गरिबी निवारणको ‘चिनियाँ मोडल’ : जोङयी गाउँको प्रत्यक्ष अनुभव

चीनको छोङछिङ नगरको शिजु जिल्लाको जोङयी गाउँपालिका । सन् २०२१ मा राष्ट्रिय ग्रामिण प्रशासन मोडेल गाउँपालिका घोषणा भएको क्षेत्र । त्यहाँको हुआशी गाँउका ५७ वर्षिय चेन पोङ (Chen Peng)।
आजकाल उनलाई फूर्सद छैन । कहिले आफ्नै चियापसल, कहिले जडीबुटी खोज्ने काम, कहिले उत्पादनका काम त कहिले चिनियाँ कम्युनिष्ट पार्टी संगठनको काम । उनको दैनिकी अचेल यसैगरी बित्छ ।
पहिला उनको दैनिकी नै बरालिएर हिँड्ने थियो । मदिरा पिउने, परिवारसँग कहिल्यै पारिवारिक छलफलमा नबस्ने, साथीभाईसँग त्यक्ति संगत पनि नगर्ने, एकांङकी स्वभावको, टर्राे बानीब्यहोराको । कसैले ज्ञानगुनका कुरा सुनाए पनि त्यसलाई ब्यर्थको अर्ति उपदेशका रुपमा लिन्थे उनी । यस्तो बानीले न उनलाई जीवन जीउन सहज बनायो, न परिवारकै गुजारा राम्रो चल्यो । घरमा श्रीमतीले पालेको सुँगुर समेत बेचिदिएर उनी मदिरा (जाँड) पिउँथे ।
कत्ति गर्दा पनि श्रीमान नसुध्रेपछि श्रीमती दिक्क थिइन् । स्थानीय चिनियाँ कम्युनिष्ट पार्टीका नेता -कार्यकर्ता उनलाई सम्झाउन खोज्थे । तर उनी सम्झाउनेसँगै सवाल जवाफमा उत्रन्थे । चेन पोङको ब्यवहारबाट परिवार र चिनियाँ कम्युनिष्ट पार्टीका नेता –कार्यकर्ता आजित थिए ।
एक दिन उनी निक्कै बिरामी परे । उपचारका लागि ठूलो धनराशी खर्च हुने भयो । परिवार, आफन्तसँग खोजी गरेर जेनतेन उपचार भयो । तर उनको बानी सुध्रिएको थिएन ।
एकदिन चिनियाँ राष्ट्रपति सी चिनफिङ छोङछिङ भ्रमणमा पुगेका बेला शिजु जिल्लाको जोङयी गाँउपालिका पनि पुगे । त्यो दिन थियो – सन् २०१९ अप्रिल १५ तारिख । आज पनि त्यहाँका गाउँलेहरुलाई त्यो दिनको मिति कन्ठस्थ छ ।
राष्ट्रपति सी जोङयी गाँउको हुआशीमा रहेको चेन पोङको मनोरथा आँगनमै पुगे ।
चिनियाँ कम्युनिष्ट पार्टी र त्यहाँको सरकारले गरिबी निवारण कार्यक्रम अगाडी बढाइरहेका बेला त्यसैका बारेमा जोङयी गाउँका बासिन्दाका प्रतिनिधि, स्थानीय पार्टी कार्यकर्ता, स्थानिय अधिकारी, गरिबी निवारणका कर्मचारी र डाक्टरहरुसँगको छलफल पछि राष्टपति सी त्यहाँ पुगेका थिए । त्यसबेला साँझको ६ बज्न लागेको थियो ।
हुआशीको मा पेइकिङको घरमा राष्ट्रपति सी पुगे । पेइकिङ चेन पोङकै आमा थिइन् । राष्ट्रपति सीले पेइकिङसँग भेटे । छोरा चेन पोङलाई पनि भेटे ।
(हेर्नुहोस् त्यसबेलाको तस्विर)

चेन पोङले जब राष्ट्रपतिसँग आफ्नै आँगनमा भेटे । राष्ट्रपति सीले उनलाई सम्झाए । त्यसपछि भने उनको जीवनकथा बदलियो ।
उनले पहिले जसरी जाँड खान छोडे । बरालिएर हिड्ने काम पनि छोडे । आफैं केही गर्नुपर्छ भन्ने उनलाई लाग्न थाल्यो । स्थानीय पार्टी कमिटिले उनलाई उधमशिलताका लागि सहयोग गरे । आफैंले सानो चिया पसलबाट ब्यवसाय सुरु गरे । अरुको काम गर्न जाने उनको श्रीमती पनि सँगै चिया पसलमा जोडिइन् । अहिले उनकाे श्रीमती खुसी छिन् ।
