सोमबार, जेठ २६, २०८२

हरित क्रान्तिमा तेह्रथुमका किसान

मेरोन्यूज २०८२ जेठ २५ गते २०:४७

तेह्रथुम। फेदाप गाउँपालिका–६ का केशरबहादुर घिसिङको जमिनमा कुनै बेला ३० देखि ४० मनसम्म अलैँची फल्थ्यो । एक्कासि अलैँचीमा गानो कुहिने र छिर्के फुर्केजस्ता रोग लागेपछि बगान मासिँदा उत्पादन ठप्प भयो । 

आम्दानीको मुख्य स्रोत अलैँची मासिँदा उनमा चिन्ता थपिनु स्वाभाविक थियो । त्यही बेला कोसी प्रदेश सरकारको पर्यटन वन तथा वातावरण मन्त्रालयमार्फत प्रदेश वन विकास कार्यक्रमअन्तर्गत कृषि वन प्रणाली प्रवर्द्धन कार्यक्रम सुरु भयो ।
    
केशरबहादुर पनि त्यो कार्यक्रममा जोडिए । उक्त कार्यक्रममा आफू जोडिनु ‘ढुङ्गा खोज्दा देउता मिल्यो’ भन्ने उखान चरितार्थ भएको अनुभूति भएको उनी सुनाउँछन् ।

‘प्रक्रिया पुर्‍याएर कागजात पेस गरेको थिएँ, एक लाख रुपैयाँ अनुदान प्राप्त भयो, त्यहीँ अनुदानबापत प्राप्त भएको नगद लगानी गरेर काठ र फलफूलका बिरुवा रोपेको छु’, घिसिङले भने ।
       
अनुदान आएपछि रोपेका काठ र फलफूल घिसिङको बगानमा धमाधम हुर्किंदैछन् । उनले ४५ रोपनी क्षेत्रफलमा फैलिएको जमिनमा अलैँचीसँगै ओखर, हलुवावेद जर्मन नस्पाती र खुर्पानीलगायत बिरुवा रोपेका छन् । उनको बगानमा यतिबेला ती बिरुवा धमाधम हुर्किइरहेका छन् । ‘प्रदेश वन विकास कार्यक्रममार्फत आर्थिक वर्ष २०७९/८० मा प्राप्त एक लाख रुपैयाँ अनुदान सहयोगमा रोपेका बिरुवाले बगान हरियाली भएको छ’, घिसिङले थपे ।
    
फेदाप गाउँपालिका–६ इसिबु घर भएका ६६ वर्षीय घिसिङ प्रायः आफूले रोपेका काठ, फलफूल र अलैँचीका बिरुवा गोडमेल गर्न व्यस्त भेटिन्छन् । उनको नाममा दर्ता भएको कृषि फार्ममा उन्नत जातका सुन्तला, बोधिचित्त, ओखरजस्ता फलफूलका बेर्ना उत्पादन हुन्छन् । ती बेर्ना तेह्रथुम र धनकुटाका विभिन्न स्थानबाट आएका किसानले किनेर लैजान्छन् ।
    
उनले ५० वटा बोयर जातका बाख्रासमेत पालेका छन् । अलैँचीखेती, बेर्ना उत्पादन र बाख्रापालनबाट वार्षिक १० लाख रुपैयाँ हाराहारी आम्दानी गर्दै आएको उनी सुनाउँछन् । ‘सात जनाको परिवार यहीँ आम्दानीले धानेको छ, उत्तिसका गोलिया हुर्केपछि बिक्री गर्दा एकामुष्ट आम्दानी हुन्छ, त्यो पैसा कृषि उद्यममै लगानी गर्ने योजना छ’, उनले भने ।
    
पुस्तौँदेखि कृषिकर्म गर्दै आएका उनले कोसी प्रदेश सरकार मातहतको डिजिजन वन  कार्यालयबाट बिरुवा रोप्न पहिलो पटक अनुदान पाएका हुन् । ‘उजाड हुन लागेका कान्ला भित्तामा बिरुवा रोप्ने अनुदान पाइयो, धमाधम हरियाली फर्कंदैछ, पाखुरा बजार्नेहरुलाई पनि प्रदेश सरकारले हेर्दोरहेछ’, उनले भने ।
    
केशरबहादुर जस्तै तेह्रथुमकै मेन्छ्यायेम गाउँपालिका–६ मोराहाङका ऋषिबहादुर थापाले पनि ४० रोपनी क्षेत्रफलमा अलैँची र उत्तिसका बिरुवा रोपेका छन्  ।

पाँच वर्षअघि पाँच लाख रुपैयाँको उत्तिसको गोलिया बेचेका उनले प्रदेश सरकारको कृषि वन प्रणाली प्रवर्द्धन कार्यक्रममार्फत एक लाख रुपैयाँ अनुदान पाएपछि पुनः उत्तिसका बिरुवा रोपेका हुन् । ‘दुई वर्षअघि रोपेको उत्तिस बगान मज्जाले हुर्कंदैछ, चार–पाँच वर्षपछि बगान हुर्कन्छ, अनि फेरि गोलिया बेच्ने हो’, उनले भने ।

Advertisement
machhapuchare

प्रतिक्रिया