सोमबार, चैत ९, २०८२

पर्साका ग्रामीण भेगमा गाँजाखेती फस्टायो

मेरोन्यूज २०८१ कार्तिक १५ गते १०:२०

वीरगञ्ज (पर्सा) । पर्सा प्रहरीले सखुवाप्रसौनी गाउँपालिका–१ सिद्धपुरस्थित कोइलाभार साझेदारी वन क्षेत्रभित्रको १० कट्ठामा लगाइएको गाँजा नष्ट गरेको छ ।

Advertisement
nepal life insurencenepal life insurence

इलाका प्रहरी कार्यालय एकटाँगा, प्रहरीचौकी रङ्गपुरटाडी र अस्थायी प्रहरी पोस्ट मनवाबाट बुधबार खटिएका प्रहरी र सशस्त्र प्रहरीबलको संयुक्त टोलीले गाँजाका बोट फँडानी गरे पनि त्यहाँ गाँजाखेती गर्नेको सुइँको पाउन सकेको छैन । पर्सा प्रहरीले पछिल्लो साता दिनहुँजसो गाँजाको खेती भएका ठाउँमा फँडानी गर्दै आएको छ ।

पर्सा प्रहरीले गाँजाखेती भएका स्थानको फँडानी गरे पनि त्यसको खेतीमा संलग्नलाई भने बुधबारसम्म पक्राउ गरेको छैन । पर्सा प्रहरी प्रमुख कुमोध ढुङ्गेलले सार्वजनिक वन तथा सार्वजनिक जग्गामा गाँजाखेती भएकाले पनि गाँजाखेतीमा संलग्न हुनेलाई पक्राउ गर्न नसकिएको दाबी गरे।

“पर्साका विभिन्न ठाउँमा नेपाल प्रहरी र सशस्त्र प्रहरीले संयुक्त रुपमा गाँजाखेती भएका स्थानको पहिचान गरेर फँडानी गर्दै आइरहेका छौँ”, उनले भने, “अहिलेसम्म पेसेवर रूपमा गाँजाखेती गर्ने को भने पहिचान हुन सकेको छैन ।” यद्यपि पर्सा जङ्गलमा जोडिएका ग्रामीण भेगमा भने व्यावसायिक रुपमा नै गाँजाको खेती हुने गरेको छ । प्रहरीले ग्रामीण भेगमा जङ्गल नजिकका बस्तीमा गाँजाका केही बोट नष्ट गरे पनि स्थानीयको पहिचान गरेर कारबाही प्रक्रिया अघि नबढ्दा गाँजाखेती मौलाएको छ ।

पर्सा प्रहरीले कात्तिक १० गते पनि पर्सागढी नगरपालिका वडा नम्बर १ झबराहमा पनि दुई बिघा क्षेत्रफलमा लगाइएको करिब १५ हजार गाँजाका बोट फँडानी गरेको छ । गत कात्तिक ७ गते पनि पर्सा प्रहरीले पटेवासुगौली गाउँपालिका वडा नम्बर २ थरकटीमा एक बिघा क्षेत्रफलमा लगाइएको करिब सात हजार गाँजा नष्ट गरेको छ ।

पर्साका प्रमुख जिल्ला अधिकारी गणेश अर्यालले गाँजा विभिन्न मञ्चमा छलफल र बहसको विषय भए पनि हालसम्म कानुन बनिनसकेकाले यसको कारोबार र खेती अवैध भएकाले प्रचलित कानुनको पालना गराउनु आफ्नो कर्तव्य भएको बताए।

प्रतिक्रिया