सानो छोरा उच्च शिक्षा पढिरहेको छ । ठूलो छोरा विश्वविद्यालय अध्ययन गर्छ । आमालाई पनि उनले राम्रोसँग ध्यान दिइरहेका छन् । उनी आफैं अहिले पार्टीको जिम्मेवार नेता पनि बनेका छन् । भन्छन्,–‘पार्टीले जीवन बदलिदियो, खुशी छु ।’
चिनियाँ कम्युनिष्ट पार्टी (सीपीसी) को सन् २०१२ को अन्त्यमा आयोजित १८ औं राष्ट्रिय कांग्रेसदेखि चीनले गरिबीसँग लड्न निर्णायक कार्यक्रम अगाडी बढाएको थियो । निरपेक्ष गरिबी उन्मूलन गर्ने लक्ष्य बनाएको थियो ।
जोङयी यही गाँउ मध्येको एक गाउँ हो । जुन एकसमय निक्कै गरिबीमा पिल्सनुपरेको थियो । पर्वतीय भौगोलिक संरचनाका कारण कृषि उत्पादन सीमित थियो र यातायातको पहुँच पनि कठिन । गाउँका अधिकांश बासिन्दा अन्य शहरहरूमा श्रम गर्न जान्थे, जसले गर्दा कृषिमा श्रमिकको अभाव थियो, जमिनको उपयोगिता पनि न्यून ।
माओले दीर्घकालिन जनयुद्द गर्दा यो भूगोल चिनियाँ कम्युनिष्ट क्रान्तिकारीहरुको इतिहाससँग जोडिएको भूगोल पनि थियो । दुर्गम पहाडी तथा खोँच इलाका भएकोले अध्यक्ष माओको नेतृत्वमा जोङयीका यी भूगोलहरुमा लालसेना बस्थे । क्रान्तिकारी संघर्ष र संघर्षको तयारी कतिपय बेला यहीँबाट पनि गरेका थिए । पछि राष्ट्रपति सी चिनफिङले गरिबी निवारण अभियान अगाडी बढाएपछि ब्यवस्थित बस्ती बस्न सुरु गरेको चिनियाँ कम्युनिष्ट पार्टीका स्थानीय नेताहरुको भनाइ छ । यहाँका सबै बस्ती सरकारको व्यवस्थित बस्ती बिकास योजना अन्तर्गत बनाइएका छन् ।
कुइची क्षेत्र र उच्च पहाडका इलाकाबाट बसाइँ सारेर ल्याइएकालाई त्यसरी राखिएको छ । अप्ठ्यारा पहाडी भुभाग र जोखिमपुर्ण ठाउँबाट सजिलो, उत्पादनमूलक र सहज ठाउँमा बस्ती सार्ने र त्यहीँ बिकास र अवसर जनतालाई प्रदान गर्ने नीति अन्तर्गत बस्ती विकासका योजना बनाइएको थियो ।
त्यही भएर पनि छोङछिङ पुगेका बेला राष्ट्रपति सी जोङयी पुगेका थिए । ‘सरकारले गरिबी निवारणको कार्यक्रम ल्याएपछि यहाँ उद्योग खोल्ने कुरा आयो । त्यसको पनि मैले सुरुमा बिरोध गरे । पछि महासचिव (राष्ट्रपति) सी हुआशी आउनुभयो । यही मेरो घरमै आउनु भयो । मलाई खान लाउन पुग्छ कि पुग्दैन भनेर सोध्नु भयो । मदिरा पिएर बिग्रेको म जस्तो मान्छेलाई राष्ट्रपतिले भेटेर काम गर्न प्रोत्साहित गर्नुभयो । त्यसबखत म धेरै भावुक भए । उहाँकै प्रेरणाले त्यसपछि फलफूल र जडिबुटी खेतीमा लागे । मैले चिया पसल सुरु गरे । श्रीमतीलाई पनि लगाए। पछि समुहमा मिलेर फलफूल बगैँचा बनायौ ।’ बदलिएको आफ्नो जीवन कथा सुनाउँदै चेन पोङले भने ।

शुरुमा २० हजार युआनबाट उनले चिया पसल र फलफुल खेती सुरु गरेका थिए । उक्त पैसा पनि पार्टीबाट सहयोग लिएका थिए । तर अहिले यो ६ वर्षको बीचमा उनीसँग ब्यवस्थित पसल छ । साथीहरुसँगै मिलेर समुहमा चलाएको फलफुलको बगैंचा छ । एक लाख युआन त उनीसँग मात्रै अहिले बचत छ । आजकल उनलाई लाग्न थालेको छ – मेहनत गर्नुपर्छ, पैसा आफ्नै घर ⁄आँगनमा फल्छ ।
