सोमबार, चैत ९, २०८२

यमपञ्चकको चौथो दिन मिथिला क्षेत्रमा ‘गोधन’ मनाइँदै

मेरोन्यूज २०८१ कार्तिक १७ गते १४:१५

जनकपुरधाम । दीपावली (तिहार) आर्थात् यमपञ्चकको चौथो दिन  कात्तिक शुक्ल प्रतिपदाका दिन आज मिथिला क्षेत्रमा गोधन पर्व मनाइँदै छ। 

Advertisement
nepal life insurencenepal life insurence

मध्य तराईंका जिल्लामा बन्धुबान्धव, परिवारका घरमूली, महिला एक ठाउँमा जम्मा भइ मङ्गल गीत गाउँदै यो पर्व मनाउने मैथिल परम्परा रहेको छ। पर्वमा गाईको गोबरले लिपेर पवित्र बनाइएको चतुष्कोण वेदिभित्र गोबरकै मानव आकृति बनाएर धान, सिन्दूर, फूल, दुबो र पिठार (पानीमा घोलिएको अरवा चामलको पिठो) ले पूजा गर्ने गरिन्छ। 
विघ्ननाशक गणपतिको आह्वान गर्दै सुरु गरिने यो पूजा विधिमा प्रकृतिको आराधना भएको मैथिल विद्वान बताउँछन्।

द्वापरयुगमा श्रीकृष्णले गोकूल (तत्कालीन मथुरा राज्यअन्तर्गतको बस्ती) नजिकको गोवर्द्धन पर्वतलाई इष्टजनसहित पूजा गरेका परम्पराको सम्झनामा मिथिला क्षेत्रमा गोधन पर्व मनाउने गरिन्छ।  गाई (गो) मुख्य पशुधन मानिने त्यो बेला श्रीकृष्णले गोवर्द्धन पर्वतले गाई पाल्न घाँस, पानी दिएको भन्दै सबैलाई इन्द्रको साटो पर्वतलाई पूजा गर्न हौस्याएका थिए। महाभारतकालीन कथावस्तु नै यो पर्वको परम्परा भएको मिथिला क्षेत्रका प्रसिद्ध साहित्यकार डा राजेन्द्र विमल बताउँछन्। पछि गोवर्द्धन पूजालाई नै मिथिलामा ‘गोधन’ भनिन लागिएको डा विमलको भनाइ छ।

कात्तिक शुक्ल प्रतिपदा अर्थात् यमपञ्चकको चौथो दिन मनाइने यस पर्वमा मिथिलाका कतिपय जाति समुदायमा महिलाले धान, सिन्दूर, फूल, दुबो र पिठार ओखलमा राखेर कुट्ने गर्छन्। यो मिश्रण गाई, गोरुसहितका पशुधनलाई रङ्गाउन प्रयोग गरिन्छ। 

विभिन्न रङ्मा मिसाएर यो मिश्रणले रङ्गाउने गरेमा गाई, गोरु लगायत पशुधनमा कसैको आँखा नलाग्ने, देशान (रोगव्याधि) नलाग्ने मैथिल जनविश्वास छ।

पर्वका दिन गाई, गोरुका सिङ, खुरमा तोरीको तेल लगाई दिने, पिना (तोरी पेलिएको चोकर) खुवाउने र नयाँ दाम्ला लगाइदिने (दाम्ला फेर्ने) परम्परा रहेको छ। 

पर्वको मुख्य पक्षचाहिँ प्रकृति (वन, पहाड, पानीका मुहान, चरनक्षेत्र) संरक्षणको सन्देश रहेको डा विमल बताउँछन्।

प्रतिक्रिया