजातिका फलफूलका बिरुवा रोप्ने, यहाँको हटिया बजारमा कोदोबाट उत्पादन हुने रक्सीलाई प्रवद्र्धन गर्ने योजना छ।
















२७औँ फ्लोरा एक्स्पो एक करोड २२ लाखको कारोबार
C General Secretary urges govt to release Karki-led Commission’s report
न्यूयोर्कमा विमान दुर्घटना,उडानहरू प्रभावित
यामाहाद्वारा नेपालकै पहिलो हाइब्रिड मोटरसाइकल सार्वजनिक
म्याग्दीमा मार्ग खुलेको १८ वर्षपछि सडक स्तरोन्नति
राष्ट्रिय सभा सदस्य नपाएपछि प्रधानमन्त्रीका सल्लाहकारद्वयकाे राजीनामा !
इरानद्वारा डिएगो गार्सियामा क्षेप्यास्त्र प्रहारपछि किन आत्तियाे अमेरिका ?
सर्वोच्च नेता खामेनी भन्छन्- इरानका शत्रुहरूले गलत हिसाब गरे
इरान युद्ध : एक नेपालीको निधन, २० जना घाइते र सात पक्राउ
सुरेन्द्र पाण्डेको टिप्पणी- कार्यशैली परिवर्तन नगरे अर्को चुनावपछि एमाले स्कुटरमा अट्ने बन्छ
प्रतिक्रिया