‘म अहिले पार्टीमा छु र उत्पादनको जिम्मेवारी लिएको छु । परिक्षा दिएर सन २०२१ मा पार्टीमा भर्ना भएको हुँ । अहिले मेरो घरपरिवार खुसी छन् । दुई छोरा क्याम्पस पढिरहेका छन् । म अब कहिल्यै पनि गरिबी तिर फर्कने छैन ।’ चेन पोङ भन्छन् ।
हाम्रो टोली (नेकपा (माओवादी केन्द्र)का सचिव दिनानाथ शर्मा नेतृत्वको टोली) जोङयी गाँउ र हुआशीको चेन पोङको घरको मनोरथा आँगन पुग्दा उनी काममै ब्यस्त थिए । हामीसँगै रहेका चिनियाँ कम्युनिष्ट पार्टीका स्थानीय नेताहरुलाई स्वागत गरेपछि उनी आँगनमा आएर बसे ।

मनोरथा आँगन त्यही आँगन हो, जहाँ चेन पोङलाई सम्झाउन राष्ट्रपति सी समय निकालेरै पुगेका थिए । ६ वर्ष अगाडी जसरी फलैचामा राष्ट्रपति सी बसेका थिए, त्यही आँगन र फलैचा जस्ताको तस्तै, त्यसैगरी राखिएको छ । राष्ट्रपति सी बसेको कुर्सी अहिले पनि त्यही रुप, रंग र आकारमा छ । राष्ट्रपति सी पुगेको बेलाका ठूला– ठूला तस्विर घरका भित्तामा टाँगिएका छन् । चेन पोङ भन्छन्, ’२०१९ अप्रिल १५ विर्सन सकिन्न । यो मेरो लागि अविस्मरणीय छ ।’
चेन पोङ मात्र होइन, चिनियाँ कम्युनिष्ट पार्टी हुआशी गाँउका प्रथम सचिव तथा कार्य टोलीका नेता फयान ये (Fan Ye) ले पनि गाँउलाई नै कर्मभूमि बनाएका छन् । उनी आफैं कार्गो, उत्पादन र कृषिमा काम गर्छन् । भर्खर जिलिन विश्वविद्यालय पढाई सकेर गाँउ फर्केका हुन् उनी । विज्ञान र वातावरणीय इन्जिनियरिङ पढेर गाँउमै फर्केका उनी पार्टी काम र उत्पादनको क्षेत्रमा जेडिएका छन् । फ्यान ये भन्छन्, –‘हामी बिश्वबिद्यालयबाट गाउँ आउँछौ र गाउँलाई बलियो बनाउँछौ । म पनि भर्खरै विश्वविद्यालय सकेर आएको हुँ । विकास नै योग्यताको परिक्षण हो भन्ने कुरा हामीलाई महासचिव सी ले सिकाउनु भएको छ । त्यसै अनुसार हामीले हाम्रो उत्पादनलाई देश ⁄बिदेशमा बजारीकरण गरिरहेका छौं ।’
उनले पहिला फोहर नियन्त्रणमा काम गरे । अहिले ग्रामीण भेगमा गरिबी निवारणमा काम गरिरहेका छन् । ‘गाउँको पार्टी निर्माण, उत्पादन र उद्योगमा काम गर्नुपर्छ । म कार्गो, उत्पादन र कृषिमा काम गर्ने मान्छे हो । हामीले पहिले ६ हेक्टरबाट सुरुवात गरेर अहिले ८ हेक्टरमा फलफूल खेती गरेका छौं । यहाँको मुख्य उद्योग भनेको जडिबुटी हो र महासचिव सीले पनि हामीलाई जडिबुटी खेती गर्न नै भन्नुभएको छ । यहाँ जडिबुटी, आलु, फलफुल र माहुरी उद्योग सञ्चालन गरेका छौं ।’ प्रथम सचिव फ्यान ये भन्छन् ।
उनीहरुले उत्पादनको काम मात्रै गरेका छैनन्, बजारीकरणको ब्यवस्था पनि मिलाएका छन् । समुहमा मिलेर १२ थरीका जडिबुटीको कार्गो तयार गर्ने गरेका छन् । त्यही कार्गो छोङछिङ लगायत देश बिदेशमा पठाउने ब्यवस्था मिलाएका छन् । यहाँको ह्वाँङसिङ जडिबुटी संसारका १३ देशमा बिक्री हुने गरेको स्थानीय कम्युनिष्ट पार्टीका नेता– कार्यकर्ता बताउँछन् ।
चिनियाँ कम्युनिष्ट पार्टीको जोङयी गाँउ पार्टी सचिव छन् – वाङ सियाङसेङ (Wang Xiangsheng)। उनी त्यहाँको उद्याेग र उत्पादन विभाग प्रमुखको जिम्मेवारीमा पनि छन् । पार्टी महासचिव सीले जोङयी आउँदा गरेको निर्देशन अनुसार काम गर्न कतै चुकिन्छ की भन्ने चिन्ता उनलाई बारम्बार हुने गर्छ ।
