बुधबार, वैशाख १०, २०८२

एनपीएल

प्लेअफमा पुग्ने पहिलो टोली बन्यो जनकपुर

मेरोन्यूज २०८१ मंसिर २७ गते १६:०७

काठमाडौं । जनकपुर बोल्ट्स नेपाल प्रिमियर लिग (एनपीएल) को प्लेअफ पुग्ने पहिलो टोली बनेको छ ।

त्रिवि मैदानमा बिहीबार भएकाे खेलमा काठमान्डु गुर्खाजलाई ५ विकेटले पराजित गर्दै पाँचौ जित हात पारेको जनकपुरले लिगको अन्तिम खेल खेल्नुअघि नै प्लेअफमा स्थान पक्का गरेको हो ।

काठमाडौँले जितका लागि दिएको एक सय दुई रनको लक्ष्य जनकपुरले १५ दशमलव पाँच ओभरमा पाँच विकेटको क्षतिमा पूरा गरेको हो ।

जनकपुरका लागि जेम्स निशमले सर्वाधिक २७ रन बनाए । उनले १७ बलमा तीन छक्का र एक चौकाको मद्दतले २७ रन बनाएका हुन् । हर्ष ठाकरले २५, लाहिरु मिलन्थाले १६, मोहम्मद मोहसिनले १३ र कप्तान अनिल शाहले ११ रनको योगदान दिए । काठमाडौँका लागि शुभ कङ्साकारले पाँच रन जोड्दा आसिफ शेखले दुई रन बनाए ।

यो खेलमा जनकपुरले अतिरिक्त पाँच रन प्राप्त गरेको छ । बलिङतर्फ काठमाडौँका कप्तान करण केसीले सर्वाधिक दुई विकेट लिए । गेरहार्ड इरास्मस, दिपेश कँडेल र शाहब आलमले समान एक/एक विकेट हात पारे ।

टस जितेर पहिले ब्याटिङ गर्ने निर्णय लिएको काठमाडौँले १९ दशमलव तीन ओभरमा सबै विकेट गुमाएर एक सय एक रन बनाएको थियो । काठमाडौँका लागि गेरहार्ड इरास्मसले सर्वाधिक २० रन बनाए । कप्तान करण केसीले १९ र स्टिफन एस्किनाजी १७ रन बाहेक अन्य कुनै खेलाडीले दोहोरो अङ्कको रन बनाउन सकेनन् ।

काठमाडौँका लागि शाहब आलम र माइकल लेविटले समान आठ/आठ, रासिद खानले सात, प्रतिक श्रेष्ठले छ, भीम सार्कीले चार र डेन डउथवेटले एक रन बनाए । यो खेलमा काठमाडौँले अतिरिक्त ११ रन पाएको थियो ।

जनकपुरको लागि ललित राजवंशी र शेर मल्लले सर्वाधिक समान तीन/तीन विकेट लिए । यस्तै, मोहम्मद मोहसिनले दुई, अर्निको यादव र किशोर महतोले एक/एक विकेट हात पारेका थिए ।

प्रतिक्रिया