कोप २९ र पहिलो हप्ताका उपलब्धि

काठमाडौँ । जलवायु परिवर्तनसम्बन्धी संयुक्त राष्ट्रसङ्घीय खाका महासन्धि पक्ष राष्ट्रहरुको २९ औँ सम्मेलन (कोप २९) २०२४ नोभेम्बर ११ देखि अजरबैजानको बाकुमा चलिरहेको छ । पहिलो हप्ताको अन्तिम दिनसम्म आइपुग्दा यो सम्मेलनमा के के भए त भन्ने सबैमा चासोको बढेको छ । ‘वित्तीय कोप’ भनेर चिनिएको सम्मेलन कुन दिशातिर जान्छ त्यो भने अब हुने वार्ता तथा छलफलले बताउने नै छ । कोप २९ मा कोप २८ को नतिजामा आधारित रणनीति अघि बढेका छन् । यस सम्मेलनमा जलवायु वित्तीय लक्ष्य, कार्बन बजारका लागि धारा ६ अन्तर्गतका नियमहरू, हानि तथा नोक्सानीको प्रतिक्रिया कोष र अनुकूलन लक्ष्यमा प्रगतिको मापनका मापदण्डहरू निर्माण मुख्य विषयको रुपमा रहेका छन् । साथै, एनडिसी, राष्ट्रिय अनुकूलन योजना ९न्याप० र द्विवार्षिक पारदर्शिता प्रतिवेदन (बिटिआर) समयमा प्रस्तुत गर्ने महत्वाकांक्षालाई प्रोत्साहन दिन यस सम्मेलनको छलफलहरु केन्द्रित रहेका छन् ।
केही वर्षयता जलवायु परिवर्तनको असर प्रत्यक्ष रुपमा देखा पर्न थालेको छ । यसको एउटा ज्वलन्त उदाहरण उष्णतामा अस्वभाविक वृद्धि भएको छ । सन् २०२४ मा लगातार दोस्रो पटक सबैभन्दा तातो वर्ष हुने अनुमान गरिएको छ । विश्वभरि चरम मौसमी घटनाहरूको तीव्रता बढिरहेको छ । नेपाल, स्पेन र सहारामा विनाशकारी बाढीदेखि ब्राजिलको अमेजन वर्षावनमा भयावह आगलागी र अत्यधिक तापक्रम र खडेरी, यी र यस्ता जलवायु परिवर्तन को प्रभाव ले थप चुनौती सिर्जना गरेको अवस्था छ । कोप २९ को आयोजना यसै जटिल परिस्थिति र ठूला घटनाहरूको बीच भएको छ । राजनीतिक दृष्टिबाट हेर्दा विश्वमा बढी कार्बन उत्सर्जन गर्ने मुलुकहरुमध्ये एक अमेरिकामा चुनाव पनि पर्दछ । डोनाल्ड ट्रम्पको पुनःनिर्वाचनले पेरिस सम्झौताबाट फिर्ता हुने उनको योजनासहित अन्तर्राष्ट्रिय जलवायु वार्तामा ठूलो असर पार्न सक्ने कतिपयले अनुमान गरेका छन् । युएनएफसिसिसीबाट फिर्ता हुने सम्भावनाको चर्चा भए पनि, यो सजिलो हुने छैन ।
कोप २९ बाट के आशा गर्न सकिन्छ?
