मंगलबार, वैशाख १६, २०८२

नेपाल रेडक्रस सोसाइटीद्वारा पत्रकारलाई मानवीय मूल्य मान्यतासम्बन्धी प्रशिक्षण

मेरोन्यूज २०८१ पुष ९ गते २०:३२

काठमाडौँ । नेपाल रेडक्रस सोसाइटीद्वारा मानवीय मूल्य मान्यता सेवाकार्यसँग सम्बन्धित खोज र अनुसन्धानमा क्रियाशील पत्रकारका लागि सञ्चालित मानवीय पक्षको रिपोर्टिङसम्बन्धी तीनदिने प्रशिक्षण काभ्रेको बनेपा बुडोलमा सम्पन्न भएको छ ।

पुस ७ गतेदेखि सञ्चालन भएको सो तालिममा वरिष्ठ पत्रकारद्वय जगत नेपाल र लक्ष्मण दत्त पन्त, विज्ञ कृष्ण चालिसे, नेपाल रेडक्रसको मानवीय मूल्य तथा सञ्चार विभागका निर्देशक विपुल न्यौपाने र उपनिर्देशक शिवराम गौतमले सहजीकरण गरेका थिए ।

तालिममा रेडक्रस अभियान, नेपाल रेडक्रस सोसाइटी इतिहास, साङ्गठनिक संरचना र गतिविधिहरू, अन्तर्राष्ट्रिय मानवीय कानुन, मानवीय मूल्य प्रवर्द्धन, मानवीय कूटनीति, विपद्का समयमा गरिने मानवीय रिपोर्टिङ, आमसञ्चार, जोखिम सञ्चार र आचार संहितालगायत विषयहरूमा प्रशिक्षण गराएका थिए ।

तालिमका क्रममा नेपाल रेडक्रसका अध्यक्ष प्राध्यापक सुदर्शनप्रसाद नेपालले रेडक्रसद्वारा सञ्चालित मानवीय सेवाका गतिविधिका प्रचारप्रसारमा पुर्‍याइएको सहयोग र योगदानको प्रशंसा गर्दै यस तालिमबाट सहभागीलाई मानवीय गतिविधिको रिपोर्टिङका क्रममा महत्त्वपूर्ण सहयोग पुग्ने अपेक्षा गरिएको बताए ।

रेडक्रसका निर्देशक न्यौपानेले रेडक्रसका मानवीय गतिविधिहरूलाई बुझाउने, प्रचारप्रसार गर्ने र यसका कार्यहरूलाई सरकारलगायत अन्य निकायहरूलाई सहमत गराई गतिविधिको पहुँच बढाउने कार्यमा मानवीय कूटनीतिबाट सहयोग पुग्ने बताए ।

उनले रेडक्रस सामान्य गैरसरकारी संस्था नभई संयुक्त राष्ट्रसंघको मान्यता प्राप्त अन्तर्राष्ट्रिय संस्था भएकाले यसका मूल्य र मान्यताको प्रभावकारी कार्यान्वयन गर्न नेपालमा छुट्टै रेडक्रस कानून आवश्यक रहेको औंल्याए ।

नेपाल रेडक्रस सोसाइटी केन्द्रीय कार्यालयद्वारा सञ्चालित ३ दिने मानवीय रिपोर्टिङ तालिमको मंगलबार भएको समापनमा अध्यक्ष नेपालले अन्तर्राष्ट्रिय रेडक्रसमा आवद्ध १९२ देशमध्ये १२० भन्दा बढी राष्ट्रले आफ्नो छुट्टै रेडक्रस कानून बनाएर कार्यान्वयनमा ल्याइरहेको स्पष्ट पारे ।

‘रेडक्रस सानो गैरसरकारी संस्था होइन । अन्तर्राष्ट्रिय मानवीय कार्य गर्ने संस्था हो । यसले दर्ता र नवीकरण जस्ता प्रशासनिक झमेलामा फसेर रेडक्रसका अन्तर्राष्ट्रिय मूल्य-मान्यताको कार्यान्वयन प्रभावकारी हुँदैन’, उनले भने, ‘रेडक्रस राष्ट्रियमात्रै होइन, अन्तर्राष्ट्रिय अभियान हो । रेडक्रसमा आवद्ध १९२ देशमध्ये १२० भन्दा बढी राष्ट्रले रेडक्रससम्बन्धी आफ्नै कानून बनाएका छन् । त्यसैले यसका मूल्य मान्यता र अभियानलाई सोहीअनुरुप अगाडि बढाउन नेपालमा रेडक्रससम्बन्धी छुट्टै कानून आवश्यक छ ।’

अध्यक्ष नेपालले रेडक्रसम्बन्धी कानून संस्थाले नभई देशको संसदले बनाउनुपर्ने स्पष्ट पारे । तैपनि आफूहरुले कानून मन्त्रालय र मन्त्रीलाई पटकपटक भेटेर रेडक्रससम्बन्धी छुट्टै कानून बनाउन ध्यानाकर्षण गर्दै आएको उनको भनाइ थियो ।

‘रेडक्रससम्बन्धी कानून बनाउन मन्त्रालय र मन्त्रीसँग पटकपटक छलफल गरेका छौं । उहाँहरुले अब कानून बन्छ भनेकै वर्षदिन भइसक्यो, तर कानून ड्राफ्टसम्म भएको छैन’, अध्यक्ष नेपालले गुनासो गरे, ‘कानून बनेको खण्डमा रेडक्रस र यसको चिह्नको दुरुपयोग हुन पाउँदैनथ्यो । रेडक्रस अभियान निर्वाध रुपमा अघि बढ्थ्यो ।’

उनले रेडक्रसमा रहेको विवाद पूर्ण रुपमा नसुल्झिए पनि यही पुस २० र २१ गते विधान संशाेधन महाधिवेशन गरेर संस्थालाई स्थानीय तहसम्म विस्तार गर्न लागिएको जानकारी दिए । विधान अधिवेशनपछि चैतभित्रै केन्द्रीय महाधिवेशन गरेर रेडक्रसमा नयाँ नेतृत्व चुन्ने तयारी भइरहेको उनको भनाइ छ ।

काभ्रेको बनेपास्थित नेपाल रेडक्रस सोसाइटीको केन्द्रीय तालिम प्रतिष्ठानमा भएको तालिममा सहभागी सञ्चारकर्मीहरुको सक्रियतामा ‘ह्युम्यानिटेरियन च्याम्पियन जर्नलिस्ट ग्रुप’समेत गठन गरिएको छ । जसको संयोजक पेशल आचार्य र सहसंयोजक भगवती तिमिल्सेना रहेका छन् ।

तालिममा २३ जना पत्रकारको सहभागिता थियो ।

प्रतिक्रिया