जब स्कुलबाट भागेर टिकापुरमा पहिलोपटक आएको जहाज हेर्न गयौँ…

काठमाडौँ । आज कात्तिक १२ गते टीकापुरमा जहाजको परीक्षण उडान हुँदा मैले विगतमा टीकापुरमा पहिलो उडान भएको घटनालाई ईतिहास बनाएर यसरी स्मरण गरेँ ।
२०४१/४२ सालतिर म ६/७ कक्षामा पढ्थेँ । ४१ मा हो या ४२ सालमा हो अहिले साल बिर्सेँ । त्यसबेला टीकापुरमा एयरपोर्ट बनिसकेको थियो र अब टीकापुरमा जहाज आउँछ भनेर व्यापक चर्चा चल्ने गरेको थियो ।
जहाज कस्तो होला रु हाम्रो कल्पनाभन्दा बाहिरको कुरो थियो । धेरैमाथि सायद धनगढी विमानस्थल या महेन्द्रनगर विमानस्थलमा गएको हो या काठमाडौबाट दिल्ली गएको हो कैलेकाहीँ जहाज देखिन्थ्यो आकाशमा । आवाज त सुनिन्थेन तर सेतो सेतो चरा जस्तो माथि उडेर गैरहेको त्यो बस्तुलाई कसैले जहाज भन्थ्यो भने स्थानीय थारु भाषामा चीलजस्तै माथिमाथी उड्ने गाडी भएकोले होला स्थानीय थारु भाषामा त्यसलाई चीलगाडी भनिन्थ्यो सायद र हामी त्यही चीलगाडीलाई आकाशमा हेर्ने गर्थ्यौं ।
हुँदा हुँदा हामी टीकापुरेलाई साल बिर्सेपनि २०४१/४२ सालतिर त्यही चीलगाडी हेर्ने अवसर जुरेको थियो । साल र महिना बिर्सेपनी र कति कुरा याद छ भने त्यो दिन स्कुल लागेको समय थियो, ईन्टरबल पछिको कक्षा चलिरहेको थियो हाम्रो स्कूलक नजिकै एक तमासको घ्वाँआआआ आवाज आउँदा हामी सबै विद्यार्थी कक्षा छोडेर कक्षा बाहिर निस्केर त्यो आवाजलाई नियाली रहेका थियौं ।
त्यो आवाज जति नजिक आउँदै थियो त्यति नै त्यसको आवाजको ध्वनि झन झन ठूलो हुँदै जाने र आकाशमा सानो चरा जत्रो देखिने त्यो आकार नजिक आएपछि ठूलो ठूलो हुँदै बडेमानको देखिन थालेको थियो ।
हामी ६/७ मा पढ्ने विद्यार्थी कुनै सरले लौ जहाज आयो भने पछि चीलगाडी भनेको यही जहाज रहेछ भनेर केही अचम्मित,केही रमाइलो र केही कौतुहलतामा चुर्लुम्म भएका थियौ हामीहरु ।
सारा स्कुल चौरमा जम्मा भएको थियो । सरहरुले कक्षामा विद्यार्थीहरुलाई रोक्ने हिम्मत नै गर्न सक्नु भएन । त्यसबेला वीरेन्द्र विद्या मन्दिरमा १ कक्षादेखि १० कक्षासम्म २००० भन्दा बढी विद्यार्थीहरु अध्ययनमा रहन्थे भने सायद त्यो दिन स्कूलमा आएका सबै विद्यार्थीहरु कक्षा छोडेर चौरमा जम्मा भएका थिए त्यो नौलो वस्तु जुन टीकापुरको लागि सर्वथा नयाँ थियो त्यसलाई हेर्न कुनै पनि शिक्षकहरुले कक्षामा विद्यार्थीलाई रोक्न सक्नु भएन ।
प्लेन एयरपोर्टमा बस्न भन्दा अगाडि नै हामीभन्दा ठूला कक्षाका विद्यार्थीहरु एयरपोर्ट तिर दौडिन थालेपछि हामी ६/७ मा पढ्ने विद्यार्थीहरुपनि सरहरुको आवाजको वास्ता नराखेर ठूला विद्यार्थीहरुपछि पछि दौडियौ । अहिलेको जस्तो मोबाइलको जमाना भैदिएको भए त्यो क्षण गजबको भिडियो र टिकटकको क्लिपहरु बन्न सक्थ्यो ।
