बिहीबार, चैत ५, २०८२

एनआरएनएले बाढी प्रभावितका लागि १ करोड रुपैयाँ सहयोग गर्ने

मेरोन्यूज २०८१ असोज १४ गते १४:१०

काठमाडौँ । अविरल वर्षाका कारण देशका विभिन्न भागमा आएको बाढी, पहिरो, र डुबानबाट प्रभावितहरूलाई गैरआवासीय नेपाली संघले (एनआरएनए) १ करोड रुपैयाँ सहयोग गर्ने निर्णय गरेको छ । 

Advertisement
nepal life insurencenepal life insurence

नेपाली समयअनुसार आइतबार राती बसेको संघको बैठकले बाढी प्रभावितका लागि १ करोड रुपैँया सहयोग गर्ने निर्णय गरेको हो ।बैठकले उपाध्यक्ष एवं परोपकार तथा मानव कल्याण  विभागका प्रमुख डा.हेम राज शर्माको संयोजकत्वमा समिति गठन गरी आर्थिक सहायता संकलन गर्न निर्देशन दिएको छ । 

समितिमा संघका विभिन्न पदाधिकारीहरु, क्षेत्रीय संयोजकहरू, तथा राष्ट्रिय समन्वय परिषद्का अध्यक्षहरु समेतलाई संलग्न गराइएको छ । बैठकमा अध्यक्ष डा.केसीले राष्ट्रिय समन्वय परिषद्हरूको सहकार्यमा  आर्थिक सहयोग संकलन गरेर बाढी प्रभावित क्षेत्रमा राहत वितरण गर्ने उल्लेख गरे । 

बैठकले विपद् प्रभावित क्षेत्रको क्षति अध्ययन गर्न उपमहासचिव सोम सापकोटा र सहकोषाध्यक्ष कृष्ण तिमल्सिना संलग्नतामा समिति गठन गरेको छ । समितिले आफ्नो प्रतिवेदन अन्तर्राष्ट्रिय समन्वय परिषद् बैठकमा प्रस्तुत गर्नेछ । 

पदाधिकारी बैठकको निर्णय कार्यान्वयन तथा आर्थिक सहयोग संकलनका लागि आज साँझ आपतकालिन बैठक आवहन गरिएको छ। यसैबीच बैठकले वर्षाका कारण उत्पन्न विपद्का घटनामा ज्यान गुमाएकाहरूलाई श्रद्धाञ्जली व्यक्त गर्दै, शोकाकुल परिवारजनप्रति गहिरो समवेदना व्यक्त गरेको छ ।

प्रतिक्रिया