मंगलबार, मंसिर १६, २०८२

टोखाको प्रसिद्ध ‘ चाकु ’ सम्बन्धि पहिलो वृत्तचित्र सानुकाजी थापाले बनाउँदै

मेरोन्यूज २०८१ साउन ३२ गते ११:०७

काठमाडौं । टोखा परम्परागत चाकु समाजले स्वास्थ्य तथा जनसंख्या मन्त्री प्रदीप पौडेलको उपस्थितिमा “टोखा चाकु वृत्तचित्र” निमार्ण गर्ने सम्झौता गरिएको छ ।

टोखा परम्परागत चाकु समाजका अध्यक्ष कृष्ण बहादुर श्रेष्ठ र बालकुमारी मुभिज हासउसका निर्देशक सानुकाजी थापा बिच “टोखा चाकु वृत्तचित्र” निर्माणमा हस्ताक्षर तथा सम्झौता गरेको हो । उक्त वृत्तचित्र नेपाली, अंग्रेजी र नेपाल भाषमा निमार्ण गरिने भएको हो ।

टोखा परम्परागत चाकु समाजका अध्यक्ष कृष्ण बहादुर श्रेष्ठले चाकुलाई नेपाल लगायत विश्व बजारसम्म पुर्‍याउन विभिन्न माध्यम प्रयोग गर्नुपर्ने भएकाले प्रचारप्रसार गर्नको लागि वृत्तचित्र निर्माण गर्न लागेको बतााएका छन् ।

स्वास्थ्य तथा जनसंख्या मन्त्री प्रदिप पौडेलले नेपाली मौलिक परम्परा संग जोडिएर रहेको ‘ चाकु ’ लाइ खद्य गुणस्तर अनुसार मापदण्डमा रहेर उत्पादन गर्न नेपाली चकलेटको रुपमा नामांकरणगरि अन्तर्राष्ट्रिय बजारमा पुर्‍याउन मन्त्रालयबाट पहल गर्ने बताएका छन् ।

टोखा र चाकु

ठेचोको खुवा, सानागाँउ को परालको सुकुल अनि लुभुको तानको कपडा भने झै टोखा चाकुको लागि प्रख्यात मानिन्छ । विशेष गरी नेवार समुदायमा माघे सङ्क्रान्ति पर्वमा चाकु खाने प्रचलन बढी छ ।

टोखामा उत्पादन भएको चाकु काठमाडौं उपत्यकामा असन, इन्द्रचोक, भक्तपुर, पाटन, कीर्तिपुर र उपत्यका बाहिरको नारायणघाट, पोखरा, बुटवल, विराटनगरलगायतका सहरमा पनि बिक्री हुँदै आएको छ । उत्पादित चाकु जापान र अष्ट्रेलियालगायतका देशमा समेत उत्तिकै माग छ ।

उद्योगमा सादा चाकु, मसला चाकु, स्पेसल चाकु, सेतो लड्डु, कालो लड्डु, बम्बे लड्डु, पुष्टकारी, भुजा लड्डु, बदाम लड्डुुलगायत उत्पादन भइरहेका छन्। टोखा’ नामको विषयमा किंवदन्ती छ। पहिला गाउँमा ठूलो फाँट थियो जहाँ उखु खेती गरिन्थ्यो। नेपाल भाषामा ‘टु’को अर्थ उखु र ‘ख्यः’को अर्थ फाँट। त्यसैले बस्तीलाई ‘टुख्यः’ भनिन्थ्यो। टुख्य भन्दाभन्दै अपभ्रंस भएर टोखा भन्न थालियो।

त्यतिबेला गाउँमा उखुको धेरै खेती हुन्थ्यो। र उखुबाट चाकु बनाइन्थ्यो। ‘उखुको रसलाई पकाएर सख्खर बनाइन्थ्यो। अनि सख्खरबाट चाकु। अहिले बस्तीमा उखु खेती त छैन तर चाकु बनाउने काम भने निरन्तर भइरहेको छ। चाकु बनाउने सख्खर भने तराईबाट ल्याइन्छ।

चाकु बनाउन ठूलो फोसी (भाँडा)मा सख्खरपानी उमालिन्छ। त्यो लेदो बाक्लो भएपछि भाँडोमा खन्याइन्छ। चिसो हुन थालेपछि ढुङ्गाले कुट्नुपर्छ। अनि एउटा खम्बामा झुन्ड्याइएको किलामा अड्याएर तानिन्छ। त्यसपछि विभिन्न आकारमा ढालिन्छ।

यहाँको चाकु उद्योगलाई संरक्षण गर्न वि.सं २०७३ कात्तिक २२ गते ‘टोखा परम्परागत चाकु संरक्षण समाज’ स्थापना गरिएको छ।

