मेची–महाकाली राष्ट्रिय उद्धार अभियानअन्तर्गत एक सय २८ सडक आश्रितको उद्धार

लुम्बिनी। मानव सेवा आश्रमको मेची–महाकाली राष्ट्रिय उद्धार यात्रा अभियानका क्रममा एक सय २८ सडकआश्रित मानवको उद्धार गरिएको छ। अभियानकै क्रममा लुम्बिनी प्रदेशका जिल्लाहरुबाट भने हाल सम्म २८ जनाको उद्धार गरिएको मानव सेवा आश्रमका केन्द्रीय अध्यक्ष रामजी अधिकारीले जानकारी दिए। लुम्बिनी प्रदेशको रुपन्देही, बाँके र दाङ जिल्लामा मानव सेवा आश्रम सञ्चालनमा छन्।
झापाको मेची पुलबाट सुरु भएको उद्धार अभियानको टोली १३औँ दिनमा आज लुम्बिनी प्रदेशको राजधानी स्थल राप्ती उपत्यका देउखुरी आइपुगेको हो। लुम्बिनी प्रदेशको राजधानी पुगेको टोलीलाई मुख्यमन्त्री तथा मन्त्रिपरिषद् कार्यालयमा आज मुख्यमन्त्री चेतनारायण आचार्यले स्वागत तथा सम्मान गरे।
त्यस अवसरमा मुख्यमन्त्री आचार्यले लुम्बिनी प्रदेशलाई आगामी वर्ष सहयोगापेक्षी सडकआश्रित मानवमुक्त प्रदेश बनाउन सरकारले अठोट लिएको बताए। चालु आर्थिक वर्षको नीति तथा कार्यक्रममा समेत यस विषयलाई प्राथमिकताका साथ सम्बोधन गरेको जानकारी दिँदै उनले आगामी वर्ष प्रदेशलाई सहयोगापेक्षी, सडकआश्रित मानवमुक्त घोषणा गर्नेगरी कार्यक्रम अघि बढाउने बताए।
मुख्यमन्त्री आचार्यले मानव भएर मानवको हिसाबले बाँच्न पाउने अधिकार सुनिश्चित गरिने बताएका छन्। ‘यहाँहरुले थालेको अभियानमा प्रदेश सरकारको साथ सहयोग छ । मानव भएर मानवको हिसाबले बाँच्न पाउनुपर्छ’, उनले भने, ‘प्रदेश सरकार यस अभियानमा साझेदारी गर्न चाहन्छ । हामी आउने वर्ष लुम्बिनी प्रदेशका सडकमा बास बस्ने मानिस नरहने गरी सडकआश्रित मानवमुक्त प्रदेश घोषणा गरेर अघि बढ्छौँ।’
मुख्यमन्त्री आचार्यले टोलीमा सहभागी आनीछोइङ डोल्मा फाउन्डेसनका अध्यक्ष तथा चर्चित गायिका आनीछोइङ डोल्मा, मानव सेवा आश्रमका अध्यक्ष रामजी अधिकारीलाई सम्मान गरे।
सडकपेटी र सार्वजनिकस्थलमा कष्टपूर्ण जीवन बिताइरहेका सडक आश्रित सहयोगापेक्षीहरूको उद्धारका लागि मानव सेवा आश्रमले हरेक वर्ष मेची–महाकाली राष्ट्रिय उद्धार यात्रा गर्दै आएको छ। यात्रामा ५० जना यात्री अर्थात् उद्धारकर्मीहरु रहेका छन्। मानवसेवा आश्रमको सातवटा प्रदेशका १९ जिल्लामा २५ वटा सेवा केन्द्र सञ्चालनमा छन्। उद्धार यात्राको खर्च आनीछोइङ डोल्मा फाउन्डेसनले सौजन्य गरेको छ। आश्रमले आगामी वर्ष अर्थात् २०८२ सालभित्र नेपाललाई सडकपेटी र सार्वजनिकस्थलहरुमा कष्टपूर्ण जीवनयापन गर्न नपर्ने मानिसहरूको देश निर्माण गर्ने संकल्प गरेको छ।











कांग्रेस सभापति देउवा र सञ्चारमन्त्री खरेलबीच निर्वाचनबारे छलफल
दुर्घटनामा मोटरसाइकल चालकको मृत्यु
बंगलादेश प्रिमियर लिगमा आज सन्दीपको टिमले पहिलो खेल खेल्दै
आगलागीबाट दुई जना घाइते, तीन घरमा क्षति
मुग्लिनमा आजदेखि सुन्तला महोत्सव
राष्ट्रपतिको पहलमा पहिलोपटक प्रधानमन्त्री कार्की, देउवा, ओली र प्रचण्डबीच छलफल हुँदै
आज २०८२ साल पुस १० गते बिहीबारको राशिफल
महोत्तरी-४ बाट पनि प्रचण्डको नाम उम्मेदवार सिफारिस
बयानपछि तत्कालीन गृहसचिव, आईजी र काठमाडौंका सीडीओको स्थानहद फुकुवा
लिबियाका सैन्य प्रमुखको टर्कीमा विमान दुर्घटना परि मृत्यु
प्रतिक्रिया