घर खर्च जुटाउन अम्बा बिक्री गरेर नुनतेलको जोहो

गुल्मी। जब चाडबाड नजिकिँदै जान थाल्छन् तब टाउकामा नाम्लो र पिठ्युमा डोकोभरि बेलाउती (अम्बा) बोकेर सहर पस्ने गर्छन् गुल्मीका विपन्न परिवारका महिलाहरू । घरको आर्थिक अवस्था कमजोर बनेका जिल्लाको पश्चिमी क्षेत्रका विपन्न परिवारका महिला घरको चुलोचौको गर्ने समयमा पनि तिहारमा खर्चको जोहोका लागि डोकोमा अम्बाको भारी बोकेर बिहानै सदरमुकाम तम्घास धाउन बाध्य छन् ।
उनीहरू दसैँतिहारजस्ता चाडबाडको समयमा बर्सेनि कहिले पैदलयात्रा त कहिलो सवारीसाधनमार्फत बेलाउती (अम्बा) बिक्री गर्न सदरमुकाम तम्घास आउने दैनिकीजस्तै बनेको छ । घरदेखि सदरमुकाम तम्घाससम्म आउन यातायातको सहज पहुँच भए पनि गाडीभाडा बचाउन पैदलै हिँडेर सदरमुकाम आउने गर्दछन् । एकाबिहानै पिठ्युमा डोकाभरि अम्बाको भारी बोकेर झिस्मिसेमा आँखा मिच्दै घरबाट हिँडेका ती महिला सदरमुकामसम्म आइपुग्दा पसिनाले निथ्रुक्कै भिजेका हुन्छन् ।
गाउँमा यतिबेला प्रायः धेरैका खर्यान तथा बारीमा अम्बा प्रशस्त मात्रमा पाइन्छन् । गाउँमा अम्बाको खासै महत्त्व नहुने भएका कारण उनीहरू पाकेको अम्बा टिपेर बिक्रीका लागि ल्याउने गर्दछन् । यसो गर्दा अम्बा पनि खेर नजाने र अलिकति भए पनि आम्दानी गर्न सकिने भएका कारण अम्बा बोकेर बिक्रीका लागि सदरमुकामसम्म आउने जाँगर बढेको इस्मा गाउँपालिका–५ बुल्मकी भीमकला कुमालले बताइन् ।
धुर्कोट गाउँपालिकाका लक्ष्मी मुखिया र राधिका मुखिया पनि तिहारमा अम्बा बिक्री गरेर नुनतेल र चिनी किन्न खर्च जुटाउनका लागि सदरमुकाम तम्घाससम्म आइपुगेको बताउँछिन् । सिजनअनुसारको फल भएका कारण सबैले मन पराउने र खान पनि निकै स्वादिलो हुने भएका कारण आफूहरू तम्घास आइपुगेको उनीहरूले बताए। “भनेको समयमा कसैले पैसा सापटी दिँदैन घरको अबस्था पनि त्यस्तै छ, अर्काको घरमा मेलापात गरेर जीवन गुजारा गर्नुपर्छ, त्यही भएर फुर्सदको खाली समयमा अम्बा बिक्री गर्न आइपुगेका हौंँ”, राधिका मुखियाले भनिन्।
राधिका मुखिया आफूले डोकोमा बोकेर ल्याएको अम्बा बिक्री गरेर दैनिक रु पाँच सयदेखि आठ सयसम्म आम्दानी गर्दै आएको बताउँछिन् । एक दाना अम्बा रु दुईदेखि तीनमा बिक्री हुने गर्छ । बिक्री गरेको पैसाले तिहारमा रोटी पकाउन तेल र चिनी किनेर जाने हो”, मुखियाले भनिन् ।
सहरदेखि गाउँसम्म यतिबेला दसैँ सकिएसँगै तिहारको चहलपहल बढ्दै जान थालेको छ । तर जिल्लाका विपन्न परिवारका नागरिक भने तिहारखर्च जुटाउन सडकमा बसेर बेलाउती (अम्बा) बिक्रीका लागि ग्राहकको प्रतिक्षामा बसिरहेका देखिन्छन् ।
















अभिभावकको रोजाइमा परेका सामुदायिक विद्यालयमा यसरी हुँदैछन् विद्यार्थी भर्ना
अफगानिस्तानको सुन खानीमा विस्पोट, पाँच जनाको मृत्यु
पश्चिम एशिया द्वन्द्वको मारमा नेपालको पर्यटन क्षेत्र
झापामा विद्यार्थी बोकेको बस दुर्घटना, १३ जना घाइते
सर्पले टोकेको फलफूल-तरकारी विषालु हुन्छ ?
नेकपाका सात प्रदेश इन्चार्ज चयन : पूर्व माओवादीबाट दुई मात्रै
हप्तामा एक पटक खाना पकाउँदा पनि घट्छ बिर्सने राेगकाे जोखिम
सशस्त्र प्रहरीको आईजीपीमा नारायणदत्त पौडेल
हर्मुज खुलाउन इरानको प्रस्ताव, वार्ता अन्योलमा
पार्टी संसदीय दलले राष्ट्रिय आवश्यकताअनुसार सबैलाई मिलाएर लैजान्छ : सभापति थापा
प्रतिक्रिया