‘म यहाँको गरिबी निवारणको लागि महासचिव सी को योजना कार्यान्वयन गर्न चाहन्छु । मैले त्यसो गर्न नसकेमा पार्टी र जनताको लागि नालायक हुनेछु । गरिबी निवारण गर्न सकेमा मात्रै म सफल पार्टी सचिव हुन्छु र पार्टी बलियो हुन्छ ।’ उनी भन्छन् ।

उनका अनुसार, राष्ट्रपति सी ६ वर्ष अगाडी हुआशी पुग्दा स्थानीयका घरहरु घाम र पानी नछेक्ने खालका थिए । बिरामी पर्दा उपचार गर्ने अवस्था थिएन । तर अहिले उनीहरुले संयुक्त पहलमा साझा उत्पादनको काम थालेका छन् । ‘यो एक प्रकारको ग्रामीण कम्युन जस्तै हो । गरिबी निवारणको लागि हामीले ६, ३, १ को प्रणाली लागू गरेका छौं ।’ पार्टी सचिव वाङ सियाङसेङ भन्छन्, ‘उत्पादनको ६०% उत्पादन गर्ने किसान स्वयंले राख्ने, ३०% समुदायमा बचत गर्ने र १०% कम्युन वा गाउँको विकासमा प्रयोग गर्ने गरी हामीले नीति बनाएका छौं ।’
६० वर्ष उमेर माथिकालाई जीवन निर्वाहको भत्ता दिइने गरिएको छ । युवाहरुलाई सेनामा भर्ती गर्ने र विश्वविद्यालयमा पठाउने काम अहिले गरिएको पनि उनी बताउँछन् । गाउँका एकजनाको पनि आर्थिक अवस्था विगत भन्दा कमजोर छैन । पूरानो अवस्थामा कोही पनि नफर्केको सचिव वाङ सियाङसेङ बताउँछन् ।
गरिबी निवारण अभियान थालनी भएपछि सुरुमा खाना र कपडाको आवश्यकता पूरा भएका थिए । पछि राष्ट्रपति सीको भ्रमणपछि अनिवार्य शिक्षा, आधारभूत चिकित्सा हेरचाह र सुरक्षित आवासको लागि थप प्रयास भएका छन् ।

राष्ट्रपति सीले गरिबीसँग जुध्न मुख्य दुई नीति अगाडी सारेका छन् । ढिलाई र पछाडी हट्नबाट रोक्ने । कुनै पनि काम ढिलाई नगरी समयमै गर्ने र भए गरेका काम र प्रगतिबाट पछाडि हट्न रोक्ने । राष्ट्रपति सीको यही आदेशलाई स्थानीय पार्टी कमिटिले हुबहु कार्यान्वयनको प्रयास गरिरहेको छ ।
कठिनाई र समस्याबारे सचेत हुने र प्राथमिकताहरु स्पष्ट रुपमा परिभाषित गर्न सके अफ्ठ्यारा काम पनि फत्ते गर्न सकिन्छ भन्ने बोध उनीहरुसँग छ । ६ वर्ष अगाडी हुआशी गाँउ पुग्दा सीले ब्यक्त गरेको भनाई उदधृत गर्दै पार्टी सचिव वाङ सियाङसेङले भने, ‘के समाधान गर्न आवश्यक छ र समाधान गर्न सकिन्छ भन्ने कुरालाई तुरुन्तै सम्बोधन गर्नुपर्छ । दीर्घकालिन समस्याहरुको सन्दर्भमा योजनाहरु बनाउनुपर्छ । चरणबद्द रुपमा समाधानहरुको विकास गर्नुपर्छ ।’
पछाडी फर्किन नदिने राष्ट्रपति सीको नीति अहिले गरिबी निवारणका काम भएको वस्तीको सामूहिक आत्मविश्वास बनेको छ । राष्ट्रपति सीको त्यो एक दिनको जोङयी, र त्यहाँको हुआशीको मनोरथा आँगनको भ्रमणले एउटा गाउँको मुहार बदलेको छ। यो केवल योजना वा लगानीको मात्र परिणाम होइन – यो नीति, नेतृत्व र स्थानीय इच्छाशक्तिको साझा जीत हो। जब नेतृत्वको दृष्टि, स्पष्ट रणनीति र जनताको सहभागिता एउटै दिशामा उन्मुख हुन्छ, तब गरिबी जस्तो समस्या पनि समाधान हुन सक्छ भन्ने उदाहरण जोङयीले देखाएको छ।
प्रतिक्रिया