बुधबार, चैत ४, २०८२

दाईजो स्वरूप गाउँ नै दिने प्रथा अझै कायमै

मेरोन्यूज २०८१ कार्तिक १९ गते ६:४३

तराई मधेस क्षेत्रमा दाईजो प्रथा अझै कायमै रहेको खबर बेलाबेला आउने गरेकै छन् । मधेस क्षेत्रमा बसोबास गर्ने मधेसी समुदायका व्यक्तिले छोरी/चेलीको विवाह गर्दा दाईजोमा गच्छेअनुसार पैसा तथा गहना र पहाडी समुदायका व्यक्तिले पनि शक्तिअनुसार फर्निचर, गरगहना तथा अन्य सामग्री दिनु सामान्य नै हो । हुन त हिन्दू नेपाली समाजमा देशभरि नै यस्तो प्रचलन छ ।

Advertisement
nepal life insurencenepal life insurence

आज हामी तपाईँहरूले योभन्दा फरक प्रचलन सुनाउँदै छौँ, जो सुन्दा धेरैलाई आश्चर्य लाग्नसक्छ । यस्तो आश्चर्य लाग्ने प्रथा हो यहाँका मरिक समुदायको, जहाँ आजपर्यन्त  छोरी/चेलीको विवाह गर्दा दाईजोमा गाउँनै दिने गरिएको छ । सुनसरीका विभिन्न क्षेत्रमा बसोबास गर्ने मरिक समुदायका व्यक्तिले अहिले पनि छोरीको बिहेमा गच्छेअनुसार गाउँ नै दाईजोको रूपमा दिने प्रचलन रहेको सुनसरी हरिनगर–२ का अगुवा भट्टाई मरिकले  जानकारी दिए।मरिक समुदायका व्यक्तिले छोरीको बिहे गर्दा ज्याइँ गाउँमा नै बसोबासका लागि राजी भएमा एउटा गाउँ नै दाईजो स्वरुप दिने गरेको भट्टाईले सुनाए । 

मरिक समुदायको मुख्य पेसा सरसफाइ गर्ने, बिहेबारीमा आफ्नो गाउँका यजमानलाई बाँसको सामग्री पुर्‍याउने, चाडबाडका बेलामा बाँसका सामग्री बनाएर बिक्रीवितरण गर्नु हो ।  चाडपर्व, व्रतबन्धलगायत अवसरमा बाँसको सामग्री प्रयोग अनिर्वाय भएकाले एक जनाको गाउँमा अर्को मरिक समुदायका व्यक्तिले बिक्रिवितरण गर्न नपाइने आन्तरिक सहमति हुने गरेको छ ।  विशेष गरेर ग्रामीण भेगमा बसोबास गर्ने नागरिकले तोकिएका व्यक्तिबाटै विभिन्न सामग्री लिने गरिन्छ। यजमानले लिएको सामग्रीवापत मरिक समुदायका व्यक्तिले चामल, धान, गहुँ, नगद र बाँस लिने गरेका छन् । 

विभिन्न किसिमका सामग्री बिक्रीका लागि बजारमा जानुपर्ने वा गाउँघरमै पसल गरेर बिक्री गर्नुपर्ने बाध्यता भए पनि मरिक समुदायका व्यक्तिले आफूले बनाएको सामग्री बिक्री गर्नका लागि गाउँ नै बाँडफाँट गरेको हुन्छ । कुन गाउँ वा टोलमा कुन परिवारले कारोबारको जिम्मा लिने भनेर आपसी समझदारी हुन्छ । एकले अर्काको गाउँमा सामग्री बिक्री गरेमा समाजले जरिवानासमेत गर्ने गरिएको छ । आफ्नो क्षेत्र बेच्न चाहनेले कारोबार अनुसारको रकम लिई बेच्नसमेत सक्ने चलन रहेको छ । 

एक गाउँ बेच्दा  तीन लाखदेखि चार लाख वा सामाजिक मूल्याङकनअनुसार रकम लिने दिने गरिन्छ । सोही गाउँ मरिक समुदायका व्यक्तिले छोरी–ज्वाइँलाई गाउँमै बस्ने सर्तमा दाइजो स्वरुप दिने गरिउको हरिनगर–२ का वीरेन्द्र मरिकले बताए। दाईजोमा दिएको गाउँमा उनीहरूले कारोबार गर्ने अनुमतिसमेत पाउने र मरिक समाजले त्यसलाई स्वीकार गर्ने चलन रहेको उनले सुनाए ।

प्रतिक्रिया