बुधबार, मंसिर १९, २०८१

आजपाले एकैदिन मधेसमा अभियान र काठमाडौंमा विरोध प्रदर्शन गर्ने

मेरोन्यूज २०८१ कार्तिक २५ गते १८:२७

काठमाडौं । पूर्वमन्त्री प्रभु साह नेतृत्वको आम जनता पार्टी (आजपा)ले आउँदो १ मंसिरमा एकैदिन काठमाडौंमा विरोध प्रदर्शनका साथै मधेशमा भ्रष्टाचारविरोधी विशेष जागरण अभियान सुरु गर्दै छ ।

Advertisement

मुलुकमा बढ्दै गइरहेको भ्रष्टाचार, अनियमितता, कुशासनका साथै सरकारको अनावश्यक कर एवं महँगीविरुद्ध आजपाले आन्दोलन गर्दै आएको छ । सोही विषयलाई लिएर आजपाले काठमाडौंमा विरोध प्रदर्शन गर्नुका साथै मधेश प्रदेशमा विशेष जागरण अभियान सञ्चालन गर्न लागेको हो ।

आजपाका वरिष्ठ उपाध्यक्ष तिलक थापामगरले सरकार कुम्भकरणजस्तै सुतिरहेको अवस्थामा आमजनताको समस्याबारे जानकारी गराउन पार्टीले काठमाडौंसहित मधेशमा एकैदिन विरोध प्रदर्शनका साथै विशेष अभियान सञ्चालन गर्न लागेको बताए ।

‘सरकारलाई आमजनताको समस्या, चाहना के हो भन्नेबारे कुनै चासो देखिएन । कुम्भकरणजस्तो सुतेको सरकारलाई आमजनताको समस्या र सरकारको मनपरी कार्यशैलीका विरोधमा अब जनता सडकमा आउन बाध्य भएका छन्,’ आजपा वरिष्ठ उपाध्यक्ष थापाले भने, ‘मुलुकमा भ्रष्टाचार बढ्दै गइरहेको छ, कुशासन, अनियमितता बढ्दै छ । सोझासाझा जनतामाथि अनावश्यक करमाथि कर थुपार्ने काम सरकारले गरेको छ । यस्तो अवस्थामा सरकारलाई सचेत गराउन सडक–संघर्षको विकल्प नै भएन ।’

आइतबार काठमाडौंस्थित आजपाको केन्द्रीय कार्यालयमा बसेको पार्टीको काठमाडौं उपत्यका विशेष कमिटीको बैठकले देशको अर्थतन्त्र बचाउन यही १ मंसिरमा ‘सरकारको अनावश्यक कर हटाउ, देशको व्यापार व्यवसाय बचाउ’ भन्ने मूल नाराका साथ विरोध प्रदर्शन गर्ने निर्णय गरेको छ ।

काठमाडौंको शान्तिबाटिकामा बृहत् प्रदर्शन गर्ने निर्णय गरेको आजपाले सरकारपिच्छे सरकारको अनावश्यक करले देशको व्यापार व्यवसाय बर्बाद भइरहेको, देशको अर्थतन्त्र बचाउन युवाहरू उठ्न आवश्यक रहेको आजपा सचिव नारायण पाण्डेले जानकारी दिए ।

‘हामीले मंसिर १ गते काठमाडौंको शान्तिबाटिमा बृहत् विरोध प्रदर्शन गर्ने निर्णय गरेका छौँ। सरकारको मनपरी करमाथिको कर हटाउनुपर्ने, युवालाई रोजगार दिनुपर्ने, भ्रष्टाचार, कुशासन, अनियमिततालगायतको विरोधमा हामीले शान्तिपूर्ण प्रदर्शन गर्न लागेको हो,’ आजपा सचिव पाण्डेले भने ।

यस्तै, छठ पर्वअघि वीरगन्जमा बसेको आजपाको प्रदेश कमिटीको पदाधिकारी बैठकले भ्रष्टाचारको विरोधमा मधेशमा विशेष जागरण अभियान सञ्चालन गर्ने निर्णय गरेको थियो । आजपा मधेश प्रदेशका प्रवक्ता एवं केन्द्रीय सदस्य डा. हेमप्रसाद साहले यो अभियान मधेश प्रदेशका आठवटै जिल्लामा हुने बताए ।

मधेश प्रदेशको सप्तरी, सिराहा, धनुषा, महोत्तरी, सर्लाही, रौतहट, बारा र पर्सा जिल्लामा सञ्चालन हुने जागरण अभियान एक हप्तासम्म चल्ने उनले बताए । पार्टीका अध्यक्ष एवं पूर्वमन्त्री प्रभु साहसहित पार्टीका नेता–कार्यकर्ताको विशेष सहभागिता अभियानमा हुने प्रवक्ता साहले जनाएका छन् ।

सप्तरीबाट सुरु हुने सो अभियान पर्सामा आएर सम्पन्न हुनेछ । मधेशका प्रमुख सहरहरूमा सभा, प्रदर्शन, बैठक, भेलालगायतका गतिविधि हुने अभियान पार्टीले पहिलोचोटि गर्न लागेको छ । यसअघि आजपाले काठमाडौंसहित विभिन्न सहर एवं जिल्लाहरूमा विशेष प्रदर्शन गर्दै आएको छ । भ्रष्टाचार, अनियमितता, कुशासन, मनपरी कर, महँगी, बेरोजगारी, वैदेशिक रोजगारको ठगी, भन्सारको मनोमानी करलगायतका विषयमा आजपाले आवाज उठाउँदै आएको छ ।

‘हाम्रो महान् तथा गौरवशाली पार्टी आम जनता पार्टी, मधेश प्रदेश कमिटीको विशेष संयोजनमा यही मंसिर १ गतेदेखि देशमा बढदो लुटआतंक, भ्रष्टाचार एवं विभेदविरुद्ध मधेश जागरण अभियान सञ्चालन गर्ने तथा देशमा तीन तहका सरकारहरूले सरकारपिच्छे मनपरी रूपमा करआतंक खडा गरी आमनेपाली जनतालाई दुःख दिइरहेको स्थितिलाई बदल्न एवं देशभर शून्य कर नीतिलाई प्रोत्साहन गर्ने–गराउने पुनीत उद्देश्यका साथ मंसिर १ गते नै उपत्यका विशेष कमिटीको आयोजनामा संघीय राजधानी काठमाडौंमा विशेष प्रदर्शन गर्ने निर्णयसमेत गरिएको छ,’ आजपा प्रवक्ता चन्द्रभूषण साहले जारी गरेको विज्ञप्तिमा उल्लेख गरिएको छ ।

प्रतिक्रिया