बुधबार, वैशाख २३, २०८३

बरियारपुरका किसानलाई धान र उखु भित्र्याउन भ्याइनभ्याइ

मेरोन्यूज २०८१ कार्तिक २८ गते १६:२४

कलैया (बारा), २८ कात्तिक । गढीमाई पञ्चवर्षीय मेलालाई लक्षित गरी बाराको बरियारपुरका किसानलाई धान तथ उखुबाली भित्र्याउन भ्याइनभ्याइ भएको छ ।

Advertisement
NiccNicc

आगामी मङ्सिर १ गतेदेखि करिब एक हजार बिघामा सुरु हुने मेलामा करिब एक करोड भक्तजन आउने अनुमान गरिएको गढीमाई मेला व्यवस्थापन मूल समितिले जनाएको छ ।

मेलालाई भव्य बनाउन समिति, महागढीमाई नगरपालिका, गढीमाई ट्रष्टसहित विभिन्न समितिले किसानलाई बाली यथाशीघ्र भित्र्याउने सूचना गरेकाले आफूहरु धमाधम धान कटाइमा लागेको गढीमाई–१ का किसान जीतेन्द्र गुप्ताले बताए । परिवारको जनशक्तिबाट धान काटन सम्भव नभएपछि खेतला लगाएर कामलाई तीव्रता दिइएको उनले उल्लेख गरे ।

बरियारपुर, मैनीभसिया टोला, सेमरा तेगछिया, इनरर्वा, तेलकुवालगायत गाउँका किसानले खेतमा लगाइएको धान तथा उखुबाली काट्ने र भित्र्याउने कामलाई तीव्रता दिएका हुन् ।

मेलाप्रति सम्पूर्ण बरियारपुरवासीको मानसम्मानसँगै प्रतिष्ठासमेत जोडिएकाले निर्धारित समयमा बाली काटी खेत खाली गरेपछि मेला लाग्ने स्थान बनाउन सकिने भएकाले सम्पूर्ण किसानलाई काममा भ्याइनभ्याइ भएको महागढीमाई नगरपालिकाका प्रमुख उपेन्द्र यादवले बताए ।

आगामी मङ्सिर २३ गते तान्त्रिक विधिबाट दिप प्रज्वलन गरी गढीमाई मन्दिरको पूर्वपठ्ठी रहेको ब्रम्हबाबाको मन्दिरमा पञ्च बलि दिएपछि मात्र बलिको सुरुवात हुने गरेको गढीमाई मन्दिरका मूल पुजारी मङ्गल चैधरीले जानकारी दिए ।

मेलाको सम्पूर्ण तयारी अगाडि बढाइरहेको मेला मूल समितिका अध्यक्षसमेत रहेका नगरप्रमुख यादवले जानकारी दिँदै भारतसहित अन्य २० देखि २५ मुलुकका दर्शनार्थी मेलामा सहभागी हुने अपेक्षा गरिएको बताए।

दर्शनार्थीका लागि बास, न्यानो बनाउन ठाउँठाउँमा दाउँरा बाल्ने, सडक निर्माण, २७ स्थानमा घुम्ती शौचालय, एक हजार अस्थायी शौचालय निर्माण, बिजुली बत्तीको व्यवस्था, शुद्ध खानेपानी, भन्सारमा भारतीय गाडीलाई सहज रूपमा प्रवेश, महिला तथा पुरुषका लागि छुट्टाछुट्टै दर्शन गर्ने लाइन, हजारौँको सङ्ख्यामा स्वयंसेवक परिचालन गर्नेगरी तयारी भइरहेको उनले उल्लेख गरे ।

मेलामा आउने भक्तजनका लागि सुरक्षाको प्रभावकारी व्यवस्था मिलाएको बाराका प्रमुख जिल्ला अधिकारी वसन्त अधिकारीले जानकारी दिए ।

प्रतिक्रिया