सांस्कृतिक नगरी

चाकुको सहर भनेर चिनिने टोखा सांस्कृतिक नगरी पनि हो। नेवार बस्ती टोखा (१,४०० मिटर) मा विभिन्न धार्मिक सम्पदाहरू छन्। सपन तीर्थ, चण्डेश्वरी, भूतखेल, भीमसेन मन्दिर, तलेजु मन्दिर, बज्रयोगिनी, गणेश, संकटामाई, मसानकालीलगायत पाइलै पिच्छे मठमन्दिर, पाटीपौवा, पोखरी, चैत्य र ढुङ्गे धारा छन्। यहाँ विभिन्न पर्वहरू पनि मनाइन्छ। सांस्कृतिक नाचगान गरिन्छ।

टोखा लिच्छविकालमै व्यवस्थित बनेको थियो। यहाँ लिच्छवी संवत ५१९ लेखिएको शिलालेख पनि छ। यहाँ मात्र नाचिने नाचहरूमा ‘याप्याखँ’ र ‘नागप्याखँ’ हुन्। लाखे नाचका लागि समेत टोखा प्रख्यात छ। त्यसैगरी यहाँ हरेक वर्ष बिस्काः जात्रा पनि मनाइन्छ।

केही वर्ष अगाडि झोर महाँकाल गाविस, धापासी, गोगंबु, टोखा चण्डेश्वरी गाविस र टोखा सरस्वती गाविस मिलेर ‘टोखा नगरपालिका’ बनाइएको छ। यसको पूर्वमा बूढानिलकण्ठ, पश्चिममा तारकेश्वर, उत्तरमा शिवपुरी राष्ट्रिय निकुञ्ज र दक्षिणमा काठमाडौ पर्दछन्।

टोखा एउटा खुला संग्रहालय पनि हो। प्राचीन नेवार बस्ती भएकाले नेवा समुदायको रहनसहन, कलासंकृति र परम्परा आदिको अध्ययन गर्न उपयुक्त छ।

कृषि कर्ममा व्यस्त छन् टोखाबासी। त्यति मात्र होइन, उनीहरू कलात्मक घर बनाउने काममा पोख्त छन्। शिवपुरी निकुञ्जको काखमा रहेकाले यहाँको वातावरण स्वच्छ छ। टोखालाई काठमाडौंको ‘उत्तरी ढोका’ पनि भनिन्छ। उहिलेउहिले काठमाडौंका नेवार व्यापारको सिलसिलामा तिब्बतसम्म ओहोरदोहोर गर्दा काठमाडौं खाल्डोबाट बाहिर निस्कने र भित्र आउने ढोका पनि टोखा नै थियो।

वृत्तचित्र निर्माता सानुकाजी थापा को हुन् ?
काठमाडौ जिल्ला, तारकेश्वर नगरपालिका वडा–१, तत्कालीन साङ्ला गा.वि.स. निवासी श्री सानुकाजी थापाले २०५९ सालबाट अन्तर्राष्ट्रिय वृत्तचित्र निर्देशकहरु श्री ध्रुब बस्नेत तथा श्री मोहन मैनालीको प्रेरणाले भिडियो पत्रकारीता सुरू गरेका हुन् ।

जिवनको दुई दशक भिडियो पत्रकारीता बिताएका थापाले थुप्रै अन्तर्राष्ट्रिय पुरस्कार विजेता डकुमेन्ट्रीहरुमा काम गरिसकेका छन् ।

उनले काम गरेका वृत्तचित्रहरू ध्रुब बस्नेत तथा मोहन मैनालीले निर्माण तथा निर्देशन गरेका रातो मछिन्द्रनाथ, Love for a Longer Life, (रक्ताम्य गहराहरु) The Killing Terrace_ Six Stories, Schools in the Crossfire, बरू मर्न पाएको भएजाती, जोगिमाराका लाएतका अन्तर्राष्ट्रिय स्तरको वृत्तचित्रमा काम गरिसकेका थापाले २०६० मा सालमा आफ्नै निर्देशनमा बनेको बिष्केट जात्रा अफ टोखा नेपाल पर्यटनवोेर्डले आयोजना गरेको एसियन वृत्तचित्र प्रतियोगिता प्रथम पुरस्कार हाँसिल गरेको, सोही वृत्तचित्रले गोपिकृष्ण फिल्म फेस्टिबलमा दर्शक अवार्ड प्राप्त गरेको थियो।

२०६१ सालमा झोर, झरना र पर्यटन नामक वृत्तचित्र निर्माण गरि साविक झोर मंहाकाल गाविस हाल टोखा नपा–१ लाई चिनउने काम गरेका छन् ।

सानुकाजी थापाले बनाएको “बालुवमा अड्केको सास” ले २०६४ सालमा भारतमा सम्पन्न जिविकोपार्जन सम्बन्धि वृत्तचित्र महोत्सवमा तेस्रो स्थान हाँसिल गर्न सफल भएको थियो । यसै गरि नुवाकोटको वलामि जातिमा हुने बाल विवाहलाई समेटेर ञद चाईल्ड म्यारिज अफ कागति गाउँ ञ २०७९, झोरमा रहेको जलेश्वर झरना वृत्तचित्र निर्माण गरि पिम नेपाल फिल्म फेस्टिबलमा उत्कृष्ट वृत्तचित्रको अवार्ड जित्न सफल भएका थिए ।

प्रतिक्रिया