मंगलबार, फागुन १२, २०८२

किशोरीलाई पाठेघरको मुखको क्यान्सरविरुद्ध खोप लगाइने

मेरोन्यूज २०८१ कार्तिक १४ गते १३:३६

काठमाडौँ । सरकारले विद्यालय र विद्यालय बाहिर रहेका किशोरीलाई पाठेघरको मुखको क्यान्सरविरुद्ध ‘एचपिभी’ खोप अभियान सञ्चालन गर्ने भएको छ ।

Advertisement
nepal life insurencenepal life insurence

स्वास्थ्य सेवा विभाग बाल स्वास्थ्य तथा खोप शाखाका प्रमुख डा अभियान गौतमले विद्यालयका कक्षा ६ देखि १० सम्म र विद्यालय बाहिर रहेका १० देखि १४ वर्षसम्मका बालिका लक्षित गरी खोप अभियान सञ्चालन गर्न थालिएको जानकारी दिए। उनका अनुसार ती उमेर समूहका करिब १६ लाख ८८ हजार किशोरीले एचपिभी खोप लगाइने छ ।

डा गौतमले खोप अभियान आगामी माघमा करिब १५ दिनसम्म सञ्चालन गरी प्रत्येक पालिकाका माध्यमिक तहका किशोरीलाई लगाइने जानकारी दिए। उनले नेपालमा पाठेघरको मुखको क्यान्सरविरुद्धको सबैभन्दा ठूलो अभियान हुने बताए।

“विद्यालयमा रहेका किशोरीलाई विद्यालयमा खोप केन्द्र बनाएर ‘एचपिभी’ खोप लगाउने छौँ”, उनले भने, “विद्यालय बाहिर रहेका किशोरिलाई भने स्वास्थ्य संस्थामा गएर खोप लगाउने गरी तयारी गरेका छौँ ।”

यसअघि सरकारले सात प्रदेशका एक–एक वटा सङ्घीय अस्पतालमा डेमोष्ट्रेसन ९नमूना० का रुपमा ‘एचपिभी’ खोप नौ हजार नौ सय ९९ किशोरीलाई लगाएको थियो ।

नेपालमा हरेक वर्ष पाठेघरको मुखको क्यान्सरबाट चारजना महिलाको मृत्यु हुने गरेकाले पाठेघरको मुखको क्यान्सरबाट किशोरीलाई बचाउन अभियान सञ्चालन गर्न लागिएको खोप शाखाका प्रमुख डा गौतमले उल्लेख गरे। सरकारले निःशुल्क उपलब्ध गराउन थालेको भन्दै उक्त खोप बाहिर लगाउँदा करिब रु छ हजार पर्ने जानकारी दिए।

एचपिभी खोप ‘भ्याक्सिन र खोपका लागि ग्लोबल एलायन्स’९गाभी० को सहयोगमा सरकारले खरिद गरेको हो । खोप शाखाका प्रमुख डा गौतमले अर्को वर्षदेखि एचपिभीलाई नियमित खोप अभियानअन्तर्गत राखिने जानकारी दिए। खोप एक पटक लगाएरपछि जीवनभरका लागि काम गर्ने भएकाले खोप अभियानमा सहभागी हुन किशोरीसहित अभिभावनलाई उनले आग्रह गरे।

पाटन स्वास्थ्य विज्ञान प्रतिष्ठानका वरिष्ठ क्यान्सर रोग विशेषज्ञ डा अरुण शाहीले पाठेघरको मुखको क्यान्सरको जोखिम बढाउने मुख्य कारण ‘ह्युमन प्यापिलोमा’ नामक भाइरसको सङ्क्रमण रहेकाले यसको विरुद्ध खोप लगाउनुपर्ने बताए ।

उनले कलिलो उमेरमा विवाह गर्ने, उमेर नपुगी बच्चा जन्माउने, धेरै बच्चा जन्माउने, छोटो अन्तरालमा लगातार बच्चा जन्माउने, धेरै धूमपान तथा मद्यपान गर्ने, यौनाङ्गको सरसफाइमा ध्यान नदिनेलगायत कारणले ह्युमन प्यापिलोमा भाइरसको सङ्क्रमण हुने भएकाले यसबारे आवश्यक सावधानी अपनाउनुपर्ने बताए। डा शाहीले खोप ९९ प्रतिशत प्रभावकारी रहेकाले सबै किशोरीलाई अभियानमा सहभागी भई खोप लगाउन आग्रह गरे।

नेपालमा सबैभन्दा बढी महिलामा लाग्ने क्यान्सरमध्ये पाठेघरको मुखको क्यान्सर र त्यसपछि स्तन क्यान्सर रहेको स्वास्थ्य सेवा विभाग बाल स्वास्थ्य तथा खोप शाखाले जनाएको छ ।

प्रतिक्रिया