मंगलबार, चैत १०, २०८२

‘स्रष्टाको आमा सम्मानित’

मेरोन्यूज २०८१ कार्तिक २९ गते २०:१३

Advertisement
nepal life insurencenepal life insurence

काठमाडौँ । स्रष्टा सम्मानित हुने अभ्यासभन्दा फरक अभ्यास अर्थात् स्रष्टा जन्माउने आमा पहिलो पटक सम्मानित भएकी छन्। मौलशोभा राई आमा सम्मान, २०८१ बाट साहित्यकार दीपा राई पुनकी आमा विमला राई (साङ्पाङ) बिहीबार सम्मानित भएकी हुन्।

अनलाइन अभिलेख प्रालिद्वारा आयोजित समारोहमा स्रष्टाको आमा राई नगद रु. ५० हजार र कदरपत्रसहित सम्मानित भएकी हुन्। साहित्यलगायत कुनै पनि क्षेत्रमा उल्लेखनीय योगदान पुर्‍याउने व्यक्तित्वलाई जन्मदिने आमालाई गरिने यस्तो सम्मान पहिलो पटक प्रदान गरिएको हो।

साहित्य, सङ्गीत तथा समाज सेवाका क्षेत्रमा दीपा राई पुनले पुर्‍याएको योगदानवापत उनलाई जन्मदिने आमा विमला राईलाई सम्मान गरिएको अनलाइन अभिलेखका संस्थापक एवं लेखक डा. पुरण राईले जानकारी दिए।

उक्त समारोहमा प्रतिनिधिसभाको उपसभामुख इन्दिरा रानाले आफ्नो विद्यार्थी जीवनमा सम्मानित आमा राईसँग बिताएको समयले धेरै सिक्ने अवसर दिएको भन्दै आभार प्रकट गरिन्। ‘आमाले मलाई अनुशासनको महत्त्व नसिकाउनुभएको भए सायद म आजको यो इन्दिरा बन्न सक्षम हुने थिइन होला,’ उनले विगत स्मरण गर्दै भनिन्।

उपसभामुख रानाले हरेक आमाको ममता र त्यागबारे चर्चा गर्दै वृद्ध बाआमाको अधिकारका लागि सन्तान र सरकार सबै सचेत हुनुपर्नेमा जोडसमेत दिइन्। समारोहमा नेपाल प्रज्ञा–प्रतिष्ठानका पूर्वउपकुलपति वैरागी काइलाले आमा सम्मानित हुने अभ्यास अनुकरणीय भएको बताए।

‘सधैँ छोराछोरी पुरस्कृत हुँदा खुसी हुने आमाहरु आज आफूले स्रष्टालाई जन्म दिएको सम्मानित हुनुभएको छ। कोखलाई पुरस्कृत र सम्मान गर्ने नयाँ धारणा सुरु भएको छ, अत्यन्तै प्रशंसनीय र अनुकरणीय छ,’ काइलाले भने।

आफ्नी आमा सम्मानित भएको खुसी साट्दै साहित्यकार दीपा राईले यस सम्मानको थालनीप्रति आभार प्रकट गरिन्। आमाको संघर्ष, योगदान र मार्गप्रशस्तको प्रशंसा गर्दै उनले हरेक आमा सन्तानका लागि प्रेरणाको स्रोत हुने बताइन्।

लेखक डा. पुरण राईले आफ्नी आमा मौलशोभा राईप्रति समर्पित गर्दै यस पुरस्कारको थालनी गरेका हुन्। सम्मानलाई निरन्तरता दिनका लागि उनले आफनो पारिश्रमिकबाट १० प्रतिशत छुट्एकोसमेत जानकारी दिए।

‘कोरोना महामारीको समयमा त्रिभुवन अन्तर्राष्ट्रिय विमानस्थलमा भेटिने हरेक आमाहरूमा मैले आफ्नो आमाको प्रतिविम्ब पाएँ। त्यसबेलादेखि आमाको सम्मानमा मूर्त रुपमा केही गर्न सकिन्छ कि भन्ने लागेको थियो,’ लेखक राईले भने, ‘त्यसैले आमाको सम्मान गर्ने निधो गरेर यो सम्मानको सुरुआत गरिएको हो।

प्रतिक्रिया