कोप २९ लाई वातावरण क्रियाशील विश्वका व्यक्तिहरु मात्र नभई आम सर्वसाधारणले पनि निकै चासोपूर्वक हेरिरहेका छन् । विगतका सम्मेलनहरुको तुलनामा यसपटक केही उपलब्धिमूलक नै हुने आशा उनीहरुले गरेका छन् । यसपटक जलवायु वित्त, राष्ट्रिय रूपमा निर्धारित योगदान बढाउने पहल, क्षति र नोक्सानीको वित्तीय सहयोग, अनुकूलनका लागि प्रगति, कार्बन बजारहरूको सुदृढीकरणलगायतका केही उपलब्धिहरुको आशा गरिएको छ ।
जलवायु वित्त
जलवायु वित्त १९९२ देखि अन्तर्राष्ट्रिय जलवायु वार्ताको महत्ववपूर्ण मुद्दा रहँदै आएको छ । सन् २००९ मा भएको कोप १५ ले एक सय अर्ब अमेरिकी डलर वार्षिक प्रतिबद्धता तय गरेको थियो । तर, यो लक्ष्य सन् २०२० को समयसीमाभन्दा दुई वर्षपछि सन् २०२२ मा मात्र पूरा भएको थियो । तथापि यो विषयम अझै पनि एकमत भने भएको छैन । तसर्थ, विकासशील देशहरूको आवश्यकता र प्राथमिकतालाई ध्यानमा राख्दै जलवायु वित्तको लागि वार्षिक सय अर्ब अमेरिकी डलरको न्यूनतम् आधारबाट नयाँ सामूहिक परिमाणित लक्ष्यमा सहमति जनाउने अपेक्षा यसपटकको कोपबाट गरिएको छ । पहिलो हप्ताको अन्तिम दिनसम्मको प्रगतिलाई हेर्दा केही सकारात्मक प्रयास भएको देख्न सकिन्छ । पहिलो हप्ताको उपलब्धिको रुपमा नयाँ सामूहिक परिमाणित लक्ष्यको मस्यौदा पाठ बाहिर आएको छ । तर, अझै १० पृष्ठको दस्तावेजमा पुग्नु चुनौतीपूर्ण छ । अति कम विकसित र विकासशील देशहरूले वार्षिक एक दशमलब तीन ट्रिलियन अमेरिकी डलरको जलवायु वित्त प्रतिवद्धताको माग गरिरहेका छन्, जुन जलवायु कार्य लक्ष्यहरू पूरा गर्न र जलवायु परिवर्तनका बढ्दो प्रभावहरू सामना गर्न आवश्यक रहेको छ । त्यस्तै उनीहरूले वित्तीय लक्ष्यलाई अनुदानको आधारमा उपलब्ध गराउनुपर्ने माग राखेका छन् । यसमा नेपालको पनि साझा धारणा रहेको छ ।
महत्वाकांक्षी राष्ट्रिय रूपमा निर्धारित योगदान बढाउने पहल
कोप २९ चलिरहेको छलफलमा सबै राष्ट्रहरुलाई २०२५ सम्म महत्वाकांक्षी राष्ट्रिय रूपमा निर्धारित योगदान (एनडिसी) प्रस्तुत गर्न प्रोत्साहन गरिरहेको छ । प्रायः सबैजसो छलफलहरुले सबै देशहरूलाई २०२५ सम्म थप महत्वाकांक्षी एनडिसी प्रस्तुत गर्न प्रेरित गरिरहेको छ । सन् २०३० र २०३५ को नयाँ लक्ष्यसहित प्रस्तुत हुने एनडिसीले विश्वव्यापी तापक्रम वृद्धि १.५ डिग्रीमा सीमित गर्न सक्छ भन्ने विवरण यसअघिको कोपमा पनि प्रस्तुत भइसकेको छ ।
क्षति र नोक्सानीको वित्तीय सहयोग
यसपटक भइरहेको कोपले क्षति र नोक्सानीको कोष (एफआरएलडी)को कार्यान्वयनलाई प्राथमिकतामा राखेको छ । यो कोष सन् २०२५ सम्म आफ्नो पहिलो वित्तीय वितरण गर्ने योजनामा छ । तर, विकसित देशहरूले क्षति र नोक्सानीको वित्तीय सहयोगलाई नयाँ सामूहिक परिमाणित लक्ष्यमा समेट्न अनिच्छा देखाएका छन् । क्षति र हानिका लागि कोष सञ्चालन गर्नु २०२३ मा दुबईमा सम्पन्न कोप २८ को सबैभन्दा ठूलो उपलब्धिमध्ये एक मानिएको थियो । यस हप्ता कोप २९ मा स्वीडेनले कोषका लागि थप १९ मिलियन अमेरिकी डलर प्रदान गर्ने प्रतिवद्धता जनाएको छ, जसले कोषमा प्रतिवद्ध कुल रकम ७२० मिलियन अमेरिकी डलरभन्दा बढी पुर्याएको छ । यस हप्ता कोषको बोर्ड र विश्व बैंकबीच ट्रस्टी सम्झौता र सचिवालय आतिथ्य सम्झौता साथै बोर्ड र आतिथ्य प्रदान गर्ने देश फिलिपिन्सबीच आतिथ्य देश सम्झौता समेत सम्पन्न भएको छ ।