हामी स्कूलबाट एयरपोर्ट करीब साँढे तीन किलोमिटर जति पर्छ होला हस्याङ्ग फस्याङ्ग गर्दै दौडिएका थियौ । हामी पुग्दा टीकापुर एयरपोर्टमा जहाज हेर्न करीब १०औं हजारको संख्यामा मानिसहरुको भीड भैसकेको थियो । करीब १ कि.मी. लमाई भएको त्यो एयरपोर्टको चारै तिर मानिसहरुको भीड र ठेलमठेलमा हामीले मान्छेको टाङ्ग मुनि छिरेर हुन्छ कि धकेलेर हुन्छ जेन तेन त्यो जहाजलाई हेर्न पाएका थियौं ।
एयरपोर्ट पुगेर जहाज हेर्न भ्याएको एक दुई मिनेट पनि भएको थिएन होला हाम्रो स्कूलको प्रीन्सिपल थोमस बर्गीस सरले बडेमानको लठ्ठी ल्याएर स्कूलबाट भागेर जहाज हेर्न आएका हामी विद्यार्थीहरुलाई पुन स्कुल फर्काउनलाई आउनु भएको थियो । त्यो बेलाका हामी विद्यार्थीहरु एउटै वर्गीस सरलाई देक्यौ भने २ हजार विद्यार्थी पनि लुग लुग काँप्ने गर्थ्यौ र त्यही भएर होला वर्गीस सर लाठी लिएर आएको थाहा पाउने बित्तिकै हामी सबै विद्यार्थीहरु जहाज हेर्न छोडेर जहाजको गतिभन्दा बेगमा स्कुल पुगेका थियौं । स्कुल पुगेर वर्गीस सरले हामी विद्यार्थीहरुलाई पढ्न छोडेरजहाज हेर्न गएको विषयमा धेरै गाली गर्नु भएको थियो । गजबको डर थियो त्यो बेला हामीलाई वर्गीस सरसँग ।
त्यसपछी हामी कहिले स्कुल समयमा जहाज हेर्न एयरपोर्ट गएनौ । शनिबारको दिनमा या विदाको दिनमा जहाज आउने दिनमा हामी जहाज हेर्न जान्थ्यौ ।
त्यो दिनको उडान सायद परीक्षण उडान थियो । र त्यसपछि नियमित उडान हुन थाल्यो टीकापुरमा । काठमाडौ नेपालगञ्ज धनगढी र साँफेवगर । हप्तामा सेड्युल अनुसार र हामीलाई जहाज आउने दिन पहिले नै थाहा हुन्थ्यो आज जहाज आउँछ भनेर । र विदाको दिन पर्यो भने अरुकाम छोडेर हामी जहाज हेर्न एयरपोर्ट तिर हुन्थ्यौ । करीब एक वर्ष सम्म त टीकापुरमा जहाज आउने दिनमा एयरपोर्ट वरपर मेला झै हुन्थ्यो ।
जहाज आउनुभन्दा एक घन्टा अगाडि देखि जहाज उडेर आँखाले देख्न छोडेपछी मात्र हामी घरतिर लाग्थ्यौं । त्यो बेलाको जहाज शाही नेपाल वायु सेवा निगम अर्थात Royal Nepal Airlines corporation (शा.ने.वा.नी.)को मात्र हुन्थ्यो अहिलेको जस्तो विभिन्न कम्पनीका जहाज थिएनन् ।
सेतो रङ्गको जहाज जहाजको बाहिर शाही नेपाल वायुसेवा निगम लेखेको हुने र प्यासेन्जर बाहेक अरु जहाजको वरपर जानपनी नपाइने,एयरपोर्टको तारबार बाहिरबाट जहाज हेर्नुपर्ने ती दिनहरु गजबका रमाइला दिन थिए।
कच्ची एयरपोर्ट, जहाजको पंखाले धुलो उदाउँदा त्यो धुलो उडेर हामी बाहिर बसेको ठाउँमा आउँदा पनि हामीलाई रमाइलो हुन्थ्यो । जब जहाज ल्याण्ड गरेर जहाजको पंखा बन्द भएर धुलो बसी सकेपछि जहाजबाट सेतो सर्ट, कालो पेण्ट र कालो चश्मा लगाएको पाइलट जमिनमा पाइला टेकेर प्लास्टिकको कपमा चिया या कफी खाइरहेको देखिन्थ्यो त्यो बेला हामी पाइलटलाई कुनै नायक भन्दा कम देख्दैन थियौं ।
