शनिबार, वैशाख २०, २०८२

जलवायु परिवर्तनका क्षेत्रमा प्राप्त उपलब्धि कार्यान्वयनमा ध्यान केन्द्रित : वनमन्त्री शाही

मेरोन्यूज २०८१ पुष ११ गते १९:०३

काठमाडौँ । वन तथा वातावरणमन्त्री ऐनबहादुर शाही ठकुरीले जलवायु परिवर्तनको क्षेत्रमा मुलुकले पैरवी गरी प्राप्त उपलब्धि कार्यान्वयन गर्नेतर्फ मन्त्रायलको ध्यान केन्द्रित भएको बताएका छन्।

मन्त्रालयद्वारा बिहीबार यहाँ आयोजित २९औं विश्व जलवायु सम्मेलनको समिक्षा कार्यक्रममा उहाँले उक्त उपलब्धि कार्यान्वयनका लागि आवश्यक कानुन निर्माण र संस्थागत सुधारका लागि पहल गरिसकेको बताए। मन्त्री शाहीले जलवायु सङ्कटसँग जुध्न कुनै एक देश वा समुदायले मात्र सम्भव नरहेको बताए।

“यस्तो अवस्थामा, जलवायु परिवर्तनले हामीलाई पारिरहेको गम्भीर असर र हाम्रो देशले लिन सक्ने लाभका बारेमा विश्वको ध्यान आकृष्ट गर्न कोप–२९ मा नेपाली प्रतिनिधीमण्डल सफल भएको हाम्रो बुझाई छ,” उनले भने, “जलवायु परिवर्तनमा पर्वतीय क्षेत्रका विषयहरु समेटिनु पर्दछ भन्ने छलफलको नेतृत्व गर्न हामी सफल भएका छौँ।”

सम्मेलनको दौरानमा नेपालमा जलवायु अनुकुलनका लागि आवश्यक सहयोग जुटाउने प्रकृयाका लागि “राष्ट्रिय प्रकृति संरक्षण कोष” संयुक्त राष्ट्र संघअन्तर्गतको अनुकूलन कोषको कार्यान्वयन गर्ने संस्थाका रुपमा सूचिकृत हुनु अर्को सफलता भएको उनले बताए।

मन्त्री शाहीले सन् २०२५ मा बुझाउने २०३५ सम्मका लक्ष्यसहितका नयाँ ‘एनडिसी’ बनाउने प्रकृया मन्त्रालयले अघि बढाइरहेको उल्लेख गरे। उनले जलवायु परिवर्तनका बारेमा राष्ट्रिय र अन्तर्राष्ट्रिय सहभागितासहित सगरमाथा संवाद आयोजनाको तयारी गरिरहेको जानकारी गराए।

संयुक्त राष्ट्रसङ्घीय जलवायु परिवर्तन प्रारुप महासन्धीका पक्ष राष्ट्रहरुको २९औँ सम्मेलन गत कात्तिक २६ गतेदेखि मङ्िसर ७ गतेसम्म अजरबैजानको बाकुमा भएको थियो। राष्ट्रपति रामचन्द्र पौडेलको नेतृत्वमा नेपाली प्रतिनिधिमण्डलले सम्मेलनमा भाग लिएको थियो।

प्रतिक्रिया