मंगलबार, चैत ३, २०८२

जलेश्वरमा धान खेतीको विकल्पमा सिंघारा खेती

मेरोन्यूज २०८१ कार्तिक ५ गते १७:५४

जलेश्वर । बर्सेनि धानखेती डुबानमा परेर हैरानी भोगेका जलेश्वरसहित वरपरका सयौँ किसान वैकल्पिक रूपमा सिंघारा खेतीतर्फ आकर्षित हुँदै गएका छन् । प्रत्येक वर्ष रोपेको धानबाली डुबेर आर्थिक क्षति भइरहेकाले थोरै लगानी र कम मेहनतमा मनग्य आम्दानी हुने भएकाले किसानहरू सिंघारा खेतीतर्फ आकर्षित हुँदै गएका हुन् ।

Advertisement
nepal life insurencenepal life insurence

धानखेती डुबानमा परेर समस्या हुने र सिंघारा खेतीमा कम मेहनत गरेर राम्रो आम्दानी हुने भएकाले यहाँका सयौँ बिघामा पानी जमेको जग्गामा अहिले सिंघारा (फल) खेती गरिएको जलेश्वर नगरपालिका–१ का किसान भोगिन्द्र पासवानले बताए। उनका अनुसार जमेको पानीमुनी लहरामा फल्ने सिङ्घारा एक प्रकारको गुलियो र सुन्दर फल हो । जुन स्वास्थ्यका लागि शीतल र पौष्टिक भएकाले स्थानीयस्तरमा निक्कै लोकप्रिय छ ।

यस वर्ष भारी वर्षाका कारण जताततै पानी जमेको हुनाले जलेश्वर नगरपालिका र वरिपरिका गहिरो खेत, तलाउ र पोखरीमा ठूलो मात्रामा (काँडेदार गुलाफी रङ्गका सुन्दर र मिठो फल ) सिंघारा खेती गरिएको छ ।

जलेश्वर– ६ का किसान गोपी मुखियाले डुबानबाट आजित भएपछि पानी जम्ने क्षेत्रका धेरैजसो किसान यस खेतीतर्फ आकर्षित भएको बताए ।

यसवर्ष वर्षौदेखि बाँझो रहेको जलाशयमा पनि एक सय ५० बढी घरपरिवारले सिङ्घारा खेती गरेका जलेश्वर–२ का किसान भोला मुखियाले जानकारी दिए।

सिंघारा प्रत्येक वर्ष असोज महिनादेखि नै तयारी हुन्छन् भने स्थानीय बजारमा आकार हेरेर प्रतिकिलो रु १०० देखि एक सय ६० सम्म बिक्री हुने गरेको र यसबाट आफूहरूले प्रत्येक वर्ष राम्रो आम्दानी गरिरहेका जलेश्वर– ३ का किसान रामु सहनीले बताए।

मिथिालाञ्चलभरि पूजाआजामा प्रसादका रूपमा प्रयोग हुने सिंघारा बालबालिका, बुढापाका र पेटका रोगीले बढी मन पराउने गरेका जलेश्वर– ८ का किसान कलमुद्दिन राईनको भनाइ छ ।

सिङ्घारा खेतीमा लागेको किसान स्थानीय बजारदेखि सीमापारीका भारतीय बजारमा लगेर पनि सिंघारा बेचेर प्रतिकिसान रु दुई देखि तीन लाखसम्म आम्दानी गर्ने गरेको स्थानीय महादेव मुखियाले बताए।

जलेश्वर उद्योग वाणिज्य सङ्घका महासचिव शिवचन्द्र चौधरीले सिंघारा खेतीलाई प्रवर्द्धन गर्नुपर्ने र मौसमी उद्योगकै रूपमा विकास गर्नुपर्ने बताए। उनले यस फलको खेती गर्ने किसानका लागि उद्योग वाणिज्य सङ्घले आगामी दिनमा विशेष प्याकेजसहितको कार्यक्रम ल्याउनेसमेत बताए।

प्रतिक्रिया