बुधबार, चैत ४, २०८२

गुलरियामा सिँचाइ सुविधा पुर्‍याउन नहर निर्माण गरिँदै

मेरोन्यूज २०८१ पुष १६ गते २०:०९

गुलरिया (बर्दिया) । बर्दियाको गुलरिया नगरपालिकाको ६ हजार हेक्टर क्षेत्रफलमा सिँचाइ सुविधा पुर्‍याउन नहर निर्माण गर्न थालिएको छ। बबई सिँचाइ आयोजनाअन्तर्गत पश्चिमी नहर सदरमुकामसम्म पुर्‍याउने आयोजनाको लक्ष्य छ।

Advertisement
nepal life insurencenepal life insurence

गुलरिया नगरपालिका–१ र ३ को सिमाना निमकोठियाबाट चार किलोमिटर लामो नहर निर्माण गर्न लागिएको बबई सिँचाइ आयोजनाका प्रमुख सुशीलचन्द देवकोटाले बताए। वि.सं. २०४५ देखि सुरू भएको सो आयोजनाले २०८३ सालसम्म बर्दियाका ६ पालिकाको ३६ हजार हेक्टर क्षेत्रफलमा सिँचाइ सुविधा पुर्‍याउने लक्ष्य छ।

गुलरिया नगरपालिकाअन्तर्गत ६ हजार हेक्टर भूमि सिँचाइ गर्न आज नहर शिलान्यास गरिएको छ। गुलरियाका किसान आकासेपानीको भरमा खेती गर्नुपर्ने पीडाबाट अबको तीन वर्षपछि मुक्त हुने प्रमुख देवकोटाले बताए। ‘किसानले लगाएको बालीबाट अब कम खर्चमा उब्जनी बढ्ने छ’, उनले भने।

सदरमुकाम गुलरियासम्म पुर्‍याउने मूलनहर चार किलोमिटर र शाखा नहर ११ किलोमिटर निर्माण गर्न ८३ करोड बजेट छ। नगरक्षेत्रमा नहर निर्माण हुने भएपछि गुलरियाका किसान खुसी भएका छन्। नदीको पानी खेतखेतमा पुगेपछि पर्याप्त उब्जनी हुने र सिँचाइमा हुने लगानी घट्ने गुलरिया नगरपालिकाका नगरप्रमुख मुक्तिनाथ यादव बताउँछन्।

नहर शिलान्यास गर्दै उहाँले पानीको उचित व्यवस्थापन गर्न आयोजनासँग आग्रह गरे। यसअघि सिँचाइ सुविधा नहुँदा गुलरियाका किसान महँगो शुल्क तिरेर सिँचाइ गर्दै आएका थिए। बबई सिँचाइ आयोजनाले ३४ किलोमिटर पूर्वी मूल नहर र ४१ किलोमिटर पश्चिमी नहर निर्माण गर्ने लक्ष्य लिएको छ।

प्रतिक्रिया