बुधबार, वैशाख १६, २०८३

एसियन हाइवे : पुल र कल्भर्ट निर्माण पहिलो प्राथमिकतामा

मेरोन्यूज २०८१ पुष २६ गते १७:४३

झापा। एसियन हाइवेमा पुल र कल्भर्ट पहिलो प्राथमिकतामा राखेर निर्माणलाई तीव्रता दिइएको छ । उक्त खण्डको पूर्वी भाग काँकडभिट्टाबाट सीतापुरीसम्मको ४५ किलोमिटर क्षेत्रमा पर्ने पुल र कल्भर्ट निर्माणलाई तीव्रता दिइएको हो ।

Advertisement
NiccNicc

हालसम्म १० दशमलव पाँच प्रतिशत भौतिक प्रगति भएको एसियाली विकास बैङ्क आयोजना दमकका प्रमुख सुनिलबाबु पन्तले जानकारी दिए । उनका अनुसार हाल सडकमा माटो भर्ने, कल्भर्ट र पुल निर्माण भइरहेका छन् ।

एसियन राजमार्ग निर्माणका लागि काँकडभिट्टा–सीतापुरीलाई पूर्वी खण्ड र सीतापुरी–मावा खोलालाई पश्चिम खण्डमा विभाजन गरेर काम भइरहेको आयोजना प्रमुख पन्तले बताए । एक सय ४३ कल्भर्टमध्ये सडक दायाँबायाँमा ९३ वटाको काम सम्पन्न भइसकेको बताउँदै उनले १८ साना पुलमध्ये १७ वटाको निर्माण भइरहेको जानकारी दिए ।

बिर्तामोडको चोकमा रहेको अदुवा खोलामाथि निर्माण गरिने पुल दुई महिनापछि सुरु गरिने आयोजना प्रमुख पन्तले बताए । अन्य पुलको जमिनमा फाउन्डसेन पाइलिङ, पाइल क्याप र पिलर क्याप लगाउने काम धमाधम भइरहेको छ ।

“ठेक्का पाएको कम्पनीको काम सन्तोषजनक छैन”, आयोजना प्रमुख पन्तले भने, “मङ्सिर, पुसमा प्रतिमहिना चार प्रतिशतका दरले कामको प्रगति हुनुपर्नेमा नभएपछि तीव्रता दिन निर्देशन दिइरहेका छौँ ।” एसियाली विकास बैङ्कको ऋण सहयोग र नेपाल सरकारसँगको साझेदारीमा रु ३४ अर्ब ९० करोड लागतमा कल्भर्ट र साना पुलको ठेक्का लगाइएको थियो ।

कनकाई, विरिङ्ग र निन्दा खोलाका पुलको ठेक्का फरक कम्पनीले लिएको छ । ती पुलमा फाउन्डेसन पाइलिङको काम भइरहेको जनाउँदै प्रमुख पन्तले सडकमा माटो भर्ने काममा समस्या भइरहेको बताए ।

आवश्यकताअनुसार सहज रूपमा माटो नपाउँदा समस्या भएको पन्तको भनाइ छ । उनले हाल सञ्चालनमा आइरहेको बीच सडकको कल्भर्ट भने सडकसँगै निर्माण गर्ने योजना रहेको जानकारी दिए । पुल र कल्भर्ट निर्माणपछि सडकको बाँकी काम गर्न सहज हुने भएकाले पहिलो प्राथमिकतामा पुल र कल्भर्ट राखिएको उनले उल्लेखग गरे ।

प्रतिक्रिया