यी हुन् ‘जटिल डेंगी’ का पूर्वसंकेत

बिदाको दिन सामान्यतय म तरकारी किन्न तरकारी बजार जाने गर्दछु। अनि फर्कंदा सार्वजनिक गाडीमा/बसमा फर्कने गर्दछु। केही दिनअगाडि मेरो ठीक पछाडिको सिटमा एक जोडी ज्वरो अनि टाउको, जीउ असाध्य दुखेको, खानामा अरुचि भएको भन्दै कुरा गर्दै थिए।
अर्कोले भन्दै थियो- सायद डेंगी पो हो कि? भोलि चिकित्सकसँग परामर्श गरेर रगतको जाँच गराउनु पर्ला भन्दै बिरामीले भन्दै थिए। त्यस्तै अस्ति बिहानै कोठाको झ्यालबाहिर दुई व्यक्ति (सायद बिहानी हिँडाइमा थिए) ज्वरो अनि जीउ दुखेको भन्दै डेंगी लागेको शंका गर्दै थिए।
यसबाट हाल समुदायमा डेंगी फैलिएको देखिन्छ।
डेंगी सुरुवा रोग हैन तर यो लामखुट्टेको टोकाइबाट सर्ने र फैलने गर्छ। डेंगी लक्षणहरूका बारेमा चर्चा हुने गरेको देखिए तापनि अधिकांश संक्रमित लक्षण बाकेर नै आफ्नो कार्यक्षेत्रमा खटिरहेका पनि देखिन्छन्। कतिपय भने घरमा नै आराम गरेर स्वास्थलाभ गरिरहेका अवस्था छ।
डेंगीका लक्षणबारे धेरै सुनेको र व्यापक प्रचार भएको पनि देखिन्छ तर जटिलता निम्त्याउन सक्ने संकेतबारे भने कमैलाई थाहा भएको देखिन्छ। सन् २०२२ मा अधिकांश डेंगीबाट मृत्यु भएकाहरू भर्ना हुँदा नै जटिल डेंगी लिएर आएका तथ्यांक देखिन्छ। तर हामीले विगतमा देखिएका कमीकमजोरीबाट सिकेर आगामी दिनमा डेंगीको मृत्युदर घटाउने कोसिस गर्नुपर्दछ। यसर्थ डेंगी मृत्युदर वा जटिलता घटाउने एक मुख्य उपायमध्ये ‘जटिल डेंगी’ का पूर्वसंकेतबारे थाहा पाउनु पनि आवश्यक छ।
अधिकांश डेंगी संक्रमितमा सुरुमा ‘फेब्राइल फेज’ देखिने गर्दछ। यसमा मुख्यतया टाउको दुख्ने, जीउ दुख्ने, जोर्नी वा मांसपेशीका दुख्ने र खाना खान पटक्कै मन नलाग्ने हुन्छ। त्यस्तै, ज्वरो आउने, आँखाको गेडी दुख्ने वा खस्लाजस्तो हुने, शरीरमा ससाना राता बिमिरा देखिने, पखाला लाग्नेजस्ता समस्या पनि देखिने गर्छन्।
कतिपयलाई खोकी पनि लागेको देखिन्छ। तर खोकी डेंगीको कारणले हो वा फ्लु भाइरसले गर्दा हो भनेर छुट्याउने गरेको भने देखिँदैन। वास्तवमा हाल फ्लुको सिजन पनि हो भने कोभिडको संक्रमण पनि सँगसँगै देखिएको छ। ‘फेब्राइल फेज’ औसतमा झन्डै आठदेखि १० दिनमा देखिने गर्दछ। ज्वरो घटेको २४ देखि ४८ घण्टा बिरामीमा ‘जटिल डेंगी’ देखिने सक्ने सम्भावना प्रबल रहन्छ।
‘जटिल डेंगी’का पूर्वसंकेतहरू के के हुन् त?
-तारन्तार बान्ता हुनु,
-असाध्य पेट दुख्नु,
-नाक वा गिजाबाट रगत बग्नु,
-बेचैनी हुनु वा अत्यन्त कमजोर हुनु आदि।
माथि उल्लिखित लक्षण वा संकेत घरमा संक्रमित भएर बसिरहेका बेला देखिन वा थाहा पाउन सकिन्छ। तसर्थ, यस्ता संकेत देखिए तुरुन्त स्वास्थ्य केन्द्र वा अस्पतालमा जानुपर्दछ। अस्पतालमा जाँच गर्दा थप संकेत देखिने गर्छन्। परीक्षणबाट कलेजो आकार बढेको वा सुन्निएको तथा छाती वा पेटमा पानी भए/नभएको थाहा हुन्छ। रगतको जाँच गर्दा प्लेटेलेट्स तीव्र गतिमा घट्नु र हेमाटोकृत बढेको देखन्छ। डेंगीको संक्रमण भएको बिरामीलाई कमजोरी अनुभव हुन्छ। डेंगी लागेपछि रगतमा प्लेटलेट्सको सङ्ख्या तीव्र रूपमा घट्न थाल्छ। यस्तो अवस्थामा औषधिका साथसाथै खानपान र सही दिनचर्या आवश्यक हुन्छ।
सन् २०२२ सालमा काठमाडौँमा देखिएको डेंगी प्रकोपले सबैभन्दा धेरै मानिसको ज्यान लिएको थियो। यो प्रकोपलाई कोभिड-१९ को घातक लहरहरूभन्दा खासै फरक महसुस नगरे वा तुलना गरिएको थियो। काठमाडौँका लागि सन् २०१९ पछिको दोस्रो ठूलो प्रकोप (धेरैलाई अस्पताल आउनुपर्ने बाध्यता गराएको कारण) थियो।
