मंगलबार, चैत १०, २०८२

अन्तर्राष्ट्रिय स्पर्धाका पदक विजेता खेलाडी प्रधानमन्त्रीबाट पुरस्कृत

मेरोन्यूज २०८१ पुष २३ गते १२:१७

काठमाडौँ । प्रधानमन्त्री केपी शर्मा ओलीले साफ महिला फुटबल, एसियाली कराँते र कावा बिच भलिबलमा पदक जित्न सफल खेलाडी, ती खेलका प्रशिक्षक र व्यवस्थापकलाई पुरस्कार प्रदान गरेका छन्।

Advertisement
nepal life insurencenepal life insurence

युवा तथा खेलकुद मन्त्रालयले आज प्रधानमन्त्री निवासमा आयोजना गरेको कार्यक्रममा सरकारको गत मङ्सिर २८ गतेको निर्णयबमोजिम उनीहरूलाई पुस्कार प्रदान गरिएको हो । प्रधानमन्त्री ओलीको नेतृत्व सरकार गठन भएपछि खेलाडी एवं प्रशिक्षकलाई प्रदान गरिने पुरस्कारमा करकट्टीको व्यवस्था खारेज भएको छ ।

गत कात्तिक १ देखि १४ गतेसम्म काठमाडौँमा भएको साफ वुमन च्याम्पियनसिपमा पदक विजेता अमृता जैसी, मुख्य प्रशिक्षक राजेन्द्र तामाङ र व्यवस्थापक वृन्दा देवान तथा चीनको हाइजाओमा गत असोज १देखि ७ गतेसम्म भएको बीसौँ एसियाली कराँते च्याम्यियनसिपमा पदक विजेता एरिका गुरुङ, मुख्य प्रशिक्षक कुशल श्रेष्ठलाई प्रधानमन्त्रीेले पुरस्कार प्रदान गरे ।

यसैगरी उनले गत साउन १७ देखि २० गतेसम्म भुटानको थिम्पुमा भएको कावा बीच महिला तथा पुरुष भलिबलका विजेता कमला पुन, मनिषकुमारी चौधरी, प्रशिक्षक रुपेशकुमार विष्टलाई पनि पुरस्कार प्रदान गरे ।

खेलका माध्यमबाट देशको गरिमा अन्तर्राष्ट्रिय जगत्मा वृद्धि गरेकामा खेलाडीहरूको सराहना गर्दै प्रधानमन्त्री ओलीले खेल जित्न सकिन्छ भन्ने उच्च मनोबल र अठोटका साथ प्रतिस्पर्धा गर्न सुझाव दिए। सामूहिक भावनालाई आत्मसात् गर्दै मैदानमा उत्रनुपर्नेमा उनले जोड दिए।

प्रतिक्रिया