अनुकूलनका लागि प्रगति
“ग्लोबल गोल अन एडाप्टेसन (जिजिए) सम्बन्धी छलफलहरू पेरिस सम्झौताका लक्ष्यहरू पूरा गर्नका लागि महत्वपूर्ण छन् । विशेषगरी जोखिमपूर्ण समुदायको लागि सहनशीलता निर्माण गर्ने र जोखिमको अवस्थाहरू घटाउने सन्दर्भमा पक्ष राष्ट्रहरूले जिजिए मापन गर्न स्पष्ट मापदण्डहरू र सूचकहरू निर्धारण गर्ने विषयमा छलफल गरिरहेका छन् । विशेष गरी वित्तीय स्रोतहरू निर्धारण गर्ने सूचकहरू समावेश गर्ने विषयमा निर्णय हुने आशा रहेको छ । साथै, यसै विषयमा समाबेश हिमालको मुद्दामा नेपालले अन्य हिमाली देशहरुसँग मिलेर आफ्नो प्रष्ट धारणा राखिरहेको छ ।
कार्बन बजारहरूको सुदृढीकरण
जसरी कोप २९वार्ता बाकुमा जारी छ, पेरिस सम्झौताको धारा ६ अन्तर्गत उल्लेखनीय प्रगति भएको छ । यसले कार्बन बजारहरूमा अन्तर्राष्ट्रिय सहकार्यका संयन्त्रहरूको व्यवस्था गर्दछ । धारा ६.४ अन्तर्गत विश्वको कार्बन बजारलाई सञ्चालनमा ल्याउने खाकाको स्वीकृति प्रमुख उपलब्धि भएको छ । यो संयन्त्रले पारदर्शिता बढाउने र कार्बन क्रेडिटहरूले वास्तवमा विश्वव्यापी उत्सर्जन कटौतीमा योगदान पुर्याएको सुनिश्चित गर्ने उद्देश्य राख्छ । यस निर्णयले क्योटो अभिसन्धिको पुरानो स्वच्छ विकास संयन्त्रलाई प्रतिस्थापन गर्दै उत्सर्जन कटौतीको लागि संयुक्त राष्ट्रसङ्घको निगरानीमा बलियो व्यापार प्रणालीको आधार तयार गर्छ । तथापि, यसभित्रका केही अन्य थुप्रै विषयहरुमा छलफलहरु निस्कर्षमा पुग्न अझै बाँकी छ ।
पारदर्शिता
द्विवार्षिक पारदर्शिता प्रतिवेदन (बिटिआर) ले देशहरूबीच विश्वास निर्माण गर्ने र तिनीहरूको आवश्यकताहरूको पहिचान गर्न सघाउने भएकाले यस्ता प्रतिवेदनलाई कसरी गुणस्तरीय बनाउन सकिन्छ भनेर छलफल अगाडि बढेको छ । त्यस्तै यही कुरालाई सम्बोधन गर्न अजरबैजानले पारदर्शिता प्रवद्र्धधन गर्न नयाँ डिजिटल प्लेटफर्म सुरू गरेको छ । कोप २९ का मुख्य विषयवस्तुहरूमा जलवायु वित्त, महत्वाकांक्षा, न्यायसङ्गत सङ्क्रमण, अनुकूलन र क्षति तथा नोक्सानी, तापक्रम वृद्धिलाई १।५ डिग्री सेल्सििएससम्म सीमित गर्नका लागि महत्वपूर्ण छन् । यसै लक्षमा सफलता प्राप्तिको लागि गएको कोपको अध्यक्ष, यस कोपका अध्यक्ष र आगामी वर्ष ब्राजिलमा हुने कोपका भावी अध्यक्षको सदस्यतामा गठित ट्रोइकाको मिसन १.५ डिग्री सेल्सिएसको रोडम्याप’ ले सामूहिक महत्वाकांक्षालाई जोड दिएको छ । (लेखक विश्व वन्यजन्तु कोषसँग आवद्ध छन्)










छिटो राहदानी बनाइदिने भन्दै विचौलियाको काम गर्ने ८ जना पक्राउ
गोरखामा ट्र्याक्टर दुर्घटना हुँदा एकजनाको मृत्यु
जेनजी आन्दोलनका घाइतेलाई तत्काल १५ हजार दिने सरकारको निर्णय
पोखरालाई विराटनगरकाे विशाल लक्ष्य
हाजिरीमा सिमित छन् फिर्ता बोलाइका राजदूत
मृत्युदण्डको सजायपछि शेख हसिनाले के भनिन् ?
प्रतिनिधि सभा निर्वाचनका लागि उम्मेदवारी दर्ता माघ ६ गते
बढ्यो पेट्रोल र डिजेलको मूल्य
एकैदिन तोलामा ६ हजार ९०० ले घट्यो सुनको मूल्य
बंगलादेशकी पूर्वप्रधानमन्त्री शेख हसिनालाई मृत्युदण्डको सजाय
प्रतिक्रिया