बुधबार, चैत ४, २०८२

विमानस्थल यातायात चालकको बोली र व्यवहार राम्रो हुनुपर्छ: पर्यटन राज्यमन्त्री

मेरोन्यूज २०८१ पुष १८ गते १९:०२

काठमाडौँ । संस्कृति, पर्यटन तथा नागरिक उड्डयन राज्यमन्त्री अरुणकुमार चौधरीले नेपाल भ्रमणमा आउने पर्यटकसँग विमानस्थलभित्र सञ्चालित यातायातका चालकको बोली र व्यवहार राम्रो हुनुपर्ने बताएका छन् । 

Advertisement
nepal life insurencenepal life insurence

विमानस्थल हवाई यात्रु यातायात सेवा व्यवस्था लिमिटेडको वार्षिक साधारणसभाको अवसरमा आज आयोजित कार्यक्रममा बोल्दै उनले नेपालमा आउने पर्यटकसँगको पहिलो भेटघाट नै विमानस्थल यातायात चालकसँग हुने र उनीहरूको बोली व्यवहार राम्रो नहुँदा समग्र नेपालप्रतिको दृष्टिकोण नकारात्मक हुने गरेको बताए ।

“नेपाल आउने बित्तिकैको प्रभाव राम्रो भएमात्रै नेपाल र नेपालीप्रति विदेशीले हेर्ने दृष्टिकोण सकारात्मक हुन्छ, चालकको वोली र व्यवहारले नेपालको छविलाई विश्वमाझ चिनाउन मद्दत गर्छ”, उनले भने । 

नेपाल यातायात व्यवसायी राष्ट्रिय महासंघका अध्यक्ष विजयबहादुर स्वाँरले विमानस्थलमा आवतजावत गर्ने यात्रुहरूले भोगेका यातायात समस्यालाई मध्यनजर गर्दै स्थापित कम्पनी नेपालको यातायात क्षेत्रको नमूना कम्पनीको रूपमा विकास हुँदै गएको बताए ।    

संयुक्त ट्रेड युनियन समन्वय केन्द्रका अध्यक्ष जगत सिंखडा, नेपाल ट्रेड युनियन काँग्रेसका महासचिव अजयकुमार राई, नेपाल यातायात व्यवसायी राष्ट्रिय महासंघका पूर्वअध्यक्ष योगेन्द्रनाथ कर्माचार्य, वरिष्ठ उपाध्यक्ष सरोज सिटौलालगायतले विमानस्थलभित्रको यातायातलाई अनुशासित र मर्यादित बनाउन विमानस्थल हवाई यात्रु यातायात सेवाले महत्त्वपूर्ण भूमिका खेलेको बताएका थिए । 

कम्पनीका अध्यक्ष पुरुषोत्तम सिंखडाले कम्पनीको स्थापना पश्चात् हवाई यात्रुहरूलाई सहज भएको बताए । “विगतमा हवाई यात्रुहरूको लागि सत्कार गर्ने कम्पनीको अभाव रहेको थियो, यो कम्पनी स्थापनासँगै अहिले यातायात सेवामा यस्तो समस्या भोग्नुपरेको छैन”, उनले भने ।

नेपालमा हवाई मार्ग हुँदै नेपाल आउने र विदेश जाने स्वदेशी तथा विदेशी पर्यटकलाई यातायात सुविधा दिनका लागि विस २०६६ सालमा स्थापना भएको उक्त कम्पनीले हाल २०८ सवारी साधनबाट सेवा प्रदान गर्दे आइरहेको अध्यक्ष सिंखडाले बताए ।

प्रतिक्रिया