आइतबार, फागुन ३, २०८२

युवालाई विदेशिनबाट रोक्नका लागि साझा व्यवस्थापनको खाँचो छ : देउवा

मेरोन्यूज २०८१ मंसिर १२ गते १९:३८

काठमाडौं । नेपाली कांग्रेसका सभापति एवं पूर्वप्रधानमन्त्री शेरबहादुर देउवाले युवाहरूलाई विदेशिनबाट रोक्न एसियाली मुलुकहरूको साझा अवधारणासहितको व्यवस्थापनको खाँचो रहेको औँल्याएका छन् ।

Advertisement
nepal life insurencenepal life insurence

काठमाडौँमा आजदेखि सुरू छैटौँ एसियाली जनसङ्ख्या सम्मेलनको उद्घाटन समारोहलाई सम्बोधन गर्दै सभापति देउवाले युवाको विदेश पलायन रोक्नु नै चुनौतीको विषय भएको भन्दै यसतर्फ साझा व्यवस्थापनको खाँचो रहेको औँल्याए ।

सभापति देउवाले भने, ‘नेपालको सवालमा ठूलो सङ्ख्यामा युवा अवसरको खोजीमा अन्यत्र सर्नेक्रम देखिएको छ । हामी एक्लैलेमात्र उनीहरूको ऊर्जा, उत्पादनशीलता, नवप्रवर्तन र उद्यमशीलतालाई व्यवस्थापन गर्नसक्ने अवस्थामा छैनौँ । युवापुस्ता राम्रो आम्दानीको स्रोतको खोजीमा बाहिर बसाइँ सर्दैछन् । त्यसैले एसियाको धेरै खालको विकासको अवधारणामा साझा व्यवस्थापनको खाँचो रहेको छ ।’

उनले युवालाई आवश्यकताअनुसार उद्यमशीलतामा जोड्न नसकिए अझै युवा विदेशिनेक्रम बढ्ने पनि बताए ।

सभापति देउवाले विभिन्न सामाजिक मुद्दाहरूले भविष्यलाई नै चुनौती सिर्जना गरिरहेका सन्दर्भ जोड्दै बालविवाह, पोषण, शिक्षा आदिले समाजलाई प्रभाव पारिरहेको बताए ।

विश्वमा भइरहेको तापक्रम वृद्धि तथा जलवायु परिवर्तनका मुद्दाले पहिल्यै कायम रहेका समस्याहरूलाई थप बढावा दिइरहेको उल्लेख गर्दै उनले यस सम्मेलनले ती चुनौतीलाई पार गर्न प्रभावकारी मार्गनिर्देशनहरू दिन्छ भन्ने आशा राखेको बताए ।

यस सम्मेलनले एसिया क्षेत्रमा देखिएको जनसाङ्ख्यिक सङ्क्रमणलाई व्यवस्थापन गर्न पनि आवश्यक पहल लिने अपेक्षा रहेको उनले बताए ।

प्रतिक्रिया