अनि नेपालको इतिहासमा नै ‘घातक डेंगी’ वर्षका रूपमा मैले सन् २०२२ लाई लिएको थिएँ। यसमा विशेषतः ज्येष्ठ नागरिक अनि दीर्घरोगीहरू जस्तै : उच्चरक्त चाप, मधुमेह र श्वासप्रश्वासको संक्रमण भएका व्यक्तिहरू बढी डेंगीको जटिलताबाट मृत्यु भएका थिए। मनसुनको समयमा डेंगी सँगसँगै देखिने अरू संक्रामक रोगले डेंगीका लक्षणलाई थप जटिल बनाउन सहयोगी भूमिका खेल्ने विभिन्न अध्ययनका नतिजाले देखाएका छन्।
नेपालमा डेंगी सँगसँगै चिकुनगुनिया भाइरस, स्क्रब टाइफस, फ्लुजस्ता थप संक्रमण फैलने गर्दछ। यसर्थ, ज्येष्ठ नागरिक, सहसंक्रमित वा उच्च रक्तचाप, मधुमेह र श्वासप्रश्वास (दीर्घ वा हालै संक्रमित भएको अवस्था) समस्या भएका व्यक्तिहरूले ‘जटिल डेंगी’का पूर्वसंकेतलाई कुर्नै वा देखिनु नै पर्छ भन्ने छैन। यस्तो अवस्थामा चिकित्सकको निरन्तर सम्पर्कमा रही आफ्नो स्वास्थ अवस्थाबारे जानकारी लिनु अति बुद्धिमानी हुनेछ। डेंगीबाट बच्नु भनेको यस्ता लामखुट्टेको टोकाइबाट बच्नु नै हो। किनभने यसको टोकाइ एवं संक्रमण निकै घातक हुन सक्छ।
दसैँअगाडि डेंगीले गति लिँदै गइरहेको अवस्था थियो। दसैँलगत्तै अस्पतालमा जाँदा डेंगी पुष्टि भएका बिरामीहरूको संख्या अझ बढ्दै गइरहेको पाइएको छ। यसबाट दिनमा नै दर्जनौँ डेंगी भाइरस पुष्टि हुने क्रमले निरन्तरता पाइरहेको अवस्था देखिन्छ। हुन त काठमाडौँ मात्र नभई देशका विभिन्न ठाउँमा डेंगीले व्यापक प्रभाव पारेको जानकारी आउने क्रम जारी छ। डेंगीको यो रफ्तारमा सम्भवतः तत्काल रोकिने सम्भावाना अत्यन्त न्यून देखिन्छ।
चाखलाग्दो कुरा के छ भने अधिकांश डेंगी संक्रमित लक्षण लिएर घरघरमा बसिरहेको वा कार्यक्षेत्रमा निरन्तर खटिरहेका देखिन्छन्। अझ भनौँ धेरै मानिस ‘वाकिङ डेंगी’को अवस्थामा रहेको देखिन्छ। ‘वाकिङ डेंगी’ भन्नाले डेंगी संक्रमित भई निरन्तर आफ्नो दिनचर्यालाई निरन्तरता दिइरहेको अवस्थालाई भन्न खोजेको हो।
चाडपर्वमा मान्छेहरू यसको लक्षणलाई नजरअन्दाज गर्दै आउजाउ, भेटघाट गरिरहेका छन्। किनभने डेंगीका सामान्य लक्षण आम समस्यासँग मिल्दाजुल्दा हुन्छन्। यस्तो अवस्थामा मान्छेहरू सामान्य समस्या ठानेर आफूखुसी औषधिसमेत खाँदै हिँड्डुल गरिरहेका हुन्छन्। जब समस्या जटिल बन्दैन, तबसम्म उनीहरू अस्पताल पुग्दैनन्।
अधिकांशलाई डेंगीको लक्षण देखिएको ८/१० दिनमा स्वास्थ्यमा सुधारोन्मुख देखिन्छ भने केहीमा डेंगीले जटिल अवस्था सिर्जना गर्न सक्दछ। तसर्थ ‘जटिल डेंगी’का पूर्वसंकेत संक्रमितले थाहा पाउन अति आवश्यक देखिन्छ र सो देखिए तुरुन्त चिकित्सकसँग सम्पर्क गर्न सक्छन्।
हाल डेंगी संक्रमणको लहर रोक्न विभिन्न कारण चुनौती रहेको भए तापनि ‘जटिल डेंगी’का पूर्वसंकेतलाई ध्यान दिनसक्ने हो भने डेंगीबाट हुनसक्ने मृत्युदरलाई उल्लेखनीय संख्यामा कम गर्न सकिन्छ। हालसम्म रेडियो, टेलिभिजन, पत्रपत्रिका तथा सामाजिक सञ्जालमा डेंगी के हो, कसरी सर्छ र यसका लक्षणबारे जानकारी दिने गरेको देखिए तापनि अबको प्रचारप्रसार तथा जानकारी ‘जटिल डेंगी’का पूर्वसंकेतबारे केन्द्रित हुनुपर्ने देखिन्छ। यसबाट डेंगीबाट हुने मृत्युदरलाई उल्लेखनीय रूपमा कम गर्न सकिनेछ। यो नै अहिलेको प्रमुख आवश्यकता र सघन माग पनि हो।
(लेखक शुक्रराज ट्रोपिकल तथा सरुवा रोग अस्पतालको क्लिनिकल रिसर्च युनिटका संयोजक हुन्।)
प्रतिक्रिया