नेपालले हङकङलाई दियो २६६ रनको लक्ष्य

काठमाडौं। मुलपानी क्रिकेट मैदानमा जारी नेपाल र हङकङको अण्डर–१९ क्रिकेट टोलीबीचको एक दिवसीय श्रृंखला (सिरिज) को अन्तिम खेलमा नेपाली टोलीले २६६ रनको लक्ष्य दिएको छ ।
शुक्रबार बिहान टस जितेर पहिले ब्याटिङ रोजेको नेपाली युवा टोलीले ४९ ओभर १ बलमा अलआउट हुँदै २६५ रन जोडेको हो ।
सूर्यांशु कोइरालाले सर्वाधिक ६३ रन जोड्दा सन्तोष यादवले ५३ र अभिषेक तिवारीले ५६ रन जोडे । ९६ बलको सामाना गरेका सूर्यांशुले ८ चौका र १ छक्का हिर्काउँदा ४१ बलमा तिवारीले ४ चौका र २ छक्का हिर्काए । ४५ बलमा सन्तोषले पनि ५ चौका र १ छक्का हिर्काएका थिए ।
नरेन भट्टले ३६ रन जोडेको खेलमा सोहिल कुँवरले १३ तथा राजेश बोहराले ११ र निरज यादवले ७ रन थपे । २१ रन नेपालले अतिरिक्त पायो । बलिङमा हङकङ्गका डेनियल म्याप, पार्थ श्रीवास्तव, सयन पुरी र प्रित मान्गुकियाले समान २ विकेट लिए ।
लगातार दुई खेलमा जित निकाल्दै नेपालले ३ खेलको एक दिवसीय यू–१९ सिरिज आफ्नो पक्षमा पारिसकेको छ । पहिलो खेलमा ३ विकेटको जित निकालेको नेपालले दोस्रो खेलमा हङकङलाई २२६ रनले पराजित गरेको थियो ।
प्रतिक्रिया