त्यो बेला टीकापुरमा आउने जहाज १९ सीटको हुन्थ्यो र त्यो जहाजलाई ट्वीनअटर भनिने रहेछ । पछि विस्तारै पहाडी बाटोमा पनि बस चल्न थालेपछि टीकापुरको विमानस्थलमा जहाज आउन छोड्यो र माओवादी हिंसात्मक द्वन्द्व पछि त टीकापुरको एयरपोर्टलाई सुकुम्बासीहरुले तीनचार वर्ष सम्म त कब्जा नै गरेर बसे ।
यो टीकापुरको एयरपोर्ट टीकापुरको राजनीतिको लागि मागी खाने भाँडो भएको छ । कसैले विमानस्थल सुचारु हुन्छ भन्ने र कसैले मजाकमा उडाउने कुरा भएको छ टीकापुरको एयरपोर्टलाई । धनगढी र नेपालगन्जमा एयरपोर्ट हुँदा टीकापुरमा किन एयरपोर्ट चाहियो भन्ने विकासप्रेमीहरु पनि छन टीकापुरको राजनीतिमा र टीकापुरमा एयरपोर्ट सञ्चालन गरिनुपर्छ भन्नेहरु पनि छन् ।
राजनीति नजान्ने हामी टीकापुरका सर्वसाधारण जनताहरु धनगढी र नेपालगन्जमा एयरपोर्ट भएपनि टीकापुरमा एयरपोर्ट भएमा केही बिग्रन्न होला भन्ने सोच्ने पनि छौं । यातायातको सुगम साधन हो एयरपोर्ट ।
आज टीकापुरमा पुन स् जहाजको परीक्षण उडान भएछ । बाल मस्तिष्कमा त्यो बेलाको जहाज उडान हुँदा दौडीएर हेरेको त्यो अवस्थाको स्मरण भएको छ । टीकापुरबाट कहीँ जहाजमा जान नपाएपनि र जहाज देखेको करीब २५ वर्षपछि म आफू जहाजमा चढेपनि आज नेपालका लगभग सबै कम्पनीको जहाज चढेको अनुभव छ मलाई र दुई तले जहाज चढ्ने सौभाग्य अझै मिलेको छैन तर अन्तर्राष्ट्रिय बोइङ्ग न्यारो बडी र वाइडबडी जहाज चढेको अनुभव ममा भएपनि त्यो ४१/४२ सालतिरको बाल मस्तिष्कमा चीलगाडी चढ्न कहिले पाइएला भन्ने कौतुहलता अब यो उमेरमा छैन तरपनि आज टीकापुरमा पुनस् जहाजको परीक्षण उडान भएको सुन्न पाउँदा पुन मन त्यही ४१/४२ सालतिरको अवस्थामा गएको छ र दिमागले फेरि एउटा कुरामा प्रश्न गर्न थालेको छ ।
के ? म वा हामीहरु काठमाण्डौंबाट टीकापुर आफ्नो घर जान पाउँदा अनेकौँ सास्तीलाई पन्छाएर जहाजमै टीकापुर जान पाउँछौँ होला?
आखिर कल्पनालाई सम्झिने हो भने कल्पना गरेका हरेक कुराहरु जस्तै यो एउटा साधारण कुरा पनि त साकार हुन सक्छ नि ?हैन र ?
















जापानद्वारा लामो दूरी मिसाइल तैनाथ
ओली पक्राउको विरोधमा एमालेले देशव्यापी प्रदर्शन गर्ने
नेप्सेमा दोहोरो अंकको सुधार
वैदेशिक रोजगारमा जाने कामदारले अब जुनसुकै सरकारी अस्पतालमा स्वास्थ्य परीक्षण गर्न पाउने
ग्रासरुटदेखि नै खेलाडी उत्पादनमा जोड दिनुपर्छ : मन्त्री पोखरेल
एमाले अध्यक्ष ओलीको पित्तथैलीमा पत्थरी, अस्पतालमा नै राखेर उपचार गरिने
विद्यालय र विश्वविद्यालयबाट विद्यार्थी संगठन हटाउने
खड्का-कोइराला समूहले कांग्रेसका सांसदकाे छुट्टै बैठक डाक्याे
एमालेका नेता कर्णबहादुर मल्ल बलात्कारकाे आरोपमा पक्राउ
कांग्रेसकाे देउवा समूहले ओली र लेखक पक्राउको संवैधानिक र राजनीतिक प्रतिवाद गर्ने
प्